Market Closed

नेपाल बैंकको एफपीओमा २१ करोड ९२ लाख रुपैयाँको आवेदन, अब साउन १३ सम्म भर्ने म्याद

02 Jul,2018
  • fpo_7_2_2018_6_01_00.png
नेपाली पैसा 
 
काठमाडौं : नेपाल बैंकको एफपीओमा २१ करोड ९२ लाख ४६ हजार १६० रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजन बाबु अधिकारीले सोमबार ५ बजेसम्ममा ७ हजार २३८ जनाबाट ७ लाख ८३ हजार २२ कित्ताका लागि आवेदन परेको जानकारी दिए । एफपीओ बिक्री खुला भए देखि नै संस्थागत लगानीकर्ताले किन्न पाउने सुविधा भए पनि अहिलेसम्म अपेक्षा अनुसार ठूला संस्थागत लगानीकर्ताबाट आवेदन नपरेको उनले बताए ।

सोमबारसम्मको अवस्था हेर्दा नेपाल बैंकको एफपीओ बिक्न लामै समय लाग्ने देखिएको छ । यो एफपीओ छिटोमा मंगलबार बिक्री बन्द हुने भनिए पनि अब सबै बिक्री नहुने भएकाले साउन १३ गतेसम्म म्याद दिइने छ । तर साउन १३ अघि नै आवश्यकता अनुसार आवेदन परेमा भने धितोपत्र बोर्डको अनुमति लिएर बीचैमा बिक्री बन्द गर्न सकिनेछ । 
 
यता, एफपीओमा आकर्षण कम भएपछि दोस्रो बजारमा पनि भाउ घटेको छ । यस बैंकको सोमबार दोस्रो बजारमा २८४ रुपैयाँ भाउ कायम भएको छ । यो मूल्य एफपीओ दर भन्दा मात्र ४ रुपैयाँले मात्र बढी हो । बैंकको सम्रग वित्तीय सूचक निकै राम्रो देखिए पनि बियरिस बजारका कारण एफपीओ बिक्न गाह्रो भएको देखिन्छ । 
 
नेपाल बैंकले शुक्रबार (असार १५ गते) देखि प्रतिकित्ता २८० रुपैयाँको दरमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गरेको हो । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।

बैंकको वित्तीय प्रक्षेपण अनुसार रिजर्भ कोषमा आर्थिक वर्ष २०७५–७६ मा १३ अर्ब २३ करोड २७ लाख रुपैयाँ र आव २०७६–७७ मा १६ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ पुग्नेछ । यसैगरी, प्रतिसेयर नेटवर्थ आव २०७५–७६ मा २३४ रुपैयाँ ८७ पैसा र २०७६–७७ मा २७१ रुपैयाँ ९ पैसा पुग्ने प्रक्षेपण छ । यस अवधिसम्म चुक्ता पुँजी भने परिवर्तन हुनेछैन ।

नेपाल बैंकलाई एफपीओ बिक्रीबाट प्रिमियम सहित ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ प्राप्त हुनेछ । बैंकले यो रकमको ८५% कर्जा तथा सापट, १०% लगानी, ३Þ% शाखा विस्तार र २% अन्य काममा खर्च गरिने जनाएको छ ।
 
 

Post Your Comment