एक सय ६८ संस्था मर्ज र एक्विजिसनमा सामेल, कुन को सँग मिसिए ? (सबैको नामसहित)

28 Nov,2017
  • merrge_img_11_28_2017_6_12_26.jpg
एलिजा उप्रेती 
 
काठमाडौं : बैंक तथा वित्तीय संस्थाको संख्यामा तीब्र वृद्धि भएपछि अस्वस्थ प्रतिस्पर्धा बढ्दै गयो । अस्वस्थ प्रतिस्पर्धाका कारण कतिपय संस्था धरापमा परे । निक्षेपकर्ताको पैसा फिर्ता दिनसम्म नपुग्ने अवस्थामा पुगे । कतिपयले वित्तीय अपराध गरे । राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्नुपर्ने अवस्था आयो । केहीलाई खारेजीमा लैजानु पर्ने सम्मको अवस्था उत्पन्न भयो । यही अवस्थामा राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनको नीति अघि सार्यो । त्यसअघि आखाँ चिम्लिएर बैंक तथा वित्तीय संस्थाको लाइसेन्स दिने राष्ट्र बैंकको गलत नीतिका कारण समस्या आएको थियो । त्यसो त राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनमा जान प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपूर्व नै केही बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जान थालेको इतिहास हाम्रो वित्तीय क्षेत्रमा देखिन्छ । नेपालको वित्तीय क्षेत्रमा मर्जरको सुरुवात लक्ष्मी बैंक र हिमालयन सेभिङ एन्ड फाइनान्स (हाइसेफ) ले २०६१ साउन ११ गतेदेखि एकीकृत कारेबार गरेपछि भयो । यसको ३ वर्षपछि अर्थात २०६४ असोज १ गते नेपाल बंगलादेश बैंकले आफ्नै समूहले प्रवद्र्धन गरेको एनबि फाइनान्सलाई गाभ्यो । यी संस्थाहरु राष्ट्र बैंकले मर्जर नीति ल्याउनु अघि नै मर्जमा गएका थिए । मर्जर नीति ल्याउनु अघि गाभिएका संस्थामा नारायणी फाइनान्स र नेसनल फाइनान्स पनि हुन् । यिनीहरुले एक आपसमा गाभिएर २०६६ कात्तिक १५ गते नारायणी फाइनान्सको नामबाट एकीकृत कारोबार सुरु गरे । यता, नेपाल बंगलादेश बैंकले फेरि नेपाल श्रीलंका मर्चेन्ट बैंकलाई पनि गाभेर २०६७ माघ ९ गते एकीकृत कारोबार सुरु गर्याे । यस आधारमा मर्जर नीति आउनुपूर्व नै ८ वटा संस्था सामेल भइसकेको देखिन्छ ।







नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसन नीति २०६८ ल्याएपछि पहिलो मर्जर २०६८ असार १ गते हिमचुली डेभलपमेन्ट बैंक र वीरगञ्ज फाइनान्सबीच भएको पाइन्छ । यी दुई संस्था गाभिएर एच एन्ड बि डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको थियो । यस्तै, २०६९ असार २६ गते इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक र स्वस्तिक मर्चेन्ट फाइनान्स गाभिएर इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको नामबाट कारोबार सुरु भयो । त्यस यता, बैंक तथा वित्तीय संस्थाहरु  मर्जरमा जाने लहर नै चल्यो । हालसम्म १ सय ६८ संस्था मर्जर तथा एक्विजिसनमा सहभागी भइसकेका छन् । मर्जरमा जानेमा वाणिज्य बैंकहरु, विकास बैंक, फाइनान्स कम्पनी, मर्चेन्ट बैंकहरु लगायत छन् । पछिल्लो समय वाणिज्य बैंकहरुको संख्या अपेक्षा अनुसार नघटे पनि विकास बैंकहरुको संख्या भने केही घटेको देखिन्छ । राष्ट्र बैंकले बेला बेलामा जारी गर्ने पुँजी वृद्धिको निर्देशनले पनि बैंक तथा वित्तीय संस्थालाई मर्ज र एक्विजिसनमा जान बाध्यता पर्ने गरेको छ । पुँजी आधार कमजोर भएका अनि वित्तीय सूचक पनि राम्रो हुन नसकेका संस्थाहरुलाई बलिया कम्पनीले किन्ने गरेका छन् भने समान हैसियत भएका वा स्तर अनुसार सबल रहेका वित्तीय संस्था एक आपसमा मर्जमा गएका छन् । यो क्रम अझै पनि जारी छ । 
 
 
 
 
 

Post Your Comment