Market Closed

विकास बैंकहरु पनि छैनन् कम तर सबैभन्दा बढी अब्बल कुन ? (तथ्यांकहरु सहित)

01 Feb,2018
  • financial-papers_2_1_2018_6_38_54.jpg
सोभित थपलिया 
 
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । राष्ट्र बैंकले पुँजी वृद्धिका लागि तोकेको समय सकिनै लाग्दा राष्ट्रियस्तरका विकास बैंकहरुको प्रगति पनि राम्रै देखिएको छ । पुँजी वृद्धिसँगै धेरैजसो विकास बैंकहरुले नाफा पनि बढाउन सफल भएका छन् । केही विकास बैंकहरुको भने यही दोस्रो त्रैमास नै आफ्नो वित्तीय विवरण सार्वजनिक गर्न पाउने सम्भवतः अन्तिम मौका पनि हुने देखिएको छ । किन भने मर्ज तथा  एक्विजिसनमा गएका कारण कतिपयको अब नाम मेटिंदैछ । जस्तो अहिले टुरिजम डेभलपमेन्ट बैंक मेगा बैंकसँग मर्ज हुने अन्तिम चरणमा पुगेको छ भने एनआइडसी र राष्ट्रिय वाणिज्य बैंकको एकीकृत कारोबार हुने दिन पनि नजिकिँदै छ । यस आधारमा सम्भवतः टुरिजम र एनआइडीसीको नाममा तेस्रो त्रैमासको वित्तीय विवरण नआउन पनि सक्छ । दोस्रो त्रैमासमा विकास बैंकको वित्तीय विवरण पनि समग्रमा सन्तोषजनक देखिएको छ । यस त्रैमासमा सबैभन्दा बढी खुद नाफा कमाउनेमा कैलाश विकास बैंक अघि देखिएको छ । कैलाशले २६ करोड ६० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको हो । यसैगरी, कैलाशलाई पछ्याउँदै मुक्तिनाथ विकास बैंकले पनि २६ करोड ४३ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी हुने विकास बैंकमा भने महालक्ष्मी विकास बैंक देखिएको छ । यस बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड ३९ लाख ९७ हजार रुपैयाँ रहेको छ ।




चुक्ता पुँजीको आधारमा हेर्दा महालक्ष्मीपछि ज्योति विकास बैंक दोस्रो स्थानमा देखिएको छ । ज्योतिको २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ चुक्ता पुँजी छ । उता, जगेडा कोषमा एनआइडीसी अब्बल देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकसँग मिसिन लागेको एनआइडीसी डेभलपमेन्टले जगेडा कोषमा सबैभन्दा धेरै ३ अर्ब ३२ करोड ६८ लाख २० हजार रुपैयाँ जम्मा गरेको छ । यस्तै, दोस्रोमा महालक्ष्मी विकास बैंकको जगेडा कोषमा १ अर्ब ३० करोड ५० लाख ८६ हजार रुपैयाँ छ । यस्तै, गण्डकी विकास बैंकको पनि जगेडा कोषमा १ अर्ब १३ करोड ८२ लाख ४ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । एनआइडीसीको प्रतिसेयर आम्दानी पनि सबैभन्दा धेरै ३७ रुपैयाँ ४३ पैसा देखिएको छ । यस्तै, दोस्रोमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५८ पैसा छ । भारीमात्रामा चुक्ता पुँजी वृद्धि हुँदा कतिपय विकास बैंकहरुको प्रतिसेयर आम्दानीमा भने उल्लेख्य गिरावट आएको अवस्था पनि छ । तर विकास बैंकहरु पनि विस्तारै आफूलाई सुधार गर्दै अघि बढिरहेका छन ।
 
 

Post Your Comment