Market Closed

सीइओले धमाधम राजीनामा गर्दा बैंकमात्र होइन यसकारण पुँजी बजार पनि बिग्रिन्छ

13 Mar,2018
  • kishore-maharjan_3_14_2018_11_47_11.jpg
 काठमाडौं : केही समय यता वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुले राजीनामा दिने विषय सामान्य जस्तै बनेको छ । केही दिनअघि मात्र एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा दिए । उनले मात्र हैन माछापुच्छ्रे बैंकका निरज श्रेष्ठले पनि केही साता अघि मात्र राजीनामा दिएका थिए । यता, नबिल बैंकका शसिन जोशी, सेञ्चुरी बैंकका अनुजमणि तिमिल्सिना, ग्लोबल आइएमई बैंकका अनिल ज्ञवाली र सिभिल बैंकका किशोर महर्जनले राजीनामा पनि पछिल्लो कार्यकाल पूरा नहुँदै राजीनामा दिए ।

बैंकका संस्थापक तथा बोर्डसँग कुरा नमिल्दा धमाधम सीइओहरुको राजीनामा आउनु समग्र बैंकिङ प्रणालीकै लागि समस्याको विषय बनिरहेको छ । अनुभवी सीइओहरुले धमाधम राजीनामा गर्दा वित्तीय प्रणालीमै समस्या आउन सक्ने खतरा बढेको बैंकिङ क्षेत्रका जानकारहरुको भनाई छ । उता, राष्ट्र बैंकले कुलिङ पिरियडको सीमाका कारण एउटा संस्थामा राजनीमा गरेको ६ महिनासम्म सीइओहरु अर्को बैंकमा जान पाउने छैनन् । 
 
बैंकका सीइओले राजीनामा दिइरहँदा त्यसको असर सेयर बजारमा समेत पर्ने विज्ञको धारणा छ । किने भने हाम्रो पुँजी बजारको धेरै हिस्सा बैंक तथा वित्तीय संस्थाहरुले नै ओगटेका छन् । बैंकका अनुभवी र नाम चलेका सीइओले राजीनामा दिँदा पुँजी बजारसहित समग्र बैंकिङ क्षेत्रमा पर्न  सक्ने असर बारे हामीले सम्बन्धित विज्ञसँग कुराकानी गरेका छौं । प्रस्तुत छ वार्ताको प्रमुख अंश : 
  
   अनलराज भट्टराई
    बैंकिङ विज्ञ
 
कुनै व्यक्ति कुनै पनि संस्थामा कति समय बस्ने भन्ने उसको व्यक्तिगत कुरा हो । अहिलेको समय पहिलाको भन्दा निकै फरक छ । अहिले बैंक तथा वित्तीय क्षेत्रमा चुनौती निकै बढेको छ, चुनौती समाना गर्नतर्फ लाग्नुपर्छ । सीइओलाई विभिन्न दवाब आउन सक्छ । दवाब बढेपछि तनाब लिन नचाहनेले छोड्ने गरेका छन् । सीइओ भएपछि दवाब लिन पनि सक्नुपर्छ । तथापि अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र निकै स्वच्छ छ ।

यहाँ कुनै पनि प्राविधिक त्रुटि छैन । अहिले देखिएका यी समस्या समाधान गर्नका लागि बैंकको संख्या घटाउन आवश्यक छ । अहिले बैंकको संख्या आवश्यक भन्दा निकै बढी भए । अब बैंकको संख्या घटाएर १० वटा मात्र बनाए निकै राम्रो हुन्छ । १० वटा बैंक मात्र बनाउन सकेमा अनुभवी सीइओको अभाव हुँदैन ।

किशोर महर्जन,
पूर्व सीइओ, सिभिल बैंक

 
राष्ट्र बैंकले ८ अर्ब चुक्ता पुँजी पु¥याउन निर्देशन दिएको छ । केही बैंकहरुलाई त्यो निकै चुनौतीको विषय पनि बन्यो । अहिले बैंकहरुमा तरलता अभाव भइरहेको छ । पछिल्लो समयमा सरकारी नीति निमयका कारण पनि मुलुकको अर्थतन्त्र चलायमान हुन सकेको छैन । जसको असर बैंकिङ क्षेत्रमा पनि परेको छ । यतिबेला बैंकको ऋण उत्पादनमूलक क्षेत्रमा खासै लगानी हुन सकेको छैन । अहिले अटो, घर जग्गामा ऋण प्रवाह बढेको छ ।

उत्पादनमूलक क्षेत्रमा कम भएको छ । उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेको खण्डमा बैंकका सीइओमाथि थोपरिने चुनौती पनि कम हुनेछन् । सञ्चालकले मुनाफा बढी खोज्नु स्वभाविक नै हो । त्यो पूरा गर्नुपर्ने चुनौती सीइओहरुलाई छ । यसका लागि बैंकले आफ्नो लगानीको क्षेत्रलाई पनि बढाउनुपर्छ । लगानी विविधीकरण गर्नु पनि चुनौतीको विषय बनेको छ । कतिपय अवस्थामा बैंकका सीइओहरुले बोर्डको माग अनुसार पनि अघि बढनुपर्ने हुन्छ ।

