Market Closed

सेयर बजारमा चलिरहन्छ बुल र बियरको घम्साघम्सी, कसरी पत्ता लगाउने बुलिस बजार ?

02 May,2018
  • subas_ji_5_2_2018_12_06_01.jpg
सुवास दाहाल
 
काठमाडौं : विगतमा सेयर खरिद बिक्री गर्न हात उठाएर घोक्रो सुक्ने गरी कराउनु पर्ने बाध्यता थियो । तर अहिले कछुवा गतिमै भएपनि लागानिकर्ता आफैंले मर्केट डेफ्तसम्म हेर्न मिल्ने र अनलाइन अर्डर म्यानेजमेन्ट सिस्टमबाट आदेश दिन सक्ने अवस्थामा हामी आइपुगेका छौं । विगतलाई सम्झिंदा यो खुशीको विषय हो । विश्वमा विकास भएका प्रविधि र त्यहाँ बजारलाई हेर्ने हो भने लाग्छ हामी चाहिँ भर्खरै बामे सर्दैछौं ।

आम लगानीकर्ताको आकांक्षा नेपाली सेयर बजार पनि अमेरिकाको न्यूयोर्क स्टक एक्सचेञ्ज जस्तो होस भन्ने नै छ । आशा गरौं, आगामी दिनमा ब्रोकरलाई मार्जिन लेन्डिङ सुविधा, अलाइन टे«डिङ र आवश्यक अन्य प्राविधिक पक्षहरु कार्यान्वयन हुनेछन् । जसका कारण लगानीकर्ताले सजिलै कारोबार गर्न सक्नेछन् । 
 
घटबढ बजारको सुन्दर पक्ष, यसरी भइरहन्छ तलमाथि
 
विगत ८ वर्षकोे नेप्से सूचकलाई अध्ययन गर्दा हामी यस्तो पाउन सक्छौं । आर्थिक वर्ष २०६७–०६८ मा २९२ अंक हाराहारीमा झरेको नेप्से फेरि निरन्तर उकालो लागेर ४७० अंक आसपासमा आएको थियो । त्यसपछि फेरि २९२ विन्दुसम्म आएर विस्तारै उकालो लाग्न थाल्यो । नेप्से क्रमशः १०३७ विन्दु हुँदै आर्थिक वर्ष २०७१–०७२ मा अधिकतम १०८५ अंकसम्म पुग्यो । त्यही वर्ष नेप्से न्यूनतम ८३५ अंकमा पनि झरेको थियो । 
 
यसैगरी, २०७२–०७३ मा अधिकतम १७२५ हुँदै २०७३–०७४ मा नेप्से १८८१.४५ अंक आइपुगेको थियो । त्यसपछि सूचक फेरि १२५२.५० सम्म झरेको थियो । फेरि बजार बढेर १६६७.९४ अंक पुगेको थियो । यसरी समष्ठिगत रुपमा हेर्दा नेप्से न्यूनतम २९२ विन्दुबाट उकालो लागेर १८८१.४५ अंकसम्म पुगेको देखिन्छ ।  
 
बजार तलमाथि गरिरहनुको यस्ता देखिन्छन् प्रमुख कारण 
 
राष्ट्र बैंकको पुँजी वृद्धि योजना सँगै बैंक तथा वित्तीय संस्थाहरुले भारीमात्रामा हकप्रद, बोनस र एफपीओ निष्काशन गरी लगानीकर्ताबाट पुँजी संकलन गर्ने काम अब लगभग सकिएको छ । विगतमा हकप्रद, बोनस र एफपीओको आशामा आम लागानीकर्ताले दोस्रो बजारबाट अधिकतम सेयर खरिद गर्न थाले । बजारमा माग अधिक बढेपछि बजार सूचक र कारोबार दुवैमा तेजी आउन थाल्यो । फलस्वरुपः नेप्से १८८१ अंकको रेन्जमा पुगेको थियो । 
 
बजारको नियम नै हो सँधै बढ्ने वा घट्ने मात्र गरिरहँदैन । हकप्रद तथा बोनस सेयर लगानीकर्ताको हातमा परिरहँदा सूचीकृत कम्पनीहरुको प्रतिसेयर आम्दानी भने घटिरहेको हुन्छ । लागनीकर्ताको हातमा सेयर संख्या दोब्बर वा तेब्बर हिसाबले बढ्दै जान्छ भने आफ्नो पुँजी सबै बजारमा लागानी भइरहेको हुन्छ । जसका कारण लागानीकर्ताको क्रय शक्ति घट्न जान्छ ।

त्यसैगरी, बोनस, हकप्रद वा एफपीओपछि कम्पनीहरुको मूल्य समायोजन हुन आउँछ । यसले पनि भाउ र सूचकमा दबाब खडा गरिरहेको हुन्छ । बजार तलमाथि भइरहनुमा यी र यस्तै पक्षको मुख्य भूमिका रहेको हुन्छ । बजार यसरी तल र माथि गर्नुलाई बुलिस र बियरिस भन्ने गरिन्छ । 
 
वास्तवमा कस्तो हुन्छ बुलिस र बियरिस बजार ? 
 
