Market Closed

नेपाल बैंकले नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्दै, डेढ अर्ब आम्दानी बढ्ने

01 Aug,2016
  • nepal_bank_resize_8_1_2016_3_44_06.jpg
नेपाली पैसा 
काठमाडौं : नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको तीन लाख ९९ हजार नौ सय ४० कित्ता संस्थापक सेयर बोलकबोल माध्यमबाट बिक्री गर्ने भएको छ । 
 
नागरिक लगानी कोषको सेयर बिक्री गरेपछि कम्तिमा पनि नेपाल बैंकलाई एक अर्ब ३९ करोड ९७ लाख ९० हजार रूपैयाँ आम्दानी हुनेछ । 
 
बैंकले नागरिक लगानी कोषको संस्थापक सेयर प्रतिकित्ता ३५ सय रूपैयाँमा बिक्री गर्ने भएको हो । बोलकबोल माध्यमबाट बिक्री गरिने भएकाले लगानीकर्ताले प्रतिकित्ता ३५ सय भन्दा बढी रकम प्रस्ताव गर्ने सम्भावना अधिक छ ।

 प्रतिकित्ता चार हजारका दरले औसतमा सेयर बिक्री भएमा एक अर्ब ५९ करोडभन्दा बढी आम्दानी हुनेछ । 
 
 यस आधारमा बैंकको कमाई अझै बढी हुने देखिन्छ । बैंक स्रोतका अनुसार यसबाट न्यूनतम डेढ अर्बदेखि दुई अर्बसम्म कमाई हुने सम्भावना छ । 
 
नेपाल बैंकले पछिल्लो समय आफ्नो वित्तीय अवस्था निकै सुदृढ गर्दै लगेको छ । बैंकको नाममा रहेका घरजग्गालगायतका सम्पति बिक्री गर्ने कार्य पनि द्रुत गतिमा अघि बढिरहेको छ ।

बैंकले तीन अर्ब हाराहारीमा नाफा कमाएको वासलत सार्वजनिक गर्ने अनुमान गरिएको छ । वित्तीय अवस्था निकै सबल बन्दै गएपछि दोस्रो बजारमा पनि बैंकको सेयर कारोबारमा तेजी आइरहेको छ । 
 
नेपाल बैंकले सोमबार सूचना सार्वजनिक गर्दै कोषको संस्थापक सेयर किन्न २१ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन दिइसक्नुपर्ने जनाएको छ । 
 
यो संस्थापक सेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । नेपाल बैंकले बिक्री गर्न लागेको नागरिक लगानी कोषको संस्थापक सेयर बैंक, वित्तीय संस्था र बिमा कम्पनीले मात्र किन्न पाउनेछन् । 
 
अन्य कम्पनी र व्यक्तिहरू सहभागी हुन नपाउने बैंकले जनाएको छ । सेयर बोलकबोल गर्दा न्यूनतम २५ हजार कित्ता र सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतम सबै तीन लाख ९९ हजार नौ सय ४० कित्ताकै लागि आवेदन दिन सकिनेछ । 
 
बोलकबोलको आवेदन ढिलोमा २०७३ भदौ पाँच गते आइतबार अपरान्ह तीन बजेभित्र सिद्धार्थ क्यापिटल लिमिटेडको मर्चेन्ट बैंकिङ कार्यालयमा दर्ता भइसक्नुपर्नेछ । भदौ ६ गते दिउँसो ३.१५ बजे बिक्री प्रबन्धकको कार्यालयमा बोलपत्र खोलिनेछ ।  

Post Your Comment