Market Closed

एफपीओमा अन्डरराइटरको अवैध धन्दा, लगानीकर्ताको अरबौं सम्पति बन्धकमा

27 Sep,2018
  • Illegal_busin_9_27_2018_7_27_53.jpg
सोभित थपलिया 
 
काठमाडौं : धितोपत्र बोर्डले नेपाल बैंकको एफपीओ अन्डरराइट गर्ने संस्थाहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाल बैंकको एफपीओ सबै बिक्री नभएपछि अन्डरराइटरले सकार्नु परेको थियो । तर अन्डरराइटरहरुले एफपीओ बाँडफाँटपछि बाँकी रहेको सेयर पनि मनोमानी ढंगले बेचेको भन्दै बोर्डले स्पष्टीकरण पत्र काटेको हो । नियम अनुसार अन्डराइटरले बिक्री नभएको सेयर आफैंले स्वीकार गर्नुपर्ने हुन्छ । 

तर नेपाल बैंकको एफपीओ अन्डरराइटरहरुले बाँडफाँट भइसकेपछि पनि भित्रभित्रै अवैध तरिकाले व्यक्ति तथा संस्थाहरुलाई बेचिरहेका छन् । त्यतिमात्र होइन, ठूलो कित्ता लिनेलाई डिस्काउन्टमा समेत एफपीओ बिक्री गरिएको प्रमाण फेला परेको छ । स्रोतहरुका अनुसार भित्रभित्रै एक–डेढ लाख कित्ता ‘डिल’ गर्नेले प्रतिकित्ता २८० रुपैयाँभन्दा पनि कम भाउमा सेयर पाएका छन् । धेरै जसो ठूला कित्ताहरु २७८ रुपैयाँ हाराहारीमा ‘डिल’ भएको स्रोतहरुको भनाई छ । यो सरासर गैरकानुनी कार्य हो ।

सर्वसाधारणलाई प्रिमियम जोडेर २८० रुपैयाँमा बेचिएको छ । अनि, सेयर पाएको २ महिनासम्म पनि उनीहरुले कारोबार गर्न पाएका छैनन् । साना र नियम अनुसार एफपीओ भर्नेको लागत बढेको बढ्यै छ । सेयर बजार बढेको बेलामा पनि यस्ता नियमपूर्वक काम गर्ने लगानीकर्ताले आफ्नो सम्पति बेच्नबाट वञ्चित भए ।

तर पहुँचवालाले भने बाहिरबाट ‘डिल’ गरेर दोस्रो बजारबाट किन्दा तिर्नुपर्ने कमिसनसमेत छुट पाएका छन् । यसबाट राज्यलाई कर बापत प्राप्त हुने रकम समेत सरासर नोक्सान भएको छ । बजारमा यसरी चरम लापरवाही भइरहँदा पनि वास्तविक रुपमा कारवाही हुन सकेको छैन । 

स्पष्टीकरण  पत्र काटेकै भरमा धितोपत्र बोर्डले उन्मुक्ति दियो भने कानुनको ठाडै उल्लंघन हुने मात्र होइन, राज्यले पनि राजस्व गुमाउनेछ । यसबाट गल्ती गर्नेहरुलाई थप प्रोत्साह मिल्नेछ । स्पष्टीकरण सोधेकै भरमा उन्मुक्ति दिइयो भने त्यसले झन् गलत नजीर पनि स्थापित गर्नेछ । अहिले सेयर बाँडफाँट भएको एक सातामै सूचीकरण नै गर्न सक्ने नियम बनिसकेको अवस्थामा समेत नेपाल बैंकका लगानीकर्ताले भने २ महिना बित्न लाग्दा पनि आफ्नो सम्पति बिक्री गर्न तथा धितो राख्न नपाउनुले नागरिकको आफ्नो सम्पति भोग चलन गर्न पाउने अधिकार समेत कुण्ठित भएको छ । 
 
