Market Closed

एनसीसीको ७९ लाख १० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

04 Jan,2019
  • Nepal-credit-and-commercial-bank-Ltd_7_31_2018_10_34_40.jpg
नेपाली पैसा
 
काठमाडौं : एनसीसी बैंकको ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामी भर्ने शुक्रबार (पुस २० गते) अन्तिम दिन हो । शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । एनसीसीले पुस ११ गतेदेखि संस्थापक समूहको ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता सेयर लिलामी खुला गरेको हो ।
 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । नेप्सेमा बिहीबार एनसीसीको अन्तिम मूल्य प्रतिकित्ता २१३ रुपैयाँ रहेको छ । लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई पनि ध्यान दिनुपर्ने हुन्छ । 
 
बैंकले यसअघि भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । त्यसबेला १ करोड ५४ लाख ८४ हजार २९० कित्ताका लागि मात्र आवेदन परेपछि नबिकेको ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरीबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, एनसीसी बैंकको विराटनगर, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, नारायणगढ, बनेपा, धनगढी र मुख्य शाखा कार्यालय बागबजार काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् ।
 
हाल एनसीसीको चुक्ता पुँजी ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि पुँजी ७ अर्ब २ करोड रुपैयाँ पुग्नेछ । एनसीसी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ करोड ९१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ४ पैसा छ ।

Post Your Comment