Market Closed

हिमालयन पावर पार्टनरको आइपीओ सबैले पाउने कि नपाउने ? फेरि चर्कियो बहस

14 Jul,2017
  • IPO_(1)_7_14_2017_5_01_31.jpg
एलिजा उप्रेती 
 
काठमाडौं : हिमालयन पावर पार्टनरले केही दिनमै आइपीओ बाँडफाँट गर्दैछ । तर, अहिले यस कम्पनीको आइपीओ बाँडफाँटमा पुरानो नियम लागू हुन्छ वा नयाँ भन्ने विषयले फेरि एकपटक लगानीकर्ताको ध्यान तानेको छ । यसले एक हिसाबले बजार नै तताएको अवस्था छ । नयाँ कि पुरानो नियम भन्नेमा लगानीकर्ताको मतहरु बाजिएका छन् । धितोपत्र बोर्डले साउन १ देखि आस्वा पूर्णरुपमा कार्यान्वयनमा ल्याउँदैछ । यससँगै धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ पनि कार्यान्वयनमा ल्याइसकेको छ । यस निर्देशिकाले साउन १ देखि सबै आवेदकले आइपीओमा न्यूनतम १० कित्ता सेयर पाउने व्यवस्था गरेको छ । यही विषयलाई लिएर बजारमा लगानीकर्ता र जानकारहरुले हिमालयनमा कुन नियम लागू हुन्छ भनेर आआफ्ना तर्क अघि सारिरहेका छन् । नयाँ नियम लागू भए सबैलाई न्यूनतम १० कित्ता पुग्ने गरी सेयर बाँडफाँट गर्नुपर्नेछ । यसबाट धेरै रकम लगानी गरेकाहरु मारमा पर्नेछन् । यसैगरी, पुरानो नियम आकर्षित भएमा गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । साना बढी मारमा पर्नेछन् ।

ठूला लगानीकर्ताको भागमा पनि सेयर पर्नेछ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले भने यसअघि नै साउन लागेपछि सेयर बाँडफाँट गर्ने कम्पनीले अनिवार्यरुपमा नयाँ निर्देशिका कार्यान्वयनमा ल्याउनुपर्ने स्पष्ट पारिसकेको छ । यद्यपि, असार महिनामा नै बाँडफाँट गर्न सकेको अवस्थामा भने नयाँ निर्देशिका आकर्षित हुदैन । बजारमा भने लगानीकर्ता तथा  विभिन्न व्यक्तिहरुले कानुनी प्रावधानको आ—आफ्नै तरिकाले व्याख्या गर्दैआएका छन् । कतिपयले पुरानो नियम अनुसार बाँडफाँट हुनुपर्ने भनिरहेका छन् भने केहीले नयाँ नियम आकर्षित हुने भन्दै आफ्ना तर्क पेस गरिरहेका छन् । हिमालयन पावर पार्टनरले असार १ देखि ५ गतेसम्म २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । तर धितोपत्र बोर्डले जेठ १२ गते देखि नै लागू हुने गरी धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ ल्याइसकेको थियो । धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले साउन १ देखि धितोपत्र बाँडफाँट गर्दा अनिवार्यरुपमा नयाँ नियम अनुसार गर्नुपर्ने बताए ।

‘हिमालयन पावरले आइपीओ बिक्री गर्न थाल्नुअघि नै धितोपत्र बोर्डले नयाँ निर्देशिका जारी गरेको हो । नयाँ निर्देशिका अनुसार बाँडफाँट नगर्ने हो भने असार मसान्तभित्र नै गरिसक्नुपर्छ । साउनदेखि त जुनसुकै सार्वजनिक निष्कासनको बाँडफाँटमा नयाँ निर्देशिका लागू गर्नैपर्छ’ उनले भने । यता, हिमालयन पावर पार्टनरको आइपीओमा बिक्री प्रबन्धकको काम गरेको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले भने असारभित्र आइपीओ बाँडफाँट गर्ने सम्भावना अत्यन्त कम रहेको बताएको छ । त्यसो त पुरानो नियमभित्र पर्न शनिबारभित्र बाँडफाँट गरिसक्नुपर्ने हुन्छ । शनिबारसम्म बाँडफाट हुन नसकेपछि हिमालयनको आइपीओमा आवेदन दिने प्रत्येकले कम्तीमा १० कित्ता सेयर पाउनेछन् । नयाँ नियम भनेको सबै आवेदकले न्यूनत्तम १० कित्ता सेयर पाउने भन्ने नै हो । तर अत्याधिक आवेदक भएमा भने त्यसमा पनि गोलाप्रथा गर्नुपर्ने अवस्था आउन सक्नेछ । बोर्डका अनुसार दरखास्त दिने समय जुन भएतापनि बाँडफाँट हुने समयका आधारमा नयाँ नियम आकर्षित हुनेछन् ।  
 

Post Your Comment