लक्ष्मी बैंकले बोनस राखिदियो खातामा, माघ १ पछिका सेयरधनीले अब के गर्ने ?

30 Nov,2017
  • Laxmi-bank-Ltd_11_30_2017_1_52_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी बैंकले अघिल्लो वर्ष घोषणा गरेको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको बिहीबार जानकारी गराएको हो । लक्ष्मीले अघिल्लो वर्ष १८.२९% बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकको गत असार १३ गते भएको १६ औं वार्षिक साधारण सभाले यस प्रस्तावलाई पारित गरेको हो । यसअघि लक्ष्मीले ३८% बोनस सेयर दिने प्रस्ताव गरे पनि बैंकले बिक्री खुला गरेको १००% हकप्रद र प्रोफेसनल दियालो विकास बैंकलाई समेत गाभेर कायम चुक्ता पुँजीलाई हिसाब गर्दा बोनस दर १८.२९% मात्र हुन आएको थियो । यता, बैंकले प्रोफेसनल दियालोलाई प्राप्ति गरेको मिति २०७३ माघ १ भन्दा पछि कायम भएका सेयरधनीहरुलाई भने बोनसमा लाग्ने ५% आयकर बुझाएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिने जनाएको छ । त्यसका लागि सेयरधनीले बुझाउनुपर्ने आयकर रकम लक्ष्मी बैंकको देशभरको जुनसुकै शाखामा बुझाउन सकिनेछ । यता, लक्ष्मी बैंकले गत वर्षको कमाईबाट १०% बोनस र ०.५३% नगद लाभांश प्रस्ताव पारित गर्न मंसिर २८ मा साधारण सभा गर्दैछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लक्ष्मीले १०% बोनस सेयरलाई पहिलो त्रैमासमा पुँजीकृत गरेर चुक्ता पुँजी ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार रुपैयाँ पुगेको रिपोर्ट सार्वजनिक गरेको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ छ । 

 
 
 
 
 
 

Post Your Comment