Market Closed

अझै १० अर्ब बढीको हकप्रद थपिंदै, १६ वटा कम्पनी तयारीमा (तथ्यांकसहित)

06 Mar,2018
  • share_3_6_2018_6_25_53.jpg
सोभित थपलिया 
 
काठमाडौं : पुँजी बजारमा अझै १० करोड ५८ लाख १० हजार ३५५ कित्ता हकप्रद सेयर भएको छ । विभिन्न १६ वटा कम्पनीले १० अर्ब ५८ करोड १० लाख ३५ हजार ५२२ रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेका हुन् । विगतमा पनि बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयरलाई नै प्रमुख साधन बनाएका थिए । भारीमात्रामा सेयर निष्कासन हुँदा अहिले बजार पनि यसैको चुपुवामा परेको छ ।

धितोपत्र बोर्डमा हकप्रद अनुमति माग्ने कम्पनीहरुको सूची हेर्दा दोस्रो बजारमा आपूर्ति अझै धेरै बढ्ने देखिएको छ । अहिले हकप्रद निष्कासन तयारीमा बैंक तथा वित्तीय संस्थाका साथै बिमा र जलविद्युत कम्पनीहरु पनि थपिएका छन् । यसकारण पनि आपूर्ति झनै बढ्ने देखिएको हो । पुँजी बजार नियामक धितोपत्र बोर्डमा एनसीसी बैंकको सबैभन्दा धेरै २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर पाइपलाइनमा रहेको छ ।

अझैसम्म चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने अभियानमा रहेको यो बैंकले २ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनलाई बढावा दिन उदेश्यले चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाहरुले भने पुँजी वृद्धिका लागि हकप्रद सेयरलाई नै प्रमुख सहारा बनाएका छन् । 

                                                  हकप्रद बिक्री गर्न पाइपलाइनमा रहेका कम्पनीहरु

 
वाणिज्य बैंकमा एनसीसीसँगै कुमारी बैंक पनि तोकिएको चुक्ता पुँजी पुर्याउने कसरतमै रहेको छ । कुमारी पनि १ अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ रुपैयाँ बराबरको हकप्रद अनुमति पर्खिएर बसेको छ । राष्ट्र बैंंकले बैंक तथा वित्तीय संस्थालाई अन्तिम लेखा परीक्षण भएको वित्तीय विवरण बुझाउँदा तोकिएको न्यूनतम चुक्ता पुँजी पुगेको देखाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशन बमोजिम वाणिज्य बैंकलाई ८ अर्ब, राष्ट्रियस्तरका विकास बैंकलाई २ अर्ब ५० करोड र फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर¥याउनु पर्नेछ । यता, बिमा समितिले पनि आगामी असार मसान्तसम्म जीवन बिमा कम्पनीलाई २ अर्ब र निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । यसले हकप्रद निष्कासन अनुमति माग्ने बिमा कम्पनीहरुको संख्या पनि ह्वात्तै बढाएको छ ।

अहिले ६ वटा बिमा कम्पनीहरुले हकप्रद निष्कासन अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । एभरेष्ट इन्सुरेन्सको मात्रै ६००% हकप्रद सेयर पाइपलाइनमा रहेको छ । अहिले सञ्चानमा रहेका केही बिमा कम्पनीको मात्र चुक्ता पुँजी पुगेकाले आगामी दिनमा बिमा कम्पनीहरुको थप हकप्रद आउने र यसले फेरि बजारमा अपूर्ति बढाउने अनुमान गर्न सकिन्छ ।

यता, पहिले जारी भइसकेका कतिपय कम्पनीका हकप्रद सेयरहरु अझै सूचीकृत हुन बाँकी नै छ । यसले पुँजी बजारको आकार फराकिलो बनाउने भएपनि बढ्दो आपूर्ति खपत गर्ने संयन्त्र तय गर्न पनि उत्तिकै आवश्यक देखिएको छ । माग र आपूर्तिबीच सन्तुलन मिलाउन नसके बजारमा नकारात्मक असर पर्न सक्ने तर्फ सरोकारवाला निकाय समयमै सजग हुन आवश्यक छ । 
 
 
 

Post Your Comment