Market Closed

गरिमाले सुरु गर्यो रेमिट सेवा, बैंकले यसरी थप्दैछ नयाँ शाखाहरु

16 May,2018
  • garima_img_5_16_2018_5_56_52.png
नेपाली पैसा 
 
काठमाडौं : गरिमा विकास बैंकले ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको छ । राधजानीमा मंगलबार आयोजित कार्यक्रममा बैंकका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठले ‘गरिमा रेमिट’ सेवाको शुभारम्भ गरे । बैंकले ग्राहकहरुलाई प्रदान गर्ने सेवामा विविधीकरण गर्दै जाने क्रममा ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याइएको उनले बताए । देशका विभिन्न स्थानहरुमा रहने गरिमा रेमिटका एजेन्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा रकम स्थानान्तरण गर्न सकिने श्रेष्ठले जानकारी गराए । 
 
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले वर्तमान प्रतिस्पर्धात्मक वातावरण, सेवाको विविधीकरण तथा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याइएको बताए । कार्यक्रममा सीइओ ढकालले गरिमाले छिट्टै  भिसा डेबिट कार्ड समेत सञ्चालनमा ल्याउने जानकारी गराए ।  
 
बैंकले वैशाख महिनामा मात्रै प्रदेश नं. १ को झापा, मोरङ र सुनसरी जिल्लामा ८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ । राजधानीमा ५ शाखा कार्यालय सहित देशभर यस बैंकको ५७ शाखा कार्यालय र १२ वटा एटिएम सेवा सञ्चालनमा रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
 बैंकले अब छिट्टै झापाको दमक, काठमाडौंको नयाँ बानेश्वर, भक्तपुरको सुर्यविनायक, ललितपुरको कुमारीपाटी, रुपन्देहीको योगीकुटी, कैलालीको धनगढी नयाँ शाखा खोल्नेछ । यसैगरी, बाँकेको नेपालगञ्ज, दाङको घोराही र पोखराको रामबजारमा पनि शाखा कार्यालय स्थापना गर्ने जनाएको छ । यी शाखा कार्यालयहरु स्थापनापछि बैंकको कुल शाखा संख्या ६६ पुग्नेछ ।
 

Post Your Comment