यस एफपीओ अन्डरराइट गर्नेमा ग्लोबल आइएमई, एनआइबीएल एस, सिभिल, सीबीआइएल, सनराइज, लक्ष्मी, सानिमा र नेपाल एसबीआई क्यापिटल रहेका छन् । नेपाल बैंकले असार १५ गतेदेखि साउन १३ गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो भने साउन २० गते बाँडफाँट भएको थियो । 
 
धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले नेपाल बैंकको बिक्री नभएको एफपीओ अन्डरराइटरहरुले मनोमानी ढंगबाट बिक्री गरेको तथ्य फेला परेपछि के कारण यसको गरिएको हो भनेर स्पष्टीकरण सोधिएको नेपाली पैसालाई बताए । उनले भने ‘अन्डरराइट गर्न नसक्ने भए अन्धाधुन्ध जिम्मा लिनु हुँदैनथ्यो, लिएपछि अब आफैंले स्वीकार नगरी मनोमानी ढंगले बिक्री गर्न पनि पाइँदैन, आँखा चिम्लेर लिनुपूर्व आफ्नो क्षमता पनि हेर्नुपर्छ ।’

आफूले सेयर अन्डरराइट गर्न नसकेपछि जानकारी नै नगराई मनोमानी ढंगले बिक्री गर्न नमिल्ने उनको भनाई छ । बोर्डले मागेको स्पष्टीकरणको जवाफ आइसकेको र त्यसका सम्बन्धमा अध्ययन भइरहेको पनि प्रवक्ता गिरीले बताए । बोर्डले अध्ययन गरिरहेका कारण सेयर सूचीकरण हुन नसकेको हो । 
 
यता, एफपीओको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ध्रुव तिमिल्सिना अन्डरराइटरहरुले लिएको सेयर आफ्नो अनुकूलता अनुसार बिक्री गर्न पाउनुपर्ने बताउँछन् । ‘२० करोड पुँजी भएको कम्पनीलाई ४ अर्बको सेयर अन्डरराइट गर्न समस्या भएको हो’ उनले भने । सेयर सबै नबिकेपछि त्यसलाई व्यवस्थापन गर्नुपरेको उनको भनाई छ । 
 
यता, नेपाल बैंकका सहायक महाप्रबन्धक शिवराम मिश्र सेयर सूचीकरणका लागि नेप्से र सीडीएससीलाई ७–८ दिन अघि नै आवश्यक कागजात पठाइसकेको बताउँछन् । उनले भने, ‘हामीले सरोकारवाला निकायले मागेजति सबै आवश्याक कागजात पठाइसकेका छौं, उहाँहरुले अध्ययन भइरहेको छ भनेर भन्नुभएको छ, अब केही दिनमा लिस्टिङ हुन्छ भन्ने आशामा छौं ।’ बैंकले पनि सेयर कहिले सूचीकृत हुन्छ भनेर नेप्सेमा बुझ्दा फाइलको अध्ययन भइरहेको जानकारी पाएको उनले बताए । 
 
फाइल अध्ययनको क्रममा रहेको भनेपछि केही दिनमा सूचीकृत हुनेमा आफूहरु विश्वस्त रहेको उनको भनाई छ । अन्डरराइटरले बिक्री नभएको सेयर आफू सकार्छु भनेर लिएपछि मनोमानी ढंगले बिक्री गर्न नमिल्ने विज्ञहरु बताउँछन् । अन्डरराइट पनि गर्छु भन्ने, त्यसबाट निश्चित शुल्क पनि लिने अनि नबिकेपछि नियमभन्दा बाहिर गएर आफूखुशी बिक्री गर्न कदापि मिल्दैन । 
 
नेपाल बैंकले १ सय रुपैयाँ फेस भ्यालुमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँ दरमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये ९३ लाख ७५ हजार ७५० कित्ता सेयरमा मात्र बाँडफाँट भएको हो । बाँकी सेयरहरु ८ वटा अन्डरराइटरहरुले सकारेका हुन् । 

                          हेर्नुहोस् को–को छन् अन्डरराइटर ? 

 
 

Post Your Comment