बुलिस र बियरिस बजार बुझ्नका लागि पहिला यी २ पक्ष (साँडे र भालु) ले आक्रमण गर्ने तरिकाबारे जान्न आवश्यक छ । बुल अर्थात साँडे, जसले आक्रमण गर्ने बेलामा आफ्नो शिर भुँइमा धस्छ या भुईंतिर निहुराउँछ र जोड लगाएर माथितिर हुत्याउँछ, । अनि, सिङलाई उँभोतिर उठाउँछ । जितिसम्म भुईमा तल धस्न सक्छ, त्यति नै धस्ने प्रयास गर्दछ र त्यसपछि जोड्ले भएभरको बल प्रयोग गरेर त्यसलाई बाहिर फाल्दछ ।

आफ्नो प्रतिद्धन्दीलाई मुनिबाट आक्रमण गर्दछ । यसबाट हामीले के बुझ्नुपर्छ भने जब बजार सतहमा वा बटम लाइनमा गएको हुन्छ । यो भन्दा मुनि जाने ठाउँ छैन भन्ने भएपछि बुझेकाहरुले त्यसैको मौका उठाएर धेरै भोलुममा सेयर खरिद गर्दछन् । अब तल जाने ठाउँ नभएपछि माथि जानैपर्यो । विस्तारैविस्तारै माथि जान थाल्छ । बजारले नयाँनयाँ उचाई बनाउँदैछ जान्छ । यसलाई हामी बुल वा बुलिस बजार भन्दछौं । 

 
त्यसैगरी, भालुले आफ्नो प्रतिद्वन्दी (साँडे) लाई आक्रमण गर्ने बेलामा ठाडो उभिएर आफ्नो शरीरको भारको सम्पूर्ण शक्ति प्रयोग गरेर आक्रमण गर्छ । यस्तो बेला मार्केट उचाइमा वा पिक प्वाइटमा पुगेको बुझिन्छ । यतिबबेला धेरैले सेयर बेच्छन्, जसका कारण अब बजार लगातार तलतिर धकेलिन थाल्छ । यो गति लामो समयसम्म पनि नरोकिन सक्छ । यसलाई हामी बियर वा बियरिस मार्केट भन्दछौं । 
 
बियरिस बजारले निरन्तर घटिरहेको अवस्थालाई संकेत गर्छ । बुलिसले लगातार बढिरहेको संकेत गर्दछ । कुनै एक निश्चित समयसम्म सेयर मूल्य निरन्तर घटिरहने अवस्था आएमा त्यो बियरिस बजार हो । त्यस्तै, बजार लगातार बढिरहने अवस्था बुलिस बजार हो । सेयर बजार तल माथि भइरहन्छ । यो स्वभाविक पनि हो । यसर्थ, पनि घट्नु र बढ्नुलाई बजारको नियम भनिएको हो । 
 
छोटोछोटो समयमै बजारको उतारचढाव वा धेरै माथि र धेरै तल भएमा त्यसलाई बुलिस वा बियरिस बजार भनिदंैन । यो त भोलाटाइल (अस्थिर) बजार हो । बुलिस र बियरिस बजार कुनै निश्चित समयसम्म लागि घटिरहने अनि बढिरहने हुनुपर्छ । देशकोे अर्थतन्त्रको अवस्थाले सेयर बजारलाई प्रत्यक्ष असर पारिहरेको हुन्छ ।

बुलिस बजार बियरिसको विपरीत अर्थ हो । जहाँ निश्चित समयका लागि बजार माथि गइरहन्छ । बजारमा तरलता सहज भयो अनि ब्याजदर न्यून हुन थाल्यो भने सुधार हुन्छ । यस्तै, बेरोजगारी दर कम हुँदा पनि बुलिस बजार राम्रो तरिकाबाट चल्न सक्छ । यसको विपरीत अर्थतन्त्रमा समस्या उत्पन्न भएमा, ब्याजदर बढेमा बजार बियरिसतिर ढल्किन थाल्छ । 
 
