Market Closed

भरत मोहन अधिकारीको दुःखेसो, बजेट बनाउँदा एक शब्द पनि सोधिएन

27 May,2018
  • bharat_2_img_5_27_2018_7_50_14.jpg
भरत मोहन अधिकारी
पूर्व उपप्रधान तथा अर्थमन्त्री 
 
भरत मोहन अधिकारी पूर्व उपप्रधान तथा अर्थमन्त्री हुन् । पटकपटक मुलुकको अर्थ मन्त्री भइसकेकाले उनी विशेष गरी तत्कालीन एमालेको अर्थनीतिका चिन्तक मानिन्छ । उनले तीन खम्बे अर्थतन्त्रलाई कार्यान्वयन गराए । मुलुकको गरिबी निवारण गर्न सहकारीको विकास हुनैपर्छ भन्ने उनी मान्यता राख्छन् । एमालेको केन्द्रीय राजनीति र मुलुककै अर्थतन्त्रमा समेत प्रभावशाली भूमिका निर्वाह गर्ने अधिकारी केही वर्षयता भने गुमनाम जस्तै भएका छन् ।

उमेर, स्वास्थ्य लगायतका कारण उनी हिजो आज सार्वजनिक कार्यक्रममा देखिंदैनन् । पार्टीले समेत वास्ता गर्न छाडेको उनको गुनासो छ । यही क्रममा नेपाली पैसाका सोभित थपलियाले उनीसँग लामो भलाकुसारी गरेका छन् । प्रस्तुत छ आगामी बजेट, मुलुकको समग्र अर्थतन्त्र र अन्य समसामयिक विषयमा गरिएको कुराकानीको महत्वपूर्ण सार : 
 
नयाँ आर्थिक वर्षको बजेट आउँदैछ, बजेट कस्तो हुनुपर्छ ?
 
हो, अब नयाँ बजेट आउँदैछ । आउने बजेट निकै ऐतिहासिक हुनेछ । यो संघीयता कार्यान्वयन पछिको पहिलो बजेट पनि हो । अहिले झन्डै दुई तिहाई बहुमत भएको कम्युनिष्ट पार्टीको सरकार छ । यो सरकारलाई आफ्नो चुनावी घोषण पत्रमा उल्लेख गरे बमोजिम काम गर्न कसैले पनि बाधा पुर्याउँदैन, तसर्थ सरकारले दीर्घकालीन सोचका साथ बजेट बनाउन सक्छ । अहिले देशमा शान्ति सुरक्षा मजबुत छ, विदेशी लगानीको लागि पनि अनुकूल वातावरण छ । तथापि हाम्रो अर्थतन्त्रमा निकै चुनौतीहरु पनि रहेका छन् । यतिबेला व्यापार घाटा ८ खर्ब बढी छ । चालु आवको अन्तिम सम्ममा व्यापार घाटा १० खर्ब हुने सम्भावना छ । भारतमा मात्र ६ खर्ब बढीको व्यापार घाटा देखिन्छ ।

अहिले विप्रेषण आय निकै घटेको छ । विप्रेषण घट्दा झन समस्या देखिएको छ । आन्तरिक उत्पादन बढ्न सकेको छैन, कृषि उत्पादन घटेको छ । रोजगारी छैन, युवाहरु विदेशिएका छन् । जसले गर्दा देशको अर्थतन्त्र अहिले लाहुरे अर्थतन्त्र भइरहेको छ । यस्तो अर्थतन्त्रलाई नयाँ जीवन दिन आवश्यक छ । समग्रमा अर्थतन्त्र आयातमुखी बनेको छ । सबै विप्रेषणले धानेको अर्थतन्त्र यसमा कमी आउने वित्तिकै समस्यामा पर्छ । विप्रेषण घटिरहेको समयमा हुण्डीको कारोबार बढेको अनुमान गरिएको छ । साधारण खर्च बढेको छ । पुँजीगत खर्च घटिरहेको छ । यसले अर्थतन्त्र गम्भीर संकटमा रहेको देखाउँछ । 
 
यसकारण नयाँ बजेटले अहिलेको दूरावस्था चिर्दै, समृद्धिको यात्रामा लाग्नुपर्छ ।  अहिले हामी पुँजीवाद–पुँजीवाद भनिरहेका छौं । यो कुनै पनि हालतमा पुँजीवाद हैन । यो त विकृत पुँजीवाद हो । अहिले चर्चामा रहेको सुन तस्करीमा को पर्छ भन्दा डीआइजी, एसएसपी पर्छन् । जेलमा हेर्दा पूर्व आईजीपीहरु भेटिन्छन् । कमिशन, भ्रष्टाचार निकै छ । कुनै पनि ठाँउ शुद्ध छैन, विकृति बढेको छ । यसलाई न्यूनीकरणमा सरकारले ध्यान पुर्याउनु पर्छ ।
 
यति धेरै समस्या देखाउनुभयो, अब अर्थतन्त्रलाई सही गति दिन सक्ने आधार चाहिँ के हो त ? 


