Market Closed

सेन्चुरीको नाफा सात करोड ४२ लाख, गत वर्षभन्दा नाफा जम्मा ५० हजारमात्र बढी

21 Nov,2016
  • century-bank_11_21_2016_10_51_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेन्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सात करोड ४२ लाख ७४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
बैंकले गत वर्षकै हाराहारीमा मात्र नाफा कमाउन सकेको हो । गत वर्ष बैंकले सात करोड ४२ लाख २४ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । यस आधारमा बैंकको नाफा गत वर्षभन्दा ५० हजार रूपैयाँमात्र बढी देखिन्छ । 
 
सेन्चुरी बैैंकले पछिल्लो समय निकै द्रुत गतिमा प्रगति गर्दै गएकाले यसपटक पनि निकै राम्रो वित्तीय विवरण आउने धेरैले अपेक्षा गरेका थिए । तर त्यस अनुसार प्रथम त्रैमासको वित्तीय विवरण देखाउन भने बैंक असफल भएको छ ।
 
दुई अर्ब ८४ करोड आठ लाख रूपैयाँ चुक्ता पुँजी भएको यो बैंकले राष्ट्र बैंकको प्रावधान अनुसार आठ अर्ब रुपैयाँ पुँजी पुर्याउनुपर्ने हुन्छ । बैंकले आठ अर्ब चुक्ता पुँजी पुर्याउन अब कसरी अघि बढ्छ भन्ने आमचासो जारी छ । 
 
बैंकको रिजर्भ कोषमा ६० करोड ६९ लाख २० हजार रूपैयाँ छ । ३१ अर्ब ६८ करोड रूपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ५९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न बैंक यसअवधिमा सफल भएको छ । 
 
सेन्चुरीले २१ करोड ८१ लाख ६० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकको ब्याज आम्दानी १८ करोड ४१ लाखभन्दा बढी थियो । बैंकले प्रोभिजनमा चार करोड १६ लाख १२ हजार रूपैयाँ छुट्याएको छ । 
 
प्रतिसेयर आम्दानी १० रूपैयाँ ४६ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १२१ रूपैयाँ ३६ पैसा छ । 
 

Post Your Comment