Market Closed

कैलाश विकास बैंकको नगद लाभांश पाउन अब यसो गर्नुहोस्

11 Dec,2017
  • Kailash-bikas-bank-Ltd_11_12_11_2017_5_01_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : कैलाश विकास बैंकले नगद लाभांश सेयरधनीको बैंक खातामै पठाउने बताएको छ । बैंकले नेपाल क्लियरिङ हाउसको आइपीएस (इन्टर बैंक पेमेन्ट सिस्टम) अनुसार सेयरधनीहरुले उपलब्ध गराएको बैंक खातामा लाभांश जम्मा गर्ने जानकारी दिएको हो । बैंकको मंसिर १५ गते सम्पन्न साधारण सभाले १०% बोनस सेयर र ९.४५% नगद लाभांश दिने प्रस्ताव पास गरिसकेको छ । यता, बैंकले बुक क्लोजको मितिसम्ममा सेयर डिम्याट गरिसकेका सेयरधनीलाई आफ्नो डिम्याट खाता अद्यावधिक गराउन आग्रह गरेको छ । डिम्याट खाता अद्यावधिक गरेपछि मात्र नगद लाभांश सेयरधनीको खातामा जम्मा गरिनेछ । यस्तै, बैंकले अझै सेयरको भौतिक प्रमाणपत्र राखेका लगानीकर्तालाई पनि नगद लाभांश भने सोझै बैंक खातामा जम्मा गरिदिने भएको छ । यसका लागि लगानीकर्ताले आफ्नो खाता नम्बरसहितको विवरण ग्लोबल आइएमई क्यपिटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौंमा उपलब्ध गराउनुपर्नेछ । सेयरधनीले खाताको विवरण उपलब्ध गराउँदा सम्बन्धित बैंकबाट हालसालै अध्यावधिक गरिएको बैंक खाता प्रमाणित गर्ने कागजात पनि पेश गर्नुपर्नेछ ।

अभौतिक र भौतिक रुपमा सेयर धारण गर्ने सेयरधनीको मंसिर २९ गतेसम्म प्राप्त निवेदनको आधारमा पुस ५ गतेभित्र बैंक खातामा नगद लाभांश पठाइनेछ । उक्त समयपछि निवेदन दिनेलाई भने प्रत्येक हप्ताको अन्त्यसम्ममा उपलब्ध विवरणको आधारमा अर्को शुक्रबार बैंक खातामा नगद जम्मा गरिनेछ । नगद लाभांश जम्मा गर्दा शुल्क लाग्ने छैन । तर सेयरधनीको खाता भएको बैंकको नियम अनुसार शुल्क लाग्ने भएमा भने सेयरधनीको लाभांशबाट नै रकम कट्टा गरिनेछ । सेयरधनीले उपलब्ध गराएको बैंक खाताको विवरण गलत भई अरुको नाममा लाभांश रकम जम्मा भएमा त्यसको जिम्मेवार भने सेयरधनी स्वयं नै हुनुपर्नेछ । हाल कैलाश विकास बैंकको चुक्ता पुँजी २ अर्ब २९ करोड १४ लाख ८७ हजार रुपैयाँ रहेको छ । १०% बोनस वितरणपछि भने चुक्ता पुँजी २ अर्ब ५२ करोड २ अर्ब ५२ करोड  ६ लाख ३५ हजार रुपैयाँ पुग्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ९ करोड ७२ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९७ पैसा (वार्षिक) रहेको कैलाशको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३३ पैसा छ ।  
 
 
 
 

Post Your Comment