 
 
अहिले नै आत्तिहाल्नुपर्ने पनि होइन । सुधारका पाटाहरु छन् । त्यसकारण यो बजेटलाई संघीयतामा कसरी केन्द्रित गर्नुपर्छ, समृद्धितर्फ देश कसरी अघि बढ्छ भन्ने बाटो खुलाउने आधार हो । अहिलेको अर्थमन्त्रीले यो कुरा बुझ्नु पनि हुन्छ । उहाँले यस्ता विषयलाई पनि ध्यान दिनु हुनेछ । प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा ल्याउनु भएको छ । त्यही नारालाई सार्थक बनाउनका लागि कसरी, कुन रणनीतिमा जाने भन्ने निर्कोल गर्नुपर्छ । हामीले अहिलेसम्म अवलम्बन गरेको आर्थिक नीतिले काम दिएन । 
 
अहिले संविधानमा तीन खम्बे अर्थनीति उल्लेख छ, यो निकै सोच बिचार गरेर ल्याएको हो । अब उत्पादन कसरी बढाउने, रोजगारी कसरी दिने, सामाजिक न्याय कसरी गर्ने ? अहिले जसले उत्पादन बढाउँछ, रोजगारी बढाँउछ, लगानी बढाउँछ, सामाजिक न्याय गर्छ त्यसका लागि तीन खम्बे अर्थनीति ल्याइएको हो । यसका लागि सहकारी प्रमुख आधार हो । सहकारीमा आवद्ध भएका मान्छेलाई मोटिभेट गरेर उत्पादनमा लगाउनु पर्छ । गाँउघरमा उत्पादन बढाउनु पर्छ ।

यसका लागि कृषि उत्पादनमा जोड दिनुपर्छ । सिंचाईको व्यवस्था गर्नुपर्छ । लगानी बढाउनुपर्छ । लगानी र अनुदान खेर गएको छ । त्यो सबै बिचौलियाले खाएका छन् । वास्तविक किसानसम्म पुगेको छैन । साना घरेलु उद्योगलाई बढाएर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ । बन्द भएको उद्योग खुलाउनुपर्छ । अर्को भनेको चिया हो । नेपाली चियाको विश्व बजारमा ठूलो माग छ । युरोपमा नेपाली कफीको स्वादलाई निकै राम्रो मानिन्छ । यसलाई निर्यात गर्नतर्फ ध्यान दिनुपर्छ । 
 
पूर्वाधार विकासमा ध्यान दिनुपर्छ । सडक, रेल कनेक्टिभिटी, विमानस्थल लगायत निर्माण गर्ने विषयमा ध्यान दिनुपर्छ । पर्यटनलाई विकास कसरी गर्ने, नयाँ गन्तव्य कसरी पहिचान र प्रचार प्रसार गर्ने त्यसमा ध्यान दिनु पर्छ । मैले २०६८ सालको बजेटमा नयाँ १७ वटा गन्तव्यको पहिचान गराएको थिएँ । अरु पनि नयाँ गन्तव्य खोज्नुपर्छ । अबको विकास भनेको रौतहटकी महिलाले पनि अनुभव गर्न सक्ने हुनुपर्छ, बझाङको एक जना भाइले पनि अनुभव गर्न सक्ने हुनुपर्छ । जनतालाई साथ लिनुपर्छ । वृद्धवृद्धा, अपाङता भएका व्यक्ति, विदुवा, अल्पसंख्यक समुदायलाई पनि विकासको सहयात्री बनाउनुपर्छ ।  
 
