Market Closed

एनसीसीको ७० लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन, अब के होला ?

14 Mar,2018
  • Nepal-credit-and-commercial-ba_3_14_2018_10_36_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनसीसी बैंकको ७० लाख कित्ता संस्थापक सेयर लिलामीमा भर्ने बुधबार (फागुन ३० गते) अन्तिम दिन हो । आवेदकले बुधबार बैकिङ समयभित्र लिलामी सेयर भरिसक्नुपर्नेछ । सुरुमा बैंकले माघ १८ गतेदेखि फागुन ३ गते सम्मको म्याद तोकेर लिलामी खुला गरे पनि निर्धारित समयमा सेयर बिक्री नभएपछि म्याद थप गरी बुधबारसम्म भर्ने व्यवस्था गरिएको हो । दोस्रो पटक सबै बिक्री हुने हो वा होइन, यो पनि चासोको विषय बनेको छ । लिलामी भर्न न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ ।

आवेदकले यही २१० रुपैयाँलाई आधार मानेर बोलकबोलका माध्यमबाट आवेदन दिनुपर्नेछ । व्यक्ति र कम्पनी दुवैले यसमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजार काठमाडौं पुग्ने गरी आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ ।

संस्थापक एनबी समूहले नै लिलामीमा सेयर बिक्री गरेकाले भारीमात्रा सेयर बजारमा आएको हो । बोलपत्र चैत १ गते बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर, डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे खोलिनेछ । हाल एनसीसी बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । चुक्ता पुँजी बढाउने अभियानमा रहेको एनसीसी बैंकले ५०% हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति पनि मागेको छ ।

बैंकले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रदका लागि अनुमति मागेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनसीसीले ३५ करोड ४५ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ३५६.७४% धेरै हो । गत वर्ष बैंकले ७ करोड ७६ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । एनसीसीको प्रतिसेयर आम्दानी १० रुपैयाँ २४ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २९ पैसा छ ।  
 

Post Your Comment