Market Closed

केन्द्रीय बैंकको नयाँ नीतिले कुन–कुन बैंकलाई मिल्ने भयो राहत ?

08 Apr,2018
  • paid_up_img_4_8_2018_7_01_22.jpg
सोभित थपलिया 
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले तोकिएको समयमा न्यूनतम चुक्ता पुँजी पुर्याउन नसक्ने बैंक तथा वित्तीय संस्थालाई राहत दिने भएको छ । केन्द्रीय बैंकले पुँजी बढाउने समय यसअघि नै थप गरे पनि अहिलेसम्म कतिपय वाणिज्य बैंकहरुले नै चुक्ता पुँजी ८ अर्ब पुर्याउन सकेका छैनन् । अझै केही वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्ने छाँटकाँट देखिएको छैन । तर अब पुँजी गणनामा राष्ट्र बैंकले केही खुकुलो गर्ने भएपछि भने पुँजी पुर्याउन हम्मेहम्मे परेका बैंकहरुलाई राहत मिल्ने देखिएको छ ।
 
अब कल इन एड्भान्स, मर्जर तथा एक्विजिसनपछि कायम भएको बचत वा रिजर्भ कोष र सेयर प्रिमियमलाई चुक्ता पुँजीमा गणना गर्न पाउने व्यवस्था गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । आर्थिक वर्ष २०७२–७३ को मौद्रिक नीतिमा २ आर्थिक वर्षमा बैंकलाई ४ गुण पुँजी वृद्धि गर्न निर्देशन दिइएको थियो ।

मौद्रिक नीतिमा २०७४ असार मसान्तसम्म वाणिज्य बैंकको चुक्ता पुँजी न्यूनतम ८ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकको २ अर्ब ५० करोड र राष्ट्रिय स्तरको फाइनान्स कम्पनीको ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन भनिएको थियो । तर केही बैंक तथा वित्तीय संस्थाले यो निर्देशन पालना गर्न नसकेको देखिएको छ । 


 
अहिलेसम्म ५ वटा वाणिज्य बैंकहरुले नै तोकिएको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । यसमा सिभिल, एनसीसी, कुमारी, एनएमबि र बैंक अफ काठमान्डू रहेका छन् । उसो त सिभिल बैंकले ४०% हकप्रद बिक्री गरिसकेको छ । यसबाट उसको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्छ । 
 
यस्तै, एनसीसी बैंकले २ः१ रेसियोमा हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डमा अनुमति मागेको छ । बैंकको हाल ४ अर्ब ६७ करोड ९० लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । पाइप लाइनमा रहेको हकप्रद जोडदा पनि बैंकको न्यूनतम चुक्ता पुँजी नपुग्ने देखिएको छ ।

बैंकको २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँको हकप्रद सेयर पाइपलाइनमा रहेको छ । पाइप लाइनमा रहेको हकप्रदसमेत जोड्दा यो बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८६ लाख १४ हजार १०० रुपैयाँ मात्र पुग्छ । 
 
यस्तै, राष्ट्र बैैंकले तोकेको समयमा चुक्ता पुँजी पुर्याउन नसक्नेमा कुमारी पनि परेको छ । कुमारी बैंकको चुक्ता पुँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको छ । बैंकले २०% हकप्रद बिक्री गर्न लागेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार १६५ रुपैयाँ पुग्नेछ । 
 
यता, एनएमबि बैंकको पनि चुक्ता पुँजी अपुग नै छ । यसले चुक्ता पुँजी पुर्याउन १ करोड १४ लाख कित्ता भन्दा बढी एफपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको हो । चुक्ता पुँजी नपुग्ने बैंकमा बैंक अफ काठमान्डू पनि छ । चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा यो बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड ५३ लाख ८३ हजार रुपैयाँ थियो ।

बैंकले चुक्ता पुँजी पुर्याउन बोनस सेयरको सहारा लियो । जसमा १३.२५% बोनस सेयर दियो । बोनस दिँदा पनि बैंकको चुक्ता पुँजी पुगेको छैन । बोनसपछिको बैंकको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार २४७.५ रुपैयाँ मात्र पुग्नेछ । अब राष्ट्र बैंकले दिएको सहुलियत अनुसार यी बैंकहरुले तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउने देखिन्छ । त्यसैगरी, पुँजी नपुर्याउने विकास बैंकलगायतका संस्थालाई पनि यस नियमबाट राहत मिल्नेछ । 
 
 

Post Your Comment