जलविद्युतमा नेपाल अघि बढ्दै छ । पाँच वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत निर्माण गर्ने भनिएको छ । कर्णाली चिसापानी १० हजार मेगावाट, बूढीगण्डकी १२ सय, अरुण ९ सय मेगावाटको रहेको छ । यो भन्दा साना अन्य धेरै आयोजनाहरु छन् । साना १ मेगावाटका खोला पनि छन् । त्यसलाई पनि जोडन सक्नुपर्छ । मैले ०६८ सालमा भनेको थिए, तपाईहरुले सहकारी बनाएर १–डेढ मेगावाट बिजुली उत्पादन गर्ने हो भने सरकारले अनुदान दिन्छ । त्यसले २, ३ सय मेगावाट विद्युत बढ्यो । जसले गाँउ–गाँउमा पैसा परिचालन भयो । गाउँलेको हातमा पैसा घुम्छ । साना–साना आयोजना स्थानीयस्तरमा बन्दा गाउँ उज्यालो भयो । यस्ता विषयमा ध्यान दिनुपर्छ । 
 
विप्रेषण बढी भन्दा बढी भित्र्याउन श्रम मन्त्रालयले योजना बनाउनु पर्छ । यसका लागि पाकिस्तानको फलो गर्न सकिन्छ । त्यहाँ कामदारले रेमिट गर्दा पैसा लाग्दैन । पैसा सरकारले तिरिदिन्छ । त्यसो गर्दा जोखिम कम हुन्छ । सीधै बैंक खातामा पैसा हुन्छ । यसले हुण्डी निरुत्साहित गर्छ । राज्य भनेको वास्तवमै राज्य जस्तो हुनुपर्छ । विधिको शासन पालना गराउनुपर्छ । कुनै पनि मन्त्रालयलाई बजेट दिँदा त्यसको खर्च गर्ने क्षमता हुनुपर्छ ।

मन्त्रालयले बजेट लग्यो तर काम भएन भने त्यसको जिम्मेजार को ? किन खर्च भएन भनेर सोध्ने कसले ? मन्त्रीले सचिव, सचिवले मातहतका निकायलाई जानकारी माग्नु पर्याे । तीन–तीन महिनामा अनुगमन गर्ने र काम गर्न नसकेको हटाउनुपर्छ, अनि मात्र विकास बजेट खर्च हुन्छ ।  
 
नीति तथा कार्यक्रमले संघीयतालाई कसरी समेटेको पाउनु भयो ?


 
नीति तथा कार्यक्रमले संघीयतालाई राम्रोसँग समेट्न सकेन । संघीयता भनेको निकै संवेशदनशील विषय हो । संघीयताको सवालमा सरकारको नीति तथा कार्यक्रम निकै चुकेको छ । एक पटक बिग्रेको समुदाय बनाउन गाह्रो पर्छ । केन्द्रले अभिभावक भएर काम गर्नुपर्छ । संघीयता कार्यान्वयन गर्ने पहिलो काम केन्द्रकै हो । केन्द्रले स्थानीय, प्रदेश सरकारलाई साथमा लिएर अघि बढ्नुपर्छ । स्थानीय सरकारलाई जतिसक्दो बढी बजेट दिनुपर्छ । यो स्थानीय जनताको घरदैलोको सरकार हो ।

सबै जनताको समस्या समाधान गरेर उनीहरुको घरदैलोमा विकास गर्ने काम स्थानीय सरकारले गर्नुपर्छ । त्यसकारण प्रदेश सरकारलाई अलि प्रोत्साहन गर्नुहोस् । अहिले २ नम्बर प्रदेश अलि संवेदनशील छ । यो प्रदेशको लागि विषेश कार्यक्रम ल्याउनुपर्छ । यो बढी गरिबी भएको ठाँउ पनि हो । यहाँको मन जित्न आवश्यक छ । जनताको मन छुने कार्यक्रम लैजानुपर्छ । २ नम्बर प्रदेश र केन्द्रको सम्बन्ध बलियो हुनुपर्छ । त्यहाँ सडक, विद्यालय, खानेपानी जस्ता आवश्यक पूर्वाधार पुर्याउनुपर्छ । पैसा अभाव भए, विश्व बैंक, एडीबी, चीन, भारत लगायतका देशसँग पनि सहयोग लिन सकिन्छ ।  
 
आगामी आवमा आर्थिक वृद्धिदर दोहोरो अंकको नजिक–नजिक पुग्छ भनिएको छ यो कत्तिको सम्भव छ ? 
 
