बैंक अफ काठमान्डूले १३.२५% बोनस पारित गर्न कहिले बोलायो एजीएम ?

10 Jun,2018
  • bokl_new_4_26_6_10_2018_4_35_55.jpg
नेपाली पैसा 

काठमाडौं : बैंक अफ काठमान्डूको २३ औं वार्षिक साधारण सभा असार २८ गते हुने भएको छ । सभामा बैंकले गत वर्षको कमाईबाट १३.२५% बोनस दिने प्रस्ताव पेश गर्दैछ । तर, नगद लाभांश (कर तिर्न) भने नदिने भएको छ । कर तिर्न लगानीकर्ता आफैंले खर्च गर्नुपर्नेछ । बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि रहनेछ । सभा कुन्डलिनी दरबार ब्यांकेट चण्डोल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । 
 
आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत छ । 
 
साधारण सभा प्रयोजनका लागि बैंकले असार ८ देखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । यसर्थ, असार ७ गतेसम्म कायम सेयरधनीले बैंकले वितरण गर्ने बोनस पाउनेछन् । हाल यस बैंकको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ छ । बैंकले तेस्रो त्रैमासमा प्रस्तावित १३.२५% बोनसलाई समेत जोडेर रिपोर्ट निकालेको देखिन्छ ।

यस आधारमा यस आवमा बैंकको न्यूततम चुक्ता पुँजी ८ अर्ब अझै नपुग्ने देखिन्छ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकले ९३ करोड ५ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंक अफ काठमान्डूको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७५ पैसा छ । 

Post Your Comment