Market Closed

आर्थिक समृद्धिको अचूक मन्त्र प्रि–आइपीओ, पुँजी जुटाउन सहयात्री बन्नुपर्छ सरकार

16 Mar,2018
  • keshav_new_3_7_3_16_2018_6_19_42.jpg
केशव श्रेष्ठ
 
काठमाडौं : अचेल समृद्धिका कुराहरु खुब हुन थालेका छन् । यो आफैंमा राम्रो पनि हो । कुनै बेला सहमति र संविधान शब्दहरु यस्तै चलन चल्तीमा थिए । नेताहरुले ती शब्दहरु प्रयोग नगरे राजनीतिक दौडमा पछि परिएला जस्तै गर्थे । अचेल समृद्धि शब्द पनि त्यस्तै भएको छ । यतिसम्म कि अब छिटै आर्थिक पूर्वाधारहरुमा काम नथाल्ने हो भने अब यो समृद्धि शब्दले पनि जनतालाई टिम्की लाग्ला र वितृष्णा फैलाउला जस्तो लाग्न थालिसक्यो ।
 
समृद्धि शब्द प्रयोग गरेर भाषणमा नथाक्ने हामीले अब यसको यात्रा कता तिर बाट थाल्ने हो सोच्ने बेला आइसक्यो । समृद्धिको अवस्था भनेको जसरी तसरी पैसा थुपार्ने र विलाशिताको यात्रातिरको अग्रसरता हो भन्ने पनि धेरैको भ्रमपूर्ण बुझाई रहेको पाइन्छ । वास्तवमा आर्थिक, सामाजिक र नैतिक उन्नतिको सन्तुलित, सम्यक् अवस्था हो समृद्धि ।

अवश्य पनि यसको लागि नेतृत्व राज्यले नै लिनुपर्छ । निजी क्षेत्रले सरकारको होस्टेमा हैंसे अवश्य गर्नेछ । सामाजिक क्षेत्रले पनि परिपूरक गतिविधिहरु गर्नेछन् र हामी समृद्धितर्फको प्रारम्भिक पाइला चाल्नेछौं । राज्यले यो महाअभियानमा के के गर्ला, त्यसको फेहरिस्त बनाउने जिम्मा राजनीति र कर्मचारीतन्त्रलाई नै छोडिदिँउ ।

यहाँनेर चर्चा गर्न चाहेको समृद्धिको महाअभियानमा निजी क्षेत्रले पुँजी निर्माणमा कसरी नेतृत्व लिनसक्छ र राज्यले त्यसका लागि के कस्तो वातावरण बनाइदिन अनि सार्वजनिक हितका लागि नियन्त्रणकारी भूमिका खेल्न सक्छ भन्ने बिषय हो । निजी क्षेत्रले व्यवसायमा सामना गरिरहेका समस्याहरु त हजार जिब्रा भएका शेष नागले पनि वर्णन गरिनसक्ने छन् ।

तर यहाँनेर चर्चा चाहिँ व्यवसायको प्राणपखेरु मानिने पुँजी निर्माणको हो । हालसम्म निजी क्षेत्रले गरिआएका कामहरु पुँजी परिचालन, अभिवृद्धि र प्रतिफलको कसौटीमा हेरिन्छन् । हाम्रो अर्थतन्त्रको आकारको हिसाबले भने एकाधलाई छाडेर निजी क्षेत्रका उद्यमहरु अतिसाना साना उद्यमहरु स्थापना भएका देखिन्छन् । बैंकहरु र एकाध उद्यमहरुको बाहेक अरु कम्पनीहरुको पुँजी संरचना हेर्ने हो भने अर्बको पुँजी टेकेका निजी उद्यमहरु औंलामा गन्न सकिन्छ ।
 
