बैंकहरुको पुँजी र नाफा वृद्धिमा यस्तो छ तालमेल, पुँजी कति बढ्दा नाफा कति ? (तथ्यांकसहित)

03 Feb,2018
  • profit_2_3_2018_7_21_29.jpg
सोभित थपलिया
 
काठमाडौं : बैंकहरुले छोटो समयमै भारी मात्रामा चुक्ता पुँजी वृद्धि गर्नुपर्दा पनि नाफा बढाइरहेका छन् । तर कतिपयको नाफा अपेक्षा अनुसार आउन सकेको छैन । केहीले भने आशातीत नै प्रगति हासिल गरेका छन् । यही सन्दर्भमा चुक्ता पुँजी कति बढ्दा नाफा कुन अनुपातमा बढ्यो होला भन्ने आम लगानीकर्ता र  सर्वसाधारणमा चासो व्याप्त छ । राष्ट्र बैंकले पुँजी वृद्धिका लागि तोकेको समय पूरा भइसकेको छ । यसअवधिमा अधिकांश बैंकहरुको चुक्ता पुँजी ८ अर्ब पुगिसके पनि केही बैंक अझै चुक्ता पुँजी पुर्याउने अन्तिम तयारीमा छन् । बैंकहरुले हकप्रद, बोनस, मर्ज तथा एक्विजिसन र एफपीओका माध्यमबाट पुँजी वृद्धि गरेका हुन् । पहिलो त्रैमासमा नाफा बेस्सरी खुम्चिएको भए पनि दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा क्रमश बढ्दै गएको देखिएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिको तुलनामा सबै भन्दा बढी २४६.७७% ले चुक्ता पुँजी बढाएको जनता बैंकले खुद नाफा पनि ६८.४१% ले वृद्धि गरेको छ । बैंकले चुक्ता पुँजी बढाएर ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ पुर्याउँदा २७ करोड १७ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, लक्ष्मी बैंकले १७०.५१ प्रतिशत चुक्ता पुँजी बढाएर ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ । तर भारी मात्रामा चुक्ता पुँजी वृद्धि हुँदा यसको नाफा भने २७.७७% ले बढेको छ । 




स्टान्डर्ड चार्टर्ड बैंकले हालै मात्र १००% बोनस दिएर चुक्ता पुँजी ११३.६४% ले बढाएको छ । बैंकले गत वर्ष ३ अर्ब ७४ करोड ९९ लाख रुपैयाँ रहेको चुक्ता पुँजी बोनसपछि ८ अर्ब कटेको छ । यता, बैंकले खुद नाफा पनि ३६.९२% ले बढाएको छ । यस बैंकले हालैमात्र साधारण सभा गरी बोनस प्रस्ताव पारित गरेको हो । यसकारण, बोनसबाट थपिएको पुँजीलाई बैंकले लगानी गर्न पाएको छैन । नाफा वृद्धि गर्न बोनस अघि कायम रहेको पुँजीबाटै सम्भव भएको हो । यता, चुक्ता पुँजीमा अहिलेसम्म कुनै पनि बढोत्तरी नगरेको एनसीसीको खुद नाफा भने सबैभन्दा धेरै ३५६.७४% ले बढेको छ । यो बैंकको नाफा बढ्नुमा राइट ब्याकले मुख्य भूमिका निर्वाह गरेको छ । चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणले पुँजी वृद्धिको असर भोगेका बैंकहरु पनि धेरै देखिएका छन् । गत वर्षको तुलनामा पुँजी वृद्धि गरी ८ अर्ब रुपैयाँ पुर्याए पनि प्रभु बैंक (–४२.९१%), माछापुच्छ«े बैंक (–१७.९७%), सनराइज बैंक (–३.६३%), नेपाल बंगलादेश बैंक (–१८.९७%), एनआइसी एसिया बैंक (–०.२०%) र नेपाल बैंक (–१३.५४%) को खुद नाफा भने घटेको छ । यता, बैंक अफ काठमान्डू को खुद नाफा –८.२९% ले घटेको छ । यस बैंकलले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन अझै बाँकी छ । 
 
अझै पुगेन चुक्ता पुँजी
 
राष्ट्र बैंकले पुँजी वृद्धिका लागि तोकेको समयसिमा सकिनैं लाग्दा कतिपय बैंकहरुको भने चुक्ता पुँजी अझै पनि ८ अर्ब पुग्न सकेको छैन । गत आवको सोही अवधिको तुलनामा चुक्ता पुँजी धेरै बढाइसकेका बैंकहरुको पनि नियामकले तोके अनुसार अझै न्यूनतम चुक्ता पुँजी पुग्न सकेको छैन । दोस्रो त्रैमासमा सार्वजनिक गरिएका तथ्यांकहरु अनुसार अझै ८ अर्ब रुपैयाँ चुक्ता पुँजी नपुग्ने बैंकहरुमा एनएमबि, सेन्चुरी, बैंक अफ काठमान्डू, मेगा बैंक, सिद्धार्थ, कुमारी, सिभिल, एनसीसी र प्रभु बैंक रहेका छन् । कुमारी बैंकले चुक्ता पुँजी १२१.१६% बढाउँदा पनि अहिलेसम्म जम्मा ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ मात्र पुगेको छ । यस्तै, मेगा बैंकले आफ्नो चुक्ता पुँजी ८३.८६% ले बढाएको छ । तै पनि ८ अर्ब भने पुग्न सकेको छैन । यो बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड, ६७ लाख ४३ हजार रुपैयाँ मात्र रहेको छ । मेगा बैंक टुरिजम डेभलपमेन्ट बैंकसँग मर्ज हुने प्रकृयामा छ । त्यसपछि भने चुक्ता पुँजी पुग्नेछ । 
 

Post Your Comment