Market Closed

कुमारी बैंकको २१.२५% बोनस सेयर हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

13 Apr,2019
  • Kumaril-bank-Ltd_8_26_2018_11_49_00.jpg
नेपाली पैसा
 
काठमाडौं : कुमारी बैंकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक गर्ने भएको छ । बैंकले आगामी वैशाख २६ गते बिहीबार एकै दिन सत्रौं र अठारौं वार्षिक साधारणसभा डाकेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा बिहान १०ः ३० बजे बस्नेछ । बैंकले आर्थिक वर्ष २०७३–७४ र २०७४–७५ को साधारण सभा गर्न लागेको हो । 
 
बैंकले साधारण सभा प्रयोजनका लागि वैशाख ६ गते शुक्रबार देखि वैशाख २६ गतेसम्म सेयर धनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ । तसर्थ, वैशाख ५ गते सम्म कायम सेयरधनीले मात्र दुवै आर्थिक वर्षको बोनस सेयर पाउने छन् ।
 
कुमारीको साधारण सभामा आर्थिक वर्ष २०७३–७४ का लागि चुक्ता पुँजीको १२.७५% र आर्थिक वर्ष २०७४–७५ को लागि चुक्ता पुँजीको ८.५०% का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गर्दैछ । बैंकले दुई आर्थिक वर्ष गरेर कुल २१.२५% बोनस सेयर वितरण गर्न लागेको हो । यी दुवै प्रस्ताव साधारण सभामा पेश हुनेछ ।
 
अब देखि बैंकको केन्द्रीय कार्यालय टंगालमा रहने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव राखेको छ । साथै, बैंकले आफैं वा सहायक कम्पनी मार्फत ब्रोकरको कार्य गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ ।
 
उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि राखिएको छ । संस्थापक र सर्वसाधारण सेयरधनीको तर्फबाट २–२ जना गरी कुल ४ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुनेछ । वार्षिक प्रतिवेदन माथि छलफल गरिने प्रस्ताव पनि छ । 
 
बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली, काक्रेबिहार विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ति गरेका कारण बोनसमा कर नलाग्ने भएकाले नगद लाभांश प्रस्ताव नगरेको जनाएको छ । कुमारीले २०७४ असार १६ गतेदेखि चारवटै संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार थालेको थियो ।
 
कुमारी बैंकले दुई आर्थिक वर्ष गरेर १ अर्ब ५२ करोड २१ लाख ७८ हजार १३९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । उक्त प्रस्तावित बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड ४५ लाख ७३ हजार ११९ रूपैयाँ पुग्नेछ । कुमारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६७ करोड ६२ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १८ रुपैयाँ ६२ पैसा छ । 

कुमारी बैंकको साधारण सभा सम्बन्धी जानकारी यहाँबाट हेर्नुहोस् । 

Post Your Comment