पछिल्लो समय चर्चामा रहेको एनआइसी एसिया बैंकको काण्ड पनि यस्तै यस्तै खालको देखिएको छ । कतिपय अवस्थामा सञ्चालकहरुले आफू पनि सीइओ जत्तिकै भएको र सीइओका लागि योग्य रहेको जस्तो प्रवृत्ति पनि देखाउने गरेका छन् । यो भनेको बोर्ड हावी भएर नै हो । यसले थप समस्या उत्पन्न  हुनसक्छ । दीर्घकालीन समयमा यो क्षेत्रप्रति नै वितृष्णा नजाग्ला भन्न सकिन्न । तर यस्ता घटना न्यून हुँदै जानुपर्छ । धमाधम सीइओले राजीनामा गर्दै जाँदा बैंकमा योग्य व्यक्तिको अभाव नहोला भन्न पनि सकिन्न । तर, आशा गरौं सबै विषय राम्रो हुँदै जानेछ । 
 
अम्बिका पौडेल, 
अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम 
 
बैंकका सीइओहरुले धमाधम राजीनामा गर्दा यसको असर पुँजी बजारका लगानीकर्तामा पनि पर्छ । यसरी, कार्यकारीले राजीनामा दिनु भनेको एक हिसाबले बैंकिङ क्षेत्रमाथि विश्वास गुम्दै जानु पनि हो । यसर्थ, राष्ट्र बैंकले समस्या समाधानका लागि पहल गर्नुपर्छ । सञ्चालकले व्यवस्थापकलाई अनावश्यक रुपमा प्रतिफल आशा गरे व्यवस्थापकले त्यसको  विकल्प खोज्न सक्छन् । यसर्थ, व्यवस्थापक र सञ्चालकको विवाद समाधान गर्नुपर्छ ।

बजार मूल्यलाई यस्ता विषयले निकै असर पार्ने गर्दछ । लगानीकर्ताहरुले सम्बद्ध कम्पनीको सञ्चालक र व्यवस्थापक को छ त्यसलाई अध्ययन गरेर लगानी गरेका हुन्छन् । यसरी लगानी गर्नेहरुको मनोबल यस्ता घटनाले बिस्तारै गिर्दै जान्छ । जसको असर कुनै न कुनै रुपमा पुँजी बजारमा पर्न जान्छ । 
 
निचोडमा
सीइओहरूलाई पुँजी वृद्धि अनुरूप मुनाफा बढाउने दवाब एकातिर र बजारमा पैसा नभएर ऋण दिन नसक्दा अर्काे पीडा छ । अनि पुँजी बढाउने समयमा सीइओहरूले यति नाफा निकाल्न सकिन्छ, पैसा थप्नुस भनेर फकाएका पनि होलान् । उनीहरूले पुँजी बढेपछि धेरै ऋण दिन सकिनेछ । यसबाट नाफा बढ्छ भन्ने कल्पना गरेका थिए । अहिले त्यो सम्भव भएन । सञ्चालकहरूले लगानी गर्दाको वाचा सम्झाए र सोही अनुरूपको मुनाफा खोजे । बजार सोचे अनुरूप भए पक्कै मुनाफाको दवाब कम हुन्थ्यो ।
 
अर्काेतर्फ सीइओहरूले सञ्चालकहरू समक्ष कार्ययोजना (मुनाफासहित) पेस गरेको वा अनौपचारिक भए पनि वाचा गरेका हुन्छन् । सोही आधारमा कार्यसम्पादन मूल्यांकन सम्झौता गरेका छन् । तर अहिलेको अवस्थामा सो अनुरूपको कार्यसम्पन्न नहुँदा सायद सीइओको कार्यक्षमता माथि प्रश्न उठाए । जसले पनि राजीनामालाई प्रोत्साहित गरेको जानकारहरुको भनाई छ । 
 
सक्षम सीइओ खडेरी हुन लागिरहेका बेला वित्तीय बजारमा नियामकको ६ महिने कुलिङ पिरीयड तोकेकाले केहस् समय सीइओसमेत उपलब्ध नहुने अवस्था छ । यसैमा धमाधम सीइओको राजीनामाबाट बैंक व्यवस्थापनको नेतृत्व कमजोर हुन सक्छ । त्यसमाथि ३ महिना भन्दा बढी कामुबाट चलाउन नपाइने अर्काे निर्देशन पनि छ । यस, अवस्थामा बैंक भित्रैबाट सीइओ खोज्नुपर्ने हुन्छ वा ६ महिना पहिलेदेखि खाली गरी सक्षम व्यक्ति भेट्नुपर्ने हुन्छ । तर यस्ता व्यक्ति निकै कम छन् । 
 
यसरी तुलनात्मक रूपमा कमजोर व्यक्तिबाट बैंक सञ्चालन हुन जाँदा बैंकहरूको कार्यक्षमता, मुनाफा र प्रणालीमै चुनौती बढ्न सक्छ । यसबाट पुँजी बजारमा पनि जोखिम र चुनौती बढ्न सक्ने सम्भावनालाई नकार्न सकिन्न् ।  अहिले उत्पन्न समस्याको सुझबुझपूर्ण निवारण गरी बैंकिङ प्रणालीलाई थप मजवुत बनाउन सकिएको खण्डमा दीर्घकालमा झन् राम्रो पनि हुन सक्छ । टालटुल गरे पछि झन् ठूलो समस्या आई समग्र बैंकिङ प्रणालीमा जोखिम बढ्न सक्नेछ । यसबाट सेयरबजार निकै प्रभावित हुन सक्छ ।
 
       (नेपाली पैसाका लागि सोभित थपलियाले तयार पारेको रिपोर्ट) 
 
 
 
 
 
 

Post Your Comment