Market Closed

सिभिलको लिलामी सेयर दोस्रोपटक पनि बिकेन, अब तेस्रोपटक २९ लाख ९२ हजार कित्ता आउँदै

09 May,2018
  • Civil-Bank-Ltd__4_5_9_2018_6_17_15.jpg
 नेपाली पैसा
 
काठमाडौं : सिभिल बैंकले जेठ २ गतेदेखि फेरि २९ लाख ९२ हजार २१०.२५ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले यसअघि २ पटकसम्म बिक्री खुला गर्दा नबिकेको संस्थापक समूहको २९ लाख ९२ हजार २१०.२५ कित्ता सेयर फेरि लिलामी गर्न लागेको हो । यो संस्थापक समूहको सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् । जेठ ९ गतेसम्म मात्र लिलामी भर्ने म्याद हुनेछ ।
 
सिभिलले यसअघि २ पटकसम्म लिलामी खुलाइसक्दा पनि सेयर बिक्री हुन सकिरहेको छैन । सुरुमा बैंकले फागुन २३ गतेदेखि चैत १ गतेको समय सिमा तोकेर संस्थापक समूहको ३२ लाख ४४ हजार ६००.२५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९४ हजार ३५८.७५ बित्ता बिक्री खुला गरेको थियो । 
 
तर, त्यस समयमा न्यून कित्ता मात्र बिकेको थियो । त्यसपछि पुनः चैत १४ देखि २१ गतेसम्म सर्वसाधारणले समेत भर्न पाउने गरी ३१ लाख २१ हजार ६००.२५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याइएको थियो । जसमा १ लाख २९ हजार ३९० कित्तामा मात्र आवेदन पर्यो । यसर्थ, बाँकी सेयर फेरि लिलामीमा ल्याउन बैंक बाध्य भएको हो । 
 
यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ । बोलपत्र जेठ १० गते सिभिल बैंक लिमिटेड कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिनेछ । 
 
हाल सिभिलको चुक्ता पुँजी ६ अर्ब ९३ करोड ३४ लाख ८५० रुपैयाँ मात्र छ । सम्पर्ण लिलामी सेयर बिक्रीपछि मात्र चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिलले ३५ करोड ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९१ पैसा रहेको सिभिलको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ २४ पैसा छ । 
 

Post Your Comment