यस्तो बेला लगानीकर्ताको मनोबल घट्ने र कम्पनीहरुले कामदारहरु कटौती गर्न थाल्ने प्रवृत्ति विश्व बजारमा पनि हुन्छ । तरलता अभावले अन्ततः बजार दुर्घटनामा नै पर्ने त्रास हुन्छ । सेयर बिक्रीमा आउने चापले आतंक फैलाउँछ । यस्तो बेला लामो समयसम्म बियरिस प्रवृत्तिलाई पछ्याउने गर्दछ । 
 
बुलिस बजारमा धेरै कमाउन सकिन्छ भने बियरिसमा धेरै गुम्न पनि सक्छ । बुलिस बजारले सेयर खरिद गर्ने इच्छा भएका लगानीकर्ता धेरै बटुल्छ भन्ने अपेक्षा गरिन्छ । किनकि बुलिस  बजारले देशको अर्थतन्त्र सकारात्मक छ भन्ने संकेत गर्दछ । त्यसैले, यस्तो बेला धेरै भन्दा धेरै व्यक्तिहरु सेयर खरिद गर्न इच्छुक हुन्छन् ।
 
 उनीहरु त्यतिबेलासम्म खरिद गर्छन् जबसम्म लगानी गर्न छुट्याइएको पैसा सकिंदैन । यी र यस्तै अवस्थाले लगानीकर्तामा सकारात्मक भावना विकास हुन्छ । सेयरको भाउ निरन्तर बढिरहन्छ । बुलिस बजारमा सेयरको आपूर्ति कम हुन आउँछ । 
 
प्रत्येक बुलिस ट्रेन्डपछि हामी बियरिस लाई पर्खिरहेका हुन्छौ, त्यस्तै प्रत्येक बियरिस प्रवृत्तिपछि बुलिसको पर्खाइमा हुन्छौ । 
 
धैरै उत्साहित भई उच्च मूल्यमा सेयर खरिदको परिणाम चुइगम फुलेझै फुलेका सेयरहरु प्वाट् फुट्न सक्छन, जहाँबाट बियरिस बजारको सुरुवात हुन्छ । निरन्तर घटाइले बियरिसमा धेरैजसो लगानीकर्ताहरु आफूसँग भएको सयर अनलोड गर्न थाल्दछन् र फिक्स् रिर्टन आउने ठाउँमा लगानी गर्छन । घट्दो बजारमा सेयर बिक्री गर्ने चाप बढी हुन्छ । पैसा बाहिरिने क्रम जारी रहन्छ । जसका कारण सूचीकृत सेयरहरु बुल ट्रेन्ड नआउन्जेलसम्म घटेर एक तहमा गएर बस्छन ।

घटेको मूल्यमा बार्गेनिङ गरी सेयर खरिद गर्ने अवसरका रुपमा लिन सकिन्छ । भविष्यमा राम्रो नाफा गर्नका लागि घटेको बजारलाई ठूलो मौकाको रुपमा लिन सकिन्छ । सेयर बजारले लगानीकर्तालाई बारम्बार अवसर दिइरहेको हुन्छ । तर त्यस्तो अवसरको सही सदुपयोग हुन नसक्दा कमाई हुनुको सट्टा नोक्सानी पनि व्यहोर्नुपर्ने हुन्छ । 
 
कसरी गर्ने लगानी ? 
–कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गरी कार्य सम्पादन स्थिति, आर्थिक स्थिति, व्यवस्थापन सहित विगतमा प्रदान गरिएको प्रतिफल जस्ता महत्वपूर्ण पक्ष हेरेर लगानी सम्बन्धी निर्णय गर्नुहोस् । 
–सञ्चार माध्यमबाट प्रवाहित गरिने दैनिक बजार मूल्य तथा कारोबारका सम्बन्धमा समेत जानकारी राख्ने गर्नुहोस् । 
–हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
 –आफूले खरीद गरेको कम्पनीको गतिविधिबारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नबिर्सनुहोस् ।
–नियमित रुपमा लागानी गर्नुहोस् ।
–सकेसम्म लामो अवधिका लागी लगानी गनुहोस
–सेयर बजारमा लाभ र जोखिम दुवै हुने भएकाले हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउमा नलागी कम्पनीको वास्तविक वस्तुस्थिति बुझेर आफ्नो स्वविवेकमा जोखिम बहन गर्ने क्षमता अनुसार मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् । 
 
लगानी गर्दा यी पक्षलाई पनि ख्याल गर्नुहोस् 

क. तपाईंको जोखिम प्रोफाइल ।
ख. तपार्इंको समय क्षितिज ।
ग. तपाईंले गरेको बचत ।
 
(लेखक सेयर बजारका जानकार हुन् ।)
 
 

Post Your Comment