उत्पादन बढाउने, आयात घटाउने, पूर्वाधारको विकास गर्ने हो भने यो सम्भव छ । अझ पाँच वर्षपछि चाँहि दोहोरो अंकको वृद्धिदर भेट्टाउन सकिन्छ । यही कछुवा गतिमा हिँड्ने हो भने निकै गाह्रो छ । यसका लागि विधिको शासन चाहिन्छ । सरकारले इच्छा शक्ति देखाएर काम गर्नुपर्छ । अब पनि इन्छा शक्ति नदेखाउने हो भने यो मुलुकका लागि दूर्भाग्य हुनेछ । ओली सरकारले यत्रो ठूलो समर्थन पाँउदा पनि इच्छा शक्ति देखाएन भने सरकार किन चाहियो ।

जुन बेला नेपालमा भूकम्प गयो । भूकम्प गएपछि दाता सम्मेलन गरियो । उनीहरुले सहयोग गर्छु पनि भने । काम गर्न नसकेर पछि फिर्ता लैजान्छु पनि भने । त्यो समयमा इच्छा शक्ति नभएर खर्च हुन सकेन । त्यसैले दृढ इन्छा शक्तिको साथ योजनावद्ध रुपमा काम गर्नुपर्छ । अहिले सबै मन्त्रालयले अनुगमन गर्ने र मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अनुगमन गर्ने भनेको छ । यो कार्यान्वयन हुने हो भने ६ महिनामा धेरै परिवर्तन हुन्छ ।  
 
तपाईले सामाजिक सुरक्षा भत्ता लागू गर्नुभयो, तर अहिले यो बोझिलो बन्दै गयो भनिन्छ नि ? 
 
अन्य देशमा योगदानको आधारमा सामाजिक सुरक्षा भत्तालाई कसरी व्यवस्थापन गर्ने भन्ने बहस सुरु भएको छ । तर ८० वर्षको बृद्धाले के गर्ने, विदुवाले के गर्ने, सुत्केरीको अवस्था उस्तै छ । मैले सुत्केरी भत्ता उसै ल्याएको होइन, निकै सोच बिचार गरेर ल्याएको हो । कमाउनेका लागि कुनै समस्या छैन । जो अशक्त छन्, ती पनि समाजका अंग हुन । नेपालमा बृद्ध भत्ताका कारण बाटो बनाउन पाइन भनेको कही सुन्नु भएको छ ? बरु बाटोका लागि छुट्याएको खर्च नै भएन भन्ने कुरा आइरहेको छ । यसले कोही कसैलाई कुनै पनि असर पारेको छैन । सबैलाई राम्रो गरेको छ । वृद्धवृद्धाको सम्मान भएको छ । आत्मनिर्भर बनाएको छ । 
 
वृद्धवृद्धाका लागि आर्थिक सुरक्षाको अवस्था कस्तो छ ?
 
वृद्धाहरुलाई भत्ता मात्र हैन, उनीहरुलाई सक्ने काम पनि दिनुपर्छ । प्रधानमन्त्रीले चाहनुहुन्छ भने आफ्नो कार्यालयमा पनि वृद्धवृद्धालाई रोजगारी दिन सक्नुहुन्छ । सुरु १० जनाबाटै गर्नुहोस । यो ठूलो विषय होइन । मैले काठमाडौंको मेयरलाई एउटा प्रस्ताव गरेको थिए । ३२ वटा वडालाई ८–१० करोड बजेट छुट्याएर सबै वडामा जेष्ठ नागरिक दिवा सेवा केन्द्र बनाउनु ।

हरेक वडालाई १५ लाख दिनू, वडालाई लगानी गराउनू, जनताको सहयोग लिनू । त्यहाँ जेष्ठ नागरिक आउँछन, गफ गर्छन, भजन मण्डली बनाउन, प्रवचन दिने व्यवस्था गर्न, वडामा धनाढ्य मान्छे होलान् उनीहरुलाई जन्मदिन होटलमा नभएर बूढाबूढीसँग मिलेर मनाउन भन्नू । जसले उनीहरुलाई दिन कटाउन सजिलो हुन्छ । यो मैले बनाएर भनेको होइन, विदेशमा देखेर भनेको हो । समय सयममा उनीहरुको स्वास्थ्य परीक्षण गराउनू । वृद्धआश्रम भनेको परिवारका सदस्य नहुनेका लागि हो । अहिले वृद्धभत्ता काट्ने कुरा आएको छ, यो गर्नुहुँदैन । यसले नराम्रो सन्देश जान्छ । 
 
बजेट बनाइरहँदा अर्थमन्त्रीले तपाईसँग कुनै सुझाव लिनु भयो कि, भएन ? 

 
मलाई ५१ सालमा पार्टीले आर्थिक विभागको जिम्मