Market Closed

कस्ट अफ फन्ड बढ्यो, ब्याज आम्दानी पनि खस्किंदा ग्लोबल बैंकमा अरु के–के भयो ?

03 Nov,2017
  • Global-IME-bank_11_3_2017_12_15_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : ग्लोबल आइएमई बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उत्साहजनक रिपोर्ट सार्वजनिक गर्न असफल भएको छ । बैंकले यो त्रैमासमा ३५ करोड ३२ लाख ३ हजार रुपैयाँ खुद नाफा बुक गरेको देखाएको छ । यो नाफा गत वर्षको भन्दा १६% ले कम हो । गत वर्ष ग्लोबलले यही त्रैमासमा ४२ करोड ९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, बैकको खुद ब्याज आम्दानी पनि १५.८७% ले घटेर ६९ करोड २७ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष ग्लोबलले ८२ करोड ३५ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको थियो । बैंकले प्रोभिजनमा १६ करोड ६६ लाख २५ हजार रुपैयाँ राख्दा ८ करोड १३ लाख १२ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । निक्षेप ८० अर्बबाट बढाएर १ खर्ब ४ अर्ब ९४ करोड ११ लाख ९५ हजार रुपैयाँ पुर्याएको ग्लोबलले ८८ अर्ब ७७ करोड ३४ लाख ६२ हजार रुपैयाँ कर्जा लगानी गर्न सक्षम भएको छ । बैंकको खराब कर्जामा भने थप सुधार भएर १.५७% मा आइपुगेको छ । गत वर्ष खराब कर्जा १.७१% थियो । चुक्ता पुँजी ८ अर्ब ८ करोड ३ लाख ४२ हजार रुपैयाँ पुगेको ग्लोबलको जगेडा कोषमा भने ४ अर्ब ३८ करोड ५७ लाख १७ हजार रुपैयाँ रहेको छ । जगेडा कोषलाई पनि थप मजबुत बनाउँदै जानुपर्ने देखिन्छ ।

बैंकले २०% लाभांश प्रस्तावसहित कात्तिक २३ गते साधारण सभा बोलाएको छ । बैंकले १०% बोनस सेयर र १०% नगद लाभांश दिने प्रस्ताव गर्न लागेको हो । १०% बोनसपछि भने बैंकको चुक्ता पुँजी अझै वृद्धि हुनेछ । कस्ट अफ फन्ड ३.१९% बाट बढेर ७.२३% पुगेको ग्लोबलको कर्जा–निक्षेप अनुपात भने ७७.३५% छ । गत वर्ष भने कर्जा–निक्षेप अनुपात ७८.५८% थियो । बैंकको इक्विटीमा प्रतिफल पनि घटेर ११.३३% झरेको छ । गत वर्ष इक्विटीमा प्रतिफल १८.४५% पुगेको थियो । प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ०७ पैसाले घटेर १७ रुपैयाँ ४८ पैसामा खुम्चिएको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा थियो । यता, नेटवर्थ भने २६ रुपैयाँ ६४ पैसाले बढेर १५४ रुपैयाँ २८ पैसा भएको छ । गत वर्ष ग्लोबलको नेटवर्थ १२७ रुपैयाँ ६४ पैसा थियो । 
 
 
 
 
 
 
 

Post Your Comment