छ्याङदीको आइपीओ निष्कासनमा एउटा नियम, बाँडफाँटमा भने अर्कै

07 Jun,2017
  • sebon_2_6_7_2017_11_02_11.jpg
एलिजा उप्रेती 
 
काठमाडौं : धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका –२०७४ लागू गरेपछि छ्याङ्दी हाइड्रोपावरले जारी गरेको आइपीओमा आवेदन दिने सबै लगानीकर्ताले कम्तीमा १० कित्ता सेयर पाउँछन वा पाउँदैनन् भन्ने आम जिज्ञासा सुरु भएको छ । आइपीओ बिक्री खुला भएपछि दुई दिनसम्म संस्थागत लगानीकर्ताले यसमा आइपीओ पनि भरे । तर तेस्रो दिनमा धितोपत्र बोर्डले नयाँ नियम आकर्षित हुने भन्दै संस्थागत लगानीकर्तालाई सेयर आवेदनमा रोक लगायो । सेयर भरिसकेको पनि आवेदन रद्द भयो । तर यही छ्याङदी हाइड्रोपावरको सेयर बाँडफाँटमा भने फेरि यही नयाँ धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ आकर्षित नहुने भएको छ । नयाँ नियमले पुगेसम्म न्यूनतम १० कित्ता सेयर दिनैपर्ने व्यवस्था गरिएको भए पनि छ्याङदीको बाँडफाँटमा यो नियम कार्यान्वयन हुने छैन । यसबाट एउटै कम्पनीको आइपीओ बिक्रीमा एउटा अनि बाँडफाँटमा अर्कै कानुनी प्रावधान आकर्षित भएको देखिन्छ । धितोपत्र बोर्डका अनुसार नयाँ निर्देशिकामा आस्वा अनिवार्य भएपछि सेयरमा आवेदन दिनेले कम्तीमा १० कित्ता सेयर पाउने व्यवस्था गरिएको हो । आगामी साउनदेखि मात्र आस्वा अनिवार्य हुँदैछ । यही भएर छ्याङ्दीको आइपीओलाई यो नियमले नछुने बोर्डको भनाई छ ।

अर्थात छ्याङ्दीमा आवेदन दिएका सबै आवेदकले कम्तिमा पनि १० कित्ता सेयर पाउँदैनन् । छ्याङ्दीको सेयर बाँडफाँटमा पुरानै विधिमार्फत गोलाप्रथामा हुनेछ अनि साना लगानीकर्ताले सेयर पाउन भाग्यमै भरपर्नुपर्नेछ । तर निर्देशिकाकै अर्को बुँदाले भने संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मार्फत जारी गरेको सेयर खरिदका लागि प्राकृतिक व्यक्तिले मात्र दरखास्त दिन सकिने व्यवस्था गरेको छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार यो बुँदा निर्देशिका जारी भएसँगै स्वतः लागू भएको छ । यसकारण पनि  छ्याङदीले जेठ १४ देखि १८ गतेसम्म खुला गरेको आइपीओमा संस्थागत लगानीकर्ताले आवेदन दिन नपाएका हुन् । यद्दपि, निर्देशिकाले गरेकै व्यवस्था अनुसार निष्कासन गरिएको सबै सेयर प्राकृतिक व्यक्तिले खरिद गर्न नसकेमा भने संगठित संस्थाले पनि किन्न पाउनेछन् । जेठ १४ गतेदेखि १८ गतेसम्म ५ लाख ४० हजार कित्ता आइपीओ निष्कासन खुला गरेको छ्याङ्दीको सेयरमा ३ अर्ब ३७ करोड ३८ लाख २ हजार ३०० रुपैयाँ बराबरको आवेदन परेको छ । 
 
अधिक आवेदन पर्याे भने सबैलाई १० कित्ता कसरी सम्भव छ ?
 
सबै आवेदकलाई कम्तीमा १० कित्ता सेयर दिने व्यवस्था कार्यान्वयन गर्न कठिन हुने भन्दै कतिपयले यसको आलोचना पनि गरेका छन् । तर, धितोपत्र बोर्डले सकेसम्म सबैलाई १० कित्ता दिने तर यति गर्दा पनि सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर पुर्याउन नसके त्यस्तो अवस्थामा गोलाप्रथाबाटै सेयर बाँडफाँट हुने बताएको छ । यसो त विगतमा नेपाल स्टक एक्सचेन्जले १० भन्दा कम कित्ता सेयर कारोबार गर्दैनथ्यो । अड लटका रुपमा शुक्रबारमात्र यस्ता सेयर किनबेच हुने गर्दथ्यो । गत माघदेखि भने हरेक दिन १० कित्ता भन्दा कम पनि कारोबार गर्न मिल्ने बनाइएको छ । कम्पनीहरुले वितरण गर्ने हकप्रद र बोनस सेयरको प्रतिशत मिलाउँदा थोरै सेयर भएका लगानीकर्ताको हातमा १० भन्दा कम कित्ता आउने गर्दथ्यो ।

१–२ कित्ता सेयर किनबेच हुने व्यवस्थाले हकप्रद वा बोनसमा पाएका टुक्रे सेयर कारोबारमा सजिलो भएको छ । बजारमा आमलगानीकर्ताले १० कित्ताभन्दा कम कारोबार हुन थालिसकेको अवस्थामा धितोपत्र बोर्डले पनि सबैलाई सेयर भाग पुर्याउन १० कित्ताको सिमा राख्न नहुने लगानीकर्ताको माग छ । दामासाहीले १० भन्दा तल जतिकित्ता परे पनि दिनुपर्ने आवाज पनि उठ्न थालेको छ । तर धितोपत्र बोर्ड भने यो प्रावधान चाहिँ व्यवहारिक नहुने तर्क गर्छ । धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरे १–२ कित्ता बोनस र हकप्रद सेयर कारोबार गर्न सकिए पनि आइपीओमा भने यसरी बाँडफाँट गर्न व्यवहारिक नहुने भएकाले कम्तीमा १० कित्ता दिनुपर्ने प्रावधान गरिएको बताउँछन् । 
 

Post Your Comment