Market Closed

एभरेस्टको नाफा एक अर्ब ७३ करोड, रिजर्भमा पाँच अर्ब ८६ करोड

14 Aug,2016
  • everest_bank_resize_8_14_2016_12_21_26.jpg
नेपाली पैसा 
काठमाडौं : एभरेस्ट बैंकले एक अर्ब ७३ करोड दुई लाख ४२ हजार रूपैयाँ खुद नाफा कमाउँदै फेरि एकपटक अब्बल बैंकको रूपमा आफूलाई स्थापित गरेको छ । 
 
बैंकले अघिल्लो आर्थिक वर्षमा भन्दा नाफा १५ करोड ५९ लाख १० हजार रूपैयाँ बढोत्तरी गरेको हो ।  अघिल्लो वर्ष एभरेस्टले एक अर्ब ५७ करोड ४३ लाख ३२ हजार रूपैयाँ खुद नाफा बुक गरेको थियो । 
 
दुई अर्ब ७४ करोड २६ लाख चार हजार रूपैयाँ चुक्ता पुँजी रहेको एभरेस्टको रिजर्भ कोषमा पाँच अर्ब ८६ करोड ९६ लाख १५ हजार रूपैयाँ पुगेको छ । 
 
सेयर लगानीकर्तालाई यही रिजर्भ कोषमा भएको पैसाले लोभ्याउने गरेको छ । यद्दपि, एभरेस्टले राष्ट्र बैंकले तोके अनुसार आठ अर्ब रूपैयाँ चुक्ता पुँजी कसरी पुर्याउँछ भन्ने ठोस योजना बाहिर ल्याएको छैन । 
 
व्यापारको आयामलाई फराकिलो पार्न बैंकले ९३ अर्ब ७३ करोड ५४ लाख ८१ हजार रूपैयाँ निक्षेप संकलन गरेको छ । ऋण प्रवाहमा पनि बैंकको गति अगाडि नै देखिन्छ । 
यसअवधिमा बैंकले ६८ अर्ब ९१ करोड १५ लाख ४३ हजार रूपैयाँ कर्जा विस्तार गर्न सफल भइसकेको छ । 
 
एभरेस्टले तीन अर्ब २२ करोड ८५ लाख ८५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । ब्याज आम्दानी नै खुद नाफाको प्रमुख आधार पनि देखिएको छ ।
 
 करिब पाँच प्रतिशतको स्प्रेडमा काम गर्दा पनि ब्याज आम्दानीले यसपटक बैंकहरूको नाफा उल्लेखनीय बढाउन सहयोग गरेको देखिन्छ । 
 
११ करोड २९ लाख ७६ हजार रूपैयाँ विदेशी मुद्रा कारोबारबाट आम्दानी गरेको एभरेस्टले प्रोभिजनमा १६ करोड ८१ लाख ३४ हजार रूपैयाँ राखेको छ । 
 
बैंकले जोखिम कोषमा राखेको नौ करोड २७ लाख ५१ हजार रूपैयाँ राइट ब्याक गर्न पनि सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी ६५.९७ रूपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ३२३.८१ रूपैयाँ पुगेको छ । खराब कर्जा ०.३८ प्रतिशतमा सीमित गरिएको छ । 
 

Post Your Comment