कर्पोरेट दुनियाँमा पुँजीको आकार जति ठूलो हुन्छ, त्यसले ल्याउने व्यावसायिक गतिविधिहरुको व्यापकता र प्रभावकारिता पनि उत्तिकै धेरै हुन्छ । यहाँनेर वित्त विज्ञहरुले यथोचित पुँजीकरणको प्राविधिक कुरा गर्लान् । कत्रो व्यवसायमा कति पुँजीको आवश्यक वा यथोचित रहन्छ भन्ने कुराको बिश्लेषण आफ्नो ठाँउमा सही होला  तर यहाँ चर्चाको बिषय चाहिँ राज्यको समृद्धिमा ठूलो भूमिका राख्ने उद्यमधन्दाहरु कत्रो आकारबाट सुरुवात गर्ने भन्ने हो ।

अर्को शब्दमा भन्दा दुई चार जना मिलेर केही करोड संस्थापक शेयर संकलन गरी सुरु भएका उद्यमहरुबाट व्यावसायिक  बसिबियाँलो त होला तर तिनले राष्ट्रिय अर्थतन्त्रमा सुदृढ योगदान दिन वा कायापलट गर्ने हैसियत कदापि राख्दैनन् । पुँजी निर्माणको पक्षलाई हेर्ने हो भने हाम्रो देशमा उद्यम आरम्भ गर्ने बेला देखि नै उद्यमीहरु टाक्सिएका हुन्छन् ।

हामी सबैलाई थाहा भएको बिषय हो कि उद्यम सुरु गर्नु अघि उद्यमीले यस्तो उद्यम सुरु गर्दैछु, इच्छुक सरोकारवालाहरु आउनुहोस् जुटौं र ठूलो स्तरबाट उद्यम सञ्चालन गरौं भन्नै पाउँदैन, प्रचारप्रसार त टाढाको कुरा भयो । कानुनी रुपमा त अझ त्यो एक हिसाबले अपराध मानिन्छ ।

कतिसम्म भने, हामी कस्तो कम्पनी कसरी सुरु गर्दैछौं भन्ने विवरण फेसबुक जस्ता सामाजिक संजालहरुबाट पनि जानकारी दिन पाइन्नसम्म भनिएको छ । धितोपत्र बोर्ड जस्तो नियामक निकायले पुँजी निर्माणमा रोक्ने मात्रै हो कि सहजीकरण पनि गर्ने हो ? त्यसा ेकिन भनियो र त्यसका सहजीकरणका उपायहरु के होलान् पछि चर्चा गरौंला ।

तर यहाँ नेर के बुझ्नु जरुरी छ भने कुनै पनि उद्यमीको आफ्नो वा आफ्नो नातागोता वा निकटका व्यक्तिहरुको सानो सर्कलबाट उठ्नसक्ने प्रारम्भिक पुँजी निर्माणको दायरा अत्यन्त सानो हुन्छ । एउटा उद्यमीको जमातले बल्लतल्ल कति पो पुँजी उठाउन सक्ला ? मानिलिँउ, पाँच दश वा बीस करोड उठायो रे ।

निजी क्षेत्रको उद्यम र सपनाको आयतन नै त्यतिमै सीमित हुन जान्छ । सीमित पुँजी निर्माणबाट यात्रा आरम्भ गरेको उद्यमले ठूलो सपना देख्न र काम गर्न कसरी सक्छ र ?यदि कुनै उद्यमीले ठूलो परियोजनाको परकल्पना गर्छ भने उसले ठूलो परिमणमा संस्थापक सेयर संकलन नै गर्न नसक्ने अवस्था हुन्छ ।
 
त्यतिमात्र होइन, पछि सर्वसाधारणका लागि पुँजी जारी गर्नुपर्दा पनि बढीमा ४९ प्रतिशतको अनुपात मात्रै कायम गर्न पाउने हो । त्यहाँनेर पनि पुँजी निर्माणमा स्वचालित पावन्दी लागेकै छ । अब यस्तो टाक्सिएको सपना र सानो पुँजीको आकारले कसरी ठूला उद्यमहरु जन्मिएलान् त ?

