ग्लोबल आइएमईलाई नाफा बढाउन किन पर्यो हम्मेहम्मे, यस्तो देखिन्छ अवस्था

23 Apr,2018
  • Global-IME-bank_1__4_23_2018_10_35_04.jpg
नेपाली पैसा
 
काठमाडौं : ग्लेबल आइएमई बैंकलाई नाफा बढाउन हम्मेहम्मे परेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन ग्लोबललाई खासै समस्या भएको थिएन । तर पुँजी बढाइसकेपछि सोही अनुसार नाफा वृद्धि गर्न भने बैंकलाई केही चुनौती भए जस्तो देखिन्छ । ग्लोबले गत वर्षको तुलनामा खुद नाफा २.१२% ले घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । जुन सुखद पक्ष होइन । 
 
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४४ करोड ४७ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा गिरावट आएका छन् । यी २ महत्वपूर्ण सूचक तल झर्दा खुद नाफामै असर गरेको बुझ्न सकिन्छ । खुद ब्याज आम्दानी १.५६% ले घटेर २ अर्ब ६१ करोड ५३ लाख ८३ हजार रुपैयाँमा आएको छ ।

यता, सञ्चालन नाफा पनि १ अर्ब ८१ करोड ८७ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको तुलनामा सञ्चालन नाफा ७.३६% थोरै हो । ३५ करोड ६१ लाख ३७ हजार रुपैयाँ राइट ब्याक गर्न सफल यस बैंकले २१ करोड ६९ लाख ५३ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ ।
 
ग्लोबल आइएमईको चुक्ता पुँजी गत वर्ष नै ७ अर्ब २४ करोड २६ लाख ६१ हजार रुपैयाँ थियो । यो त्रैमाससम्म आइपुग्दा पुँजी २२.७२% ले बढेर ८ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ पुगेको छ । रिजर्भमा पनि समान्य सुधार हुँदै ३ अर्ब ८६ करोड ११ लाख ९८ हजार रुपैयाँ जम्मा भएको छ ।

तर पुँजी वद्धि गरे अनुसार नाफा बढाउन नसक्दा ग्लोबल आइएमईको प्रतिसेयर आम्दानीमा असर परेको छ । गत वर्ष २७ रुपैयाँ १७ पैसा रहेको प्रतिसेयर आम्दानी घटेर अहिले २१ रुपैयाँ ६७ पैसामा ओर्लिएको छ । प्रतिसेयर नेटवर्थ पनि १५३ रुपैयाँ ७४ पैसाबाट घटेर १४३ रुपैयाँ ४४ पैसामा आएको छ ।
 
यता, बैंकले निक्षप संकलन र कर्जा लगानीमा भने सुधार गरेको छ । गत वर्ष ८५ अर्ब ८१ करोड १२ लाख १२ हजार रुपैयाँ रहेको निक्षप यो त्रैमासमा १ खर्ब २ अर्ब ५७ करोड २५ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यसैगरी, कर्जा लगानी पनि ७३ अर्ब १३ करोड रुपैयाँबाट बढाएर ८९ अर्ब ६ करोड ९० लाख ८४ हजार रुपैयाँ पुर्याएको छ ।

कर्जा निक्षेप अनुपात ७५.२९% छ । खराब कर्जा अनुपात गत वर्ष १.५३% रहेकामा यसपालि घटेर १.२९% मा आएको छ । कस्ट अफ फन्ड बढेर ८.२२% पुगेको छ । गत वर्ष कस्ट अफ फन्ड ५.३७% मात्र थियो ।
 
 

Post Your Comment