विकास बैंकहरु अब्बल बन्दै, रिजर्भ कोषमा लोभ लाग्दो प्रगति (तथ्यांक सहित)

02 May,2018
  • Report-Writing_new_5_2_2018_7_11_08.png
समिर गौतम
सोभित थपलिया 
 
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा विकास बैंकहरुको नाफामा पनि उल्लेख्य सुधार भएको छ । अधिकांशले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पनि पुर्याइसकेका छन् । नाफामा क्रमिक सुधार भए पनि पुँजी वृद्धि अनुपातमा भने अझै वृद्धिदर सुस्त नै छ । छोटो समयमा अधिक मात्रामा चुक्ता पुँजी वृद्धि गरिएकाले सोही अुनसार नाफा वृद्धि हासिल हुन केही समय धैर्य गर्न सक्नुपर्छ । भारी मात्रामा चुक्ता पुँजी वृद्धि हुँदा हाल सञ्चालनमा रहेका सबै राष्ट्रियस्तरका विकास बैंकहरुको प्रतिसेयर आम्दानी भने घटेको छ । 
 
देवः विकास बैंक, लुम्बिनी विकास बैंक, गण्डकी, टुरिजम र सांग्रिलाले तोकिएको चुक्ता पुँजी अझै पुर्याउन बाँकी रहेको देखिन्छ । सबैभन्दा बढी चुक्ता पुँजी महालक्ष्मी विकास बैंकको छ । महालक्ष्मीको पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ पुगिसकेको छ । यो गत आवको सोही अवधिको तुलनामा ८९.९९% ले बढी हो । यस्तै, ज्योति विकास बैंकको पनि चुक्ता पुँजी १५३% ले बढेर २ अर्ब ५९ करोड ३६ लाख ९ हजार पुगेको छ । 


 
चुक्ता पुँजीसँगै रिजर्भ कोष बलियो बनाउने चुनौती छ । तर अधिकांश विकास बैंकहरुको भने रिजर्भ कोषमा पनि राम्रै सुधार भएको देखिन्छ । यति डेभलपमेन्ट बैंकसँग मर्ज भएको महालक्ष्मीको रिजर्भ कोषमा भारी रकम बढोत्तरी भएको छ । महालक्ष्मीले ४२६.५०% ले रिजर्भ कोष बढाएर १ अर्ब १९ करोड १४ लाख ६४ हजार रुपैयाँ पुर्याएको छ । मर्ज तथा एक्वायरका कारण पनि कतिपयलाई रिजर्भ राम्रो बनाउन सहयोग पुगेको छ । 
 
यता, राष्ट्रिय वाणिज्य बैंकमा विलय भएको एनआइडीसी डेभलपमेन्ट बैंकको रिजर्भ कोषमा सबैभन्दा बढी ३ अर्ब ३२ करोड ७७ लाख ८२ हजार रुपैयाँ छ । तर बुधबारदेखि यो बैंकको अस्तित्व मेटिएर राष्ट्रिय वाणिज्य बैंक नै भइसकेको छ । यता, टुरिजम डेभलपमेन्ट बैंकको रिजर्भ कोष भने २२.२% ले घटेर ४२ करोड २२ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ । 



 
विकास बैंकहरुको खुद नाफामा पनि सुधार भएको छ । १३ मध्ये २ बैंकको मात्र खुद नाफामा गिरावट आएको छ । बाँकी सबैको नाफा केही हदसम्म बढेकै छ । सबैभन्दा बढी कामना सेवा विकास बैंकले ५७.६२% ले नाफा वृद्धि गरेर २२ करोड ८१ लाख ५२ हजार पुर्याएको छ । गण्डकी विकास बैंकको नाफा ३४ करोड ४ लाख ४४ हजार रुपैयाँ छ ।  
 
सरकारी स्वमित्वको एनआइडीसी डेभलपेन्ट बैंकले भने लत्तो छाडेको छ । आफ्नो इतिहासकै अन्तिम वित्तीय विवरण सार्वजनिक गरेको यस बैंकको ७८.८८% ले नाफा घटेर ४ करोड १८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । यस्तै, लुम्बिनी विकास बैंकको पनि १६.४३ % ले घटेर १८ करोड ४४ लाख ११ रुपैयाँ पुगेको छ । यता, सबै बैंकको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ ।

सबैभन्दा बढी एनआइडीसी डेभलपमेन्ट बैंकको ७८.८८% ले घटेको छ । यसपछि सांग्रिलाको ५३.३५%, टुरिजमको ५१.६३% र ज्योति विकास बैंकको ५०.९७% ले प्रतिसेयर आम्दानीमा ह्रास आएको देखिन्छ । धेरै विकास बैंकहरुले पुँजी वृद्धि गर्न हकप्रद, बोनससहित मर्ज र एक्विजिसनको सहारा लिएका हुन् । 
 
 

Post Your Comment