नागबेलीले लिलामी सेयर नपर्नेलाई आइतबारदेखि दिने भयो पैसा फिर्ता

06 Dec,2018
  • Nagbeli-laghubitta-bikas-bank-Ltd_8_14_2018_12_34_21.jpg
नेपाली पैसा
 
काठमाडौं : नागबेली लघुवित्त वित्तीय संस्थाले लिलामी सेयर नपरेका आवेदकलाई आइतबार (मंसिर २३ गते) देखि पैसा फिर्ता दिने भएको छ । कम्पनीले लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेकै बैंक तथा वित्तीय संस्थाको खातामा पैसा फिर्ता गरिदिनेछ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइने कम्पनीले जनाएको छ ।
 
आवेदन फारममा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर उल्लेख नगरेका र गलत खाता नम्बर उल्लेख गरेर लिलामी भरकाहरुले भने कम्पनीमा सम्पर्क गरी फेरि वास्तविक खाता नम्बर टिपाउनुपर्नेछ । त्यसपछि मात्र रकम सम्बन्धित खातामा फिर्ता हुनेछ । 
 
नागबेलीले मंसिर ५ गतेदेखि १२ गतेसम्म सर्वसाधारण समूहको ९ हजार ५१८.४४ कित्ता सेयर लिलामीमा ल्याएको थियो । यो लिलामी सेयर बुुधबार बाँडफाँट गरिएको हो । यसमा प्रतिकित्ता न्यूनतम ६ सय ६६ रुपैयाँसम्म (कट अफ प्राइस) भाउ तोकेर लिलामी भर्नेले सेयर हात पार्न सफल भएका थिए । 
 
यसअघि कम्पनीले साउन ४ देखि भदौ ७ गतेसम्म १ः१ अनुपातमा ७ लाख ६६ हजार ४६३.१५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । त्यसबेला नबिकेको हकप्रद सेयर लिलामीमा ल्याएको हो । हाल नागबेलीको चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार ६३० रुपैयाँ पुगेको छ ।

यता, नागबेलीले गत वर्षको कमाईबाट १६.११% बोनस सेयर दिने घोषणा गरेको छ । लगानीकर्ताले बोनस सेयरमा लाग्ने कर तिर्न ०.८४% नगद लाभांश पनि पाउनेछन् । बोनस वितरणपछि चुक्ता पुँजी १७ करोड ७९ लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।
 
 

Post Your Comment