Market Closed

वाणिज्य बैंककै सेयर भाउ २०० रुपैयाँ भन्दा तल, अरु कति छन् यस्ता कम्पनी ?

02 Mar,2018
  • stock_3_2_2018_8_21_57.jpg
सोभित थपलिया
 
काठमाडौं : लामो समयदेखि निरन्तर बजार ओरालो लाग्दा वाणिज्य बैंकहरुकै सेयर भाउ २०० रुपैयाँ भन्दा तल आएको छ । सेयर भाउ प्रतिकित्ता २०० रुपैयाँ भन्दा थोरै हुने समूहमा विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत कम्पनीहरु पनि देखिएका छन् । विगत डेढ वर्षदेखि बजार वियरीस प्रवृत्तिमै गइरहेको छ । यसले गर्दा नेपाली पुँजी बजारमा प्रभुत्व राख्ने क वर्गका बैंकहरुको सेयर मूल्य नै फाइनान्स कम्पनीको भन्दा कम हुन थालेको छ ।
 
बुधबारको बजारलाई हेर्दा ३ वटा वाणिज्य बैंक, १८ वटा विकास बैंक, ११ वटा फाइनान्स कम्पनी र ९ वटा जलविद्युत कम्पनीको सेयर मूल्य घटेर २०० रुपैयाँ भन्दा तल आएको छ । वाणिज्य बैंकमा सेन्चुरी, जनता र सिभिल बैंकको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ भन्दा तल आएको छ । सेन्चुरीको सेयर भाउ प्रतिकित्ता १८४ रुपैयाँ, जनताको १७० रुपैयाँ र सिभिलको १६१ रुपैयाँ छ । यी वाणिज्य बैंकको सेयर मूल्य ग वर्गका कतिपय फाइनान्स कम्पनीको भन्दा थोरै हो ।

   
   
                                                                                                                           बुधबारको सेयर मूल्यमा आधारित

यता, विकास बैंकहरुको हालत पनि उस्तै छ । कुनै समय निकै राम्रो रहेको विकास बैंकहरुको सेयर भाउ पनि अहिले निकै कम भएको छ । ज्योति, हाम्रो विकास बैंक, देवः विकास बैंकलगायत १८ वटा विकास बैंकको सेयर मूल्य पनि २०० रुपैयाँ भन्दा तल झरेको छ । यसैगरी, २०० भन्दा कम सेयर मुल्य हुने फाइनान्स कम्पनीहरुको संख्या पनि ११ वटा रहेको छ ।
 
पछिल्लो समयमा आम लगानीकर्ताहरुको नजरमा परेका जलविद्युत कम्पनीहरुले पनि आफ्ना लगानीकर्ताहरुलाई खासै खुसी बनाउन सकेका छैनन् । यो साताको अन्तिम अर्थात बुधबारसम्मको कारोबारमा सेयर मूल्य २०० भन्दा कम हुने जलविद्युत कम्पनीको संख्या ९ वटा पुगेको छ । जलविद्युत कम्पनीहरुमध्ये सेयर जारी भएको समयमा अरुको तुलनामा जलविद्युत लगानी तथा विकास कम्पनीको चर्चा निकै थियो । यो कम्पनीको सेयर भर्ने समयमा लगानीकर्ताहरुले जुन उत्साह देखाएका थिए, त्यो अहिले पुरा हुन सकेको छैन । बुधबारको कारोबारमा यो कम्पनीको सेयर मूल्य १६३ रुपैयाँ मात्रै छ । यस्तै, अर्को निकै विवादीत कम्पनी नेसनल हाइड्रोपावरको सेयर मूल्य १०५ रुपैयाँमा आइपुगेको छ ।
 
बजार ओरालो लाग्दा सूचीकृत कम्पनीहरुको सेयर भाउ निकै कम भइसकेको छ । घट्दो बजार र यसक्रममा भएको विभिन्न बोनस र हकप्रदको मूल्य समायोजनले गर्दा कम्पनीहरुको सेयर भाउ झन सस्तो हुन गएको हो । 
 

Post Your Comment