हुन त यहाँनेर इक्विटी र ऋणको मिश्रणले पुँजी उद्यमको आकार ठूलो बनाउने सुझाव दिन सकिएला । तर कुरोको चुरो के हो भने ऋणका मुख्य स्रोतहरु त फेरि पनि उनै बैंकहरु नै हुन् । ती सबै बैंकहरु सामान्य अवस्थामा घाम लाग्दा छाता भाडामा दिने र पानी पर्दा छाता फिर्ता लैजाने रोगले आक्रान्त छन् ।

अहिलेका बैंकहरु यस्ता साहूजीहरु हुन् जसलाई आफ्नो ढ्याके ब्याजसँग मात्र मतलब छ । उद्यम र उद्यमी के कस्ता परिस्थितिबाट गुज्रिरहेका छन् र त्यो अवस्थामा कसरी सहयोग गर्ने भन्ने सोचाईसँग तिनको गोरु बेचेको समेत साइनो छैन । 
 
यसरी भन्दा नेपालको सन्दर्भमा बैंकको ऋण पुँजीमा आधारित उद्यमको टाउकामा सँधै तरबार झुण्डिए सरह हो । कति बेला ब्याज बढ्छ, कुन बेला बैंकको साहूजीहरुको के उर्दी जारी हुन्छ, कुन बेला आवश्यक पर्दा ऋणको सीमा घटाइदिन्छ त्यो सबै भगवान भरोसा हो ।

त्यहाँ कुनै सिष्टमले काम गरेको हुँदैन । अर्कोतिर, बैंकको वित्तीयकरणको क्षमता नै कति पो हुन्छ र ? ऋणको माग करोडमा दुई अंक टेक्न थाल्ने बित्तिकै तिनले जिब्रो पनि टोक्न थालिहाल्छन् । त्यसैले पनि इक्विटीमा आधारित उद्यम नै साँचो अर्थमा उद्यमीहरुले लिनुपर्ने बाटो हो ।

आजको मितिमा १५–१६ प्रतिशतसम्म बैंकको ऋणमा ब्याज तिरेर कुन चाहिँ उद्यम फष्टाउन सक्ला ? त्यो ब्याज मात्रै बचाएर सेयरहोल्डरहरुलाई त्यति नै वार्षिक लाभांश दिनसके बरु तिनले  नै कम्पनीको विस्तारको लागि रमाएरै हकप्रदका भारी बोकिदिनेछन् ।
 
साँचो अर्थमा जनस्तरको पुँजी परिचालन गरेर ठूला उद्योगधन्दाहरु स्थापना गर्ने हो भने अहिले बन्देज लागेको पूर्व प्रारम्भिक निष्कासन (प्रि–आइपीओ) को प्रकृयालाई सरकारले सुचारु गर्ने कानुनी बाटो खोलिदिनु जरुरी छ । यो अवश्य सही हो कि यो प्रकृयामा सरकार शसंकित हुने ठाँउ छ तर त्यसलाई सरकारले कानुनी रुपमा नियन्त्रण सहजै गर्नसक्छ ।

कम्पनी स्थापना हुनुपूर्व प्रचारप्रसारका साथ प्रारम्भिक निष्कासनको जस्तै प्रकृया अपनाएर पूर्व प्रारम्भिक निष्कासन गरी संस्थापक सेयर संकलन गर्न पाएको खण्डमा कम्पनीहरुको संस्थापक सेयर पुँजी रकमको आयतन हवात्तै बढेर जानेछ । यसबाट ठूलठूला उद्योगधन्दाहरु स्थापना भै फष्टाउन सक्नेछन् । यसबाट अहिले पाँच–सात अर्बको आयोजना स्थापना गर्न पनि बैंकहरुले सामूहिक पुँजी जुटाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । 
 
