नेपाल बैंकको प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ बिक्री खुला, कति छ बजार भाउ ?

29 Jun,2018
  • Nepal-bank-Ltd_6_29_2018_9_49_19.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल बैंकले शुक्रबार (असार १५ गते) देखि १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री खुला गरेको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ बिक्रीमा ल्याएको हो । यो बैंकको बिहीबारको क्लोजिङ मूल्य भने प्रतिकित्ता २९३ रुपैयाँ छ । यसमा न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा कानुनी सिमा भित्र रहेर अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने बैंकले जानकारी दिएको छ ।
 
यो एफपीओमा संस्थागत लगानीकर्ताले पनि शुक्रबारदेखि नै आवेदन दिन पाउनेछन् । एफपीओ भर्ने अन्तिम म्याद असार १९ गते तोकिएको छ । यस अवधिमा सबै सेयर नबिकेमा भने साउन १३ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।
 
एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । बैंकको वित्तीय प्रक्षेपण अनुसार रिजर्भ कोषमा आर्थिक वर्ष २०७५–७६ मा १३ अर्ब २३ करोड २७ लाख रुपैयाँ र आव २०७६–७७ मा १६ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ पुग्नेछ । यसैगरी, प्रतिसेयर नेटवर्थ आव २०७५–७६ मा २३४ रुपैयाँ ८७ पैसा र २०७६–७७ मा २७१ रुपैयाँ ९ पैसा पुग्ने प्रक्षेपण छ । यस अवधिसम्म चुक्ता पुँजी भने परिवर्तन हुनेछैन । 
 
नेपाल बैंकलाई एफपीओ बिक्रीबाट प्रिमियमसहित ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ प्राप्त हुनेछ । बैंकले यो रकमको ८५% कर्जा तथा सापट, १०% लगानी, ३% शाखा विस्तार र २% अन्य काममा खर्च गरिने जनाएको छ ।

Post Your Comment