Market Closed

अपि पावर र हिमालयन जनरल इन्सुरेन्सको एजीएम बस्दै, यसरी राखिएका छन् एजेन्डा

14 Jan,2018
  • AGM2_1_14_2018_12_40_45.png
नेपाली पैसा 
 
काठमाडौ : हिमालयन जनरल इन्सुरेन्सको आइतबार (पुस ३० गते) अमृतभोग कम्प्लेक्स कालिकास्थान, काठमाडौंमा साधारण सभा बस्दैछ । साधारण सभा दिउँसो २ बजे सुरु हुनेछ । सभामा कम्पनीले १५% नगद लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ । हिमालयनले सेयरधनीलाई १५% ले हुन आउने ५ करोड ७७ लाख ८० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । यसका लागि कम्पनीले पुस १४ देखि आइतबार (पुस ३० गते) सम्म बुक क्लोज गरेको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र वासलात, नाफा नोक्सान सम्बन्धी विवरणहरु स्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्नेछ । यस्तै, कम्पनीले आर्थिक वर्ष २०७४–०७५ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक समितिले तोके बमोजिम अनुमोदन गर्ने प्रस्ताव पनि छ । हिमालयनले बिमा समितिले तोके अनुसार चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याइसकेको छ । कम्पनीले असार २८ देखि भदौ ९ गतेसम्म १६६.६७% हकप्रद बिक्री गरी चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ पुर्याएको छ । तर १६६.६७% हकप्रद सेयर बिक्री गर्नुभन्दा अघि कायम ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजीको मात्र १५% नगद लाभांश दिन लागिएको हो । हिमालयनले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड २३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३७ पैसा छ । 
 
यता, अपि पावर कम्पनीको पनि ८% बोनस सेयरपछि २००% हकप्रद निष्कासन गर्ने विशेष प्रस्तावसहित आइतबार (पुस ३० गते) दिउसो १ बजे कार्की ब्यांक्वेट, बबरमहल काठमाडौंमा साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर दिने र बोनसपछि कायम हुने चुक्ता पुँजी १ अर्ब १३ करोड ४० लाख रुपैयाँको २००% हकप्रद जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गर्न लागेको हो । हकप्रद निष्कासनपछि कायम हुने पुँजी २ अर्ब २६ करोड ८० लाख रुपैयाँमध्ये १ अर्ब रुपैयाँ सिद्धकाली पावर लिमिटेडमा र १ अर्ब २६ करोड ८० लाख रुपैयाँ अपिले निर्माण गर्ने १८ मेगावाट क्षमताका विभिन्न सोलार आयोजनामा लगानी गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सभामा लग्दैछ । कम्पनीले पुस २१ देखि आइतबार (पुस ३० गते) सम्म बुक क्लोज गरेको छ । अपिको चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ६.३२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ११०.२ रुपैयाँ छ ।
 
 
 
 

Post Your Comment