पुँजी बजारमा आउँदैछ ११ अर्ब भन्दा बढीको एफपीओ र आइपीओ (तथ्यांक सहित)

08 Jun,2018
  • fpo_6_8_2018_7_40_07.jpg
समिर गौतम 
 
काठमाडौं : लगानीकर्ताका लागि तत्कालै प्राथमिक बजारबाट ५ करोड ६० लाख ३८ हजार ८४७ कित्ता एफपीओ र आइपीओ भर्ने अवसर मिल्ने भएको छ । ३ वटा बैंकको एफपीओ र एउटा जलविद्युत कम्पनीको आइपीओ खुल्ने तयारी हुन लागेको हो । त्यसो त थप १५ कम्पनीको आइपीओ पाइपलाइनमा छ भने अर्को एउटाले चाहिँ अनुमति पनि पाइसकेको अवस्था छ । 
 
यसरी हेर्दा सर्वसाधारणलाई आइपीओ र एफपीओमा लगानीको वृहत्त सम्भावना देखिएको छ । यी ४ कम्पनीको सेयरमा सर्वसाधारणको ११ अर्ब ४४ करोड ६८ लाख ९२ हजार ११९ रुपैयाँ लगानी हुनेछ । अझै यसमा सिटिजन्स बैंकको एफपीओको प्रिमियम शुल्क जोडिएको छैन । सिटिजन्सको प्रिमियम भाउ थप्दा लगानी रकम अझै बढ्नेछ । 
 
सिटिजन्स बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गर्न अनुमति मागे पनि प्रिमियम भाउ सार्वजनिक गरिसकेको छैन । अहिले यो बैंकको बजार भाउ प्रतिकित्ता २५० रुपैयाँ छ । एफपीओ मूल्य बजार भाउ भन्दा केही थोरै हुने अनुमान छ ।  यता, अपर तामाकोशी हाइड्रोपावरले मात्रै आयोजना प्रभावित र सर्वसाधारणलाई गरी कुल २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न लागेको छ । 


 
यस्तै, एनएमबि बैंक, नेपाल बैंक र सिटिजन्स बैंकले कुल २ करोड ९५ लाख ६३ हजार ८४७ कित्ता एपफीओ निष्कासन गर्न लागेका छन् । यीमध्ये एनएमबि बैंकले त आह्वान पत्र पनि जारी गरिसकेको छ । प्रिमियममा सेयर जारी गर्दा यी बैंकहरुको रिजर्भ सहित समग्र वित्तीय अवस्था सुधार्न सहयोग पुग्ने देखिन्छ ।

संकलन भएको प्रिमियम सीधै रिजर्भ कोषमा जम्मा हुन्छ । यसबाट यी बैंकहरुको रिजर्भ कोष थप मजबुत हुनेछ भने प्रतिसेयर नेटवर्थमा पनि सुधार आउनेछ । एनएमबिले अंकित मूल्य १०० रुपैयाँमा २३३ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३३३ रुपैयाँको दरले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री गर्न लागेको हो । बैंकले एफपीओबाट प्रिमियम सहित ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २७९ रुपैयाँ संकलन गर्नेछ । 
 
यसैगरी, नेपाल बैंकले पनि प्रतिकित्ता २८० रुपैयाँ दरमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यही दरमा एपफीओ बिक्री गर्न अनुमति पाएमा नेपाल बैंकले पनि ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ संकलन गर्नेछ । 

Post Your Comment