नेपाल बैंक एफपीओमा यस्तो छ बिक्री अवस्था, ११ हजार ८ सय २५ जनाको पर्यो आवेदन

10 Jul,2018
  • Nepal-bank-Ltd_7_3_7_10_2018_5_37_13.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल बैंकको एफपीओमा १२ लाख ५४ हजार ५० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले मंगलबार साँझ ५ बजे सम्ममा कुल ११ हजार ८ सय २५ जनाले १२ लाख ५४ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएको बताए । यसमा अहिलेसम्म कुल ३५ करोड ११ लाख ३४ हजार रुपैयाँ बराबरको लगानी भएको छ । बैंकले एफपीओ बिक्री खुला गरेको मंगलबार १० दिन पूरा भएको छ । 
 
एफपीओ अपेक्षा अनुसार बिक्री हुन सकेको देखिदैन । दोस्रो बजारमा भाउ घटेकाले पनि एफपीओ बिक्री प्रभावित भएको अनुमान छ । मंगलबार पनि नेपाल बैंकको बजार मूल्य ३ रुपैयाँले घटेर प्रतिकित्ता २८२ रुपैयाँ कायम भएको छ । बजार भाउ अझै घट्न सक्ने त्रासका कारण पनि लगानीकर्ता त्रसित भएको अनुमान छ । 
 
नेपाल बैंकले असार १५ गतेदेखि प्रतिकित्ता २८० रुपैयाँ दरको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । यो एफपीओमा साउन १३ गतेसम्म भर्न पाइनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् ।
 
नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गरेको हो । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । 
 

Post Your Comment