अहिले कर्पोरेट पुँजी निर्माणको बिषयमा हामी अचम्मको अवस्थामा छौं । एकातिर, उद्यम सुरु गर्न माथि भनिएझैं संस्थापकहरुले पुँजी जुटाउन नसक्ने अवस्था छ तर जनस्तरमा भने लगानीको आकांक्षा अहिले चुलिएको छ । एक अर्बको सेयरको प्रारम्भिक निष्काशन गर्दा जनताले दशौं अर्बको सेयरको आवेदन गरेको इतिहासले देखाएकै छ । यसलाई मुलुक विकासको लागि राज्यले बाटो देखाउने र नियमन गर्ने अनि निजी क्षेत्रले अवसरको सदुपयोग गर्न सक्नुपर्छ ।

सरकारले सर्वसाधारणको सम्पत्तिको सुरक्षाका बारेमा गम्भीरतापूर्वक सोच्नैपर्छ । ठूलो रकमको सेयरको पूर्व प्रारम्भिक निष्कासन गर्न अनुमति दिँदा निजी क्षेत्रले रकम अपचलन गर्ला कि भनेर सरकारले सोच्नु बिल्कुलै जायज हो । तर त्यस्ता ठूला कम्पनी संस्थापना नभएसम्म पूर्व प्रारम्भिक निष्कासनबाट संकलित रकमलाई सरकारी निकायकै निगरानीमा राख्ने नीति बनाउन सकिन्छ ।

अझ लामो समयसम्म संस्थापक सेयर रकम संकलनलाई लाग्ने समयलाई दृष्टिगत गरि कम्पनी कानुनी तवरले संस्थापना नहुन्जेलसम्म लगानीकर्ताको रकम उनीहरुकै खातामा रहने र कम्पनीले कारोबार सुरु गर्न रकम आवश्यक पर्ने समयमा मात्र रकम कम्पनीमा स्थानान्तरण गर्ने एस्क्रो खाताको माद्यमबाट पनि रकम उठाउन सकिन्छ ।

यसो गर्दा लगानीकर्ताहरुको बिश्वास जित्नुका साथै पूर्व प्रारम्भिक निष्कासनको रकममा न्यायिक  प्रतिफल समेत लगानीकर्तालाई जानेछ । यसरी प्र–आइपीको प्रकृयाबाट रकम परिचालनमा सहजीकरण भई ठूला उद्यमधन्दाहरुको लागि पुँजी निर्माण सम्भव हुन जान्छ ।

यसमा अझ सरकार र निजी क्षेत्रको साझेदारी वा सहकार्य गर्न सकिए सुनमा सुगन्ध हुनेछ । हु न त यो बिषय नेपालको लागि अलि नयाँँ हुन सक्छ । तर आर्थिक क्रान्तिमा छलाङ मार्नु छ भने पुरातनवादी सोच र कामले मात्रै पुग्दैन । पुँजी निर्माणको क्षेत्रमा पनि यो नवीन सोचलाई व्यवहारमा उतार्न जरुरी छ । पुँँजी बजारको क्षेत्रमा काम गर्ने अभियन्ताहरुले पूर्व प्रारम्भिक निष्कासनका लागि सरकारसँग माग, पहल र पक्षपोषण गर्नु जरुरी भइसकेको छ । 
 
सेयर बजार घट्यो भन्दै रोइकराई गर्ने, सरकारसँग मागहरु मात्रै तेस्र्याउने लगानीकर्ता संघहरुले पनि समृद्धिको बाटोमा अघि बढ्न पूर्व प्रारम्भिक निष्कासन जस्ता दिगो उपायहरुका लागि सरकारसँग पहल गर्दा राम्रै हुनेछ ।

सरकारले यसबारेमा नीति निर्माणमा पहल गरे गर्न सके निजी क्षेत्रबाट ठूलो उत्साहका साथ समर्थन र सहयोग प्राप्त हुनेछ भन्नेमा कुनै शंका छैन । पुँजी परिचालनका लागि सरकारले निजी क्षेत्रसँग सहयात्रीको भूमिका निर्वाह गर्न सक्नुपर्छ । 
 
(‘समृद्धिको बाटो’ नामक पुस्तकका लेखक श्रेष्ठ पुँजी बजारका प्रशिक्षक पनि हुन्)
 
 

Post Your Comment