नेपाल बैंकको एफपीओ असार १५ देखि खुल्दै, यस्तो छ आव २०७६।७७ सम्मको वित्तीय प्रक्षेपण

21 Jun,2018
  • fpos_6_21_2018_6_48_51.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल बैंकले असार १५ गतेदेखि १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री गर्ने भएको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ बिक्री खुला गर्न लागेको हो । यसमा न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा कानुनी सिमाभित्र रहेर अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने बैंकले जनाएको छ ।
 
एफपीओ निष्कासन भएको पहिलो दिनदेखि नै संस्थागत लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । यो एफपीओ भर्ने अन्तिम म्याद असार १९ गते तोकिएको छ । यस अवधिमा सबै एफपीओ नबिकेमा भने साउन १३ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् ।
 
बैंकले नेपाल सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । बैंकको वित्तीय प्रक्षेपण अनुसार आर्थिक वर्ष २०७६।७७ सम्म लगानीकर्ताले बोनस सेयर नपाउने देखिन्छ । एफपीओ बिक्रीपछि कायम हुने चुक्ता पुँजी नै आर्थिक वर्ष २०७६।७७ सम्म रहनेछ ।
 
यता, रिजर्भ कोषमा आर्थिक वर्ष २०७५।७६ मा १३ अर्ब २३ करोड २७ लाख रुपैयाँ र आव २०७६।७७ मा १६ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । यसैगरी, प्रतिसेयर नेटवर्थ आव २०७५।७६ मा २३४.८७ रुपैयाँ र २०७६।७७ मा २७१.०९ रुपैयाँ पुग्ने प्रक्षेपण छ ।
 
नेपाल बैंकलाई एफपीओ बिक्रीबाट प्रिमियमसहित ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ प्राप्त हुनेछ । बैंकले यो रकमको ८५% कर्जा तथा सापट, १०% लगानी, ३% शाखा विस्तार र २% अन्य काममा खर्च गरिने जनाएको छ । 

Post Your Comment