नेपाल बैंकको एफपीओमा १४ करोड ३ लाख रुपैयाँको आवेदन, कति जनाले भरे ?

01 Jul,2018
  • fpo_7_1_2018_5_06_12.png
नेपाली पैसा
 
काठमाडौं : नेपाल बैंकको एफपीओमा आइतबारसम्म १४ करोड ३ लाख ६४ हजार रुपैयाँको आवेदन परेको छ । एफपीओ खुला भएको आइतबार दोस्रो दिन हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजन बाबु अधिकारीले आइतबार ५ बजेसम्ममा ४ हजार ६६३ आवेदकबाट ५ लाख १ हजार ३०० कित्ताका लागि आवेदन परेको जानकारी दिए ।

अनलाइनबाट पनि भर्न मिल्ने भएकाले आवेदन रकम थपिरहन सक्छ । अनलाइनबाट राति १२ बजेसम्म पनि सेयर भर्न मिल्नेछ । बैंकले शुक्रबार (असार १५ गते) देखि प्रतिकित्ता २८० रुपैयाँको दरमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । एफपीओ भर्ने अन्तिम म्याद असार १९ गते तोकिएको छ । यस अवधिमा सबै सेयर नबिकेमा भने साउन १३ गतेसम्म भर्न सकिनेछ ।

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गरेको हो । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । बैंकको वित्तीय प्रक्षेपण अनुसार रिजर्भ कोषमा आर्थिक वर्ष २०७५–७६ मा १३ अर्ब २३ करोड २७ लाख रुपैयाँ र आव २०७६–७७ मा १६ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ पुग्नेछ ।

यसैगरी, प्रतिसेयर नेटवर्थ आव २०७५–७६ मा २३४ रुपैयाँ ८७ पैसा र २०७६–७७ मा २७१ रुपैयाँ ९ पैसा पुग्ने प्रक्षेपण छ । यस अवधिसम्म चुक्ता पुँजी भने परिवर्तन हुनेछैन । नेपाल बैंकलाई एफपीओ बिक्रीबाट प्रिमियम सहित ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ प्राप्त हुनेछ । बैंकले यो रकमको ८५% कर्जा तथा सापट, १०% लगानी, ३Þ% शाखा विस्तार र २% अन्य काममा खर्च गरिने जनाएको छ ।
 
 
 

Post Your Comment