Market Closed

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले किन बढाए एकैसाथ ब्याजदर, अब कसको कति पुग्यो ब्याज ?

16 Aug,2018
  • cit_img_8_16_2018_1_59_34.png
नेपाली पैसा 
 
काठमाडौं : नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले एकसाथ ब्याजदर बढाएका छन् । यी दुवै कोषले यही नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी नयाँ ब्याजदर निर्धारण गरेका हुन् । नयाँ ब्याजदर अनुसार सञ्चय कोषको भन्दा नागरिक लगानी  कोषको ब्याज सस्तो देखिएको छ । लिने र दिने दुवै प्रकारका ब्याजदर सञ्चय कोषको तुलनामा नागरिक लगानी कोषको केही सस्तो देखिएको हो ।

दुवै संस्थले आफ्नो वार्षिक योजना अनुसार नै ब्याजदर परिवर्तन गरेको दाबी गरेका छन् । बजारमा तरलता पर्याप्त भएका बेला यी दुई ठूला संस्थाले किन ब्याजदर बढाए भन्ने प्रश्न पनि उब्जिएको छ । तर यी कोषहरुले भने आफ्नो आर्थिक अवस्था सन्तोषजनक रहेका कारण ब्याजदर बढाइएको दाबी गरेका छन् । 


 
कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई कोषको निक्षेपमा दिने तथा ऋण एवं कर्जा सापटीमा लिने दुवैथरीका ब्याजदर बढाइएको कोषका उपप्रमुख अधिकृत अर्जुन कुमार गौतमले नेपाली पैसालाई जानकारी दिए । कोषले वर्षेनि ब्याजदरमा हेरफेर गर्ने गरेको उनको भनाई छ । अहिले कोषको आर्थिक अवस्था सन्तोषजनक छ ।

यसर्थ, सञ्चयकर्तालाई बढी ब्याज दिन सकिने अवस्था रहेको कोषले दाबी गरेको छ । तर, यहाँ बुझ्नुपर्ने पक्ष के हो भने कोषले सञ्चयकर्ताको निक्षेपमा मात्र बढी ब्याज दिएको होइन । सञ्चयकर्ताले लिएको ऋण तथा सापटीमा पनि ब्याजदर वृद्धि गरिएको छ । यसको प्रत्यक्ष मार त्यहाँबाट कर्जा तथा सापटी लिनेलाई पर्ने देखिन्छ । 
 
 
सञ्चयकर्तालाई दिइने सापटी सीमा यसरी घटाइयो
 
कर्मचारी सञ्चय कोषले निक्षेप तथा कर्जामा ब्याजदर बढाउनुका साथै साउन १ गतेदेखि नै लागू हुनेगरी यसअघि दिँदै आएको विशेष सापटी सीमामा पनि हेरफेर गरेको छ । सञ्चयकर्तालाई प्रदान गरिंदै आएको विशेष सापटी रकमको सीमालाई कुल सञ्चय कोष मौज्दातको ९०% बाट घटाएर ८०% कायम गरिएको हो ।

यस्तै, साबिकमा ९०% को सीमाभित्र रही विशेष सापटी लिएका सञ्चयकर्ताको हकमा समेत ८०% को सीमा कायम गरेर मात्र पुनः सापटी प्रदान गरिने भएको छ । यसको अर्थ अब सञ्चयकर्ताले कोषबाट लिन पाउन सापटी रकम घट्नेछ । जस्तो, उदाहरणका लागि यसअघि सञ्चयकर्ताले आफूले कोषमा जम्मा गरेको १ सय रुपैयाँमध्ये ९० रुपैयाँसम्म सापटी स्वरुपः झिक्न पाउँदथे । तर अब भने ८० रुपैयाँमात्र निकाल्न पाउनेछन् । 
 
सञ्चयकर्ताको हितलाई ध्यान दिएर सीमा घटाइएको दाबी 
 
सञ्चयकर्ताको हितलाई मध्यनजर गरेर नयाँ व्यवस्था लागू गरिएको सञ्चय कोषको दाबी छ । धेरैले सेवा निवृत्तिभरणपछि पाउने पैसा पहिला नै प्रयोग गर्न सक्ने देखिएकाले लिन पाउने सीमा घटाइएको गौतमको भनाई छ । धेरै सञ्चयकर्ताले सापटी बापत जम्मा भएको पैसा निकालिसक्ने भएकाले सेवा निवृत्तिभरणपछि पाउने पैसा पनि निकै कम हुने देखिएको छ ।

  जसका कारण अवकाशपछि पनि लिन पाउने रकम बढोस भनेर सापटीको सीमा घटाइएको उनले दाबी गरे । तर सापटी लिएर केही गर्न चाहनेलाई भने यसले मारमा पार्नेछ । हाल कर्मचारी सञ्चय कोषमा सञ्चयकर्ताबाट जम्मा भएको करिब ३ खर्ब रुपैयाँ रहेको छ । अहिले यसको ६०% रकम लगानी भएको कोषले जानकारी दिएको छ । 
 
के गर्दैछ नागरिक लगानी कोष ? 
 
यता, नागरिक लगानी कोषले पनि ब्याजदर बढाएको छ । कोषले सञ्चालनमा ल्याएको ६ वटै योजनामा ब्याजदर बढाएको हो । कोषले कर्मचारी बचत वृद्धि अवकाश योजनामा अब ७.५०% ब्याज दिने भएको छ । यसअघि यस योजनामा ६.५०% मात्र ब्याज दिइने गरिएको थियो । बैंक तथा वित्तीय संस्थाले दिने ब्यादजरलाई समेत अध्ययन गरेर नयाँ दर कायम गरिएको कोषको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कति प्रतिशत ब्याज दिइरहेका छन् त्यसलाई अध्ययन गरेर ब्याजदर निर्धारण गर्ने गरिएको नागरिक लगानी कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए । हाल नागरिक लगानी कोषमा १ खर्ब ७ अर्ब रुपैयाँ लगानी गर्न सक्ने पैसा छ । करिब ८ अर्ब रुपैयाँ सेयरमा मात्र लगानी रहेको जानकारी दिइएको छ । ब्याजदर बढ्दा सापटी लिएर काम गर्न चाहनेहरु मारमा पर्छन् । तर सञ्यच गरेर राख्नेलाई भने लाभ पुग्छ । 
 
 

Post Your Comment