Market Closed

वाणिज्य बैंकहरुमा यी ३ जसले दशैअघि नै पुर्याउँदैछन् ८ अर्ब चुक्ता पुँजी, ५ को पुगिसक्यो

10 Sep,2017
  • business-Capital_9_10_2017_6_22_24.jpg
एलिजा उप्रेती 
 
काठमाडौं : वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको अन्तिम लेखा परीक्षण पेस गर्दा ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुगेको विवरण प्रस्तुत गर्नुपर्नेछ । चुक्ता पुँजी नपुगेका बैंकहरुले यसका लागि साधारण सभा बोलाएर बोनस दिने प्रस्ताव गर्न थालेका छन् । कतिपय बैंकहरु अझै पनि हकप्रद निष्कासन गर्ने तयारीमा छन् । तर ३ वटा वाणिज्य बैंकले भने दशैंअघि नै नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने देखिएको छ । एनआइसी एसिया बैंकले साधारण सभाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गराएर तोकिएको चुक्ता पुँजी पुुँर्याउँदैछ । यो बैंकले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५०० रुपैयाँ बराबरको २० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ७ करोड ४ लाख ४८ हजार ३९५ रुपैयाँ बराबरको (१.०५ प्रतिशत) नगद लाभांश दिने विशेष प्रस्ताव साधारण सभामा पेस गर्दैछ । हाल एनआइसी एसियाको चुक्ता पुँजी ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार रुपैयाँ छ । २० प्रतिशत बोनस सेयरपछि चुक्ता पुँजी ८ अर्ब ३ करोड ११ लाख १६ हजार रुपैयाँ पुग्नेछ । बैंकले भदौ ३० गते साधारण सभा बोलाएको छ ।

चालु आर्थिक वर्षमा साधारण सभा बोलाउने वाणिज्य बैंकहरुमा सबैभन्दा पहिलो बैंक पनि एनआइसी एसिया नै भएको छ । यता, सिटिजन्स बैंकले पनि असोज ९ गते साधारण सभा बोलाएको छ । सिटिजन्स बैंक सञ्चालक समितिले निर्णय गरेको १६ प्रतिशत बोनस र कर तिर्न ०.८५ प्रतिशत नगद लाभांश राष्ट्र बैंकले अनुमोदन गरिसकेको छ । यसलाई बैंकको आगामी साधारण सभाले पारित मात्र गर्न बाँकी छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ छ । १६ प्रतिशत बोनस सेयरपछि भने बैंकको चुक्ता पुँजी ८ अर्ब २ करोड ९१ लाख रुपैयाँ पुग्नेछ । उता, नबिल बैंकले पनि गत वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको निर्णयलाई असोज १० गते हुने साधारण सभाबाट पारित गर्दैछ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड ५५ लाख ७ हजार रुपैयाँ छ । ३० प्रतिशत बोनसपछि नबिलको चुक्ता पुँजी ८ अर्ब ४ करोड ११ लाख ५९ हजार १०० रुपैयाँ पुग्नेछ । हालसम्म ५ वाणिज्य बैंकले मात्र राष्ट्र बैंकले तोके अनुसार नै चुक्ता पुँजी पुर्याएका छन् । उता, नेपाल इन्भेष्टमेन्ट बैंकको भने बोनसअघि नै चुक्ता पुँजी ९ अर्ब भन्दा धेरै भइसकेको छ । चुक्ता पुँजी राष्ट्र बैंकले तोके भन्दा माथि पुर्याइसकेको इन्भेष्टमेन्ट बैंकले पनि फेरि लगानीकर्तालाई १५% बोनस सेयर र २५% नगद लाभांश दिने भएको छ । ग्लोबल आइएमई बैंकको पनि ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुगेको छ भने सरकारी स्तरको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएका छन् । अरु बैंकहरु पनि तोकिएको चुक्ता पुँजी पुर्याउन लागिपरेका छन् । तर अरु धेरैजसोको साधारण सभा भने अब दसैंपछि हुने सम्भावना बढेको छ । 
 
 

Post Your Comment