Market Closed

अवैध ढंगले एफपीओ बेच्ने अन्डरराइटरहरुमाथि धितोपत्र बोर्डले थाल्यो छानबिन

01 Oct,2018
  • sebon_and_thag_10_1_2018_1_02_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल बैंकको एफपीओमा अवैध धन्दा मच्चाएका अन्डरराइटरहरु माथि धितोपत्र बोर्डले छानबिन सुरु गरेको छ । धितोपत्र बोर्ड अन्तर्गतको सुपरीवेक्षण शाखाले एफपीओ अन्डरराइट गर्ने संस्थाहरुमा गएर स्थलगत अध्ययन सुरु गरेको हो । विगत २ दिनदेखि सुपरीवेक्षण शाखाका निर्देशक अम्बिका प्रसाद गिरी सहितको टोलीले छानबिन गरिरहेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले नेपाली पैसालाई जानकारी दिए । 
 
छानबिन टोलीले सबै अन्डरराइटिङ गर्ने संस्थामा गएर आवश्यक कागजात तथा वस्तुस्थितिको अध्ययन गरिरहेको प्रवक्ता गिरीले जानकारी दिए । उनले भने ‘अहिले हाम्रो सुपरीवेक्षण शाखाले छानबिन गरिरहेको छ । यसको रिपोर्ट यथाशक्य चाँडो आउनेछ । त्यसकै आधारमा थप कारवाही प्रक्रिया अघि बढ्नेछ ।’ 
 
नेपाल बैंकको एफपीओ बाँडफाँट भएको २ महिना हुन लाग्दा पनि अहिलेसम्म सूचीकरण हुन सकेको छैन । पछिल्लो व्यवस्था अनुसार बाँडफाँट भएको १ सातामै सूचीकरण गरेर दोस्रो बजारमार्फत कारोबार गर्न सकिन्छ । लामो समयसम्म पनि सेयर सूचीकरण नहुँदा आम लगानीकर्ता भने प्रत्यक्ष मारमा परेका छन् । बजार बढेका बेला बिक्री गर्नबाट समेत लगानीकर्ताहरु बञ्चित भए । यसैगरी, एफपीओ भरेकाले धितोमा राख्न पाउने अधिकार समेत गुमाएका छन् । 

                          नेपाल बैंकको एफपीओ अन्डरराइटरहरु 

 
नबिकेको सेयर स्वीकार्ने शर्तनामा गरेका अन्डरराइटरहरुले भित्रभित्रै डिस्काउन्टमा लाखौं कित्ता सेयर बिक्री गर्नुले कानुनको समेत बर्खिलाप भएको छ । यसले दण्डहीनताको अवस्थालाई पनि पुष्टि गरेको छ । यसमा कारवाही गर्ने पहिलो निकाय धितोपत्र बोर्ड नै हो । बोर्डको कदम प्रभावकारी हुन सकेन भने यस्ता दण्डहीनता र अराजकता अझै फस्टाउँदै जाने त्रास सोझासाझा लगानीकर्तामा उत्पन्न भएको छ । 
 
त्यतिमात्र होइन, सर्वसाधारणले प्रतिकित्ता २८० रुपैयाँ तिरेकामा अवैध तरिकाले २७८ रुपैयाँसम्ममा पनि बिक्री गरिएको छ । यसबाट कानुनको ठाडै उल्लंघन भएको स्वतः प्रमाणित हुन्छ । राज्यको कर छली समेत भएको कानुन बेत्ताहरुको भनाई छ । नबिकेको एफपीओ अन्डरराइटरहरुले अवैध तरिकाले बिक्री गरिरहेका सम्बन्धमा धितोपत्र बोर्डमा उजुरी प्राप्त भएको पनि प्रवक्ता गिरीले जानकारी दिए । 
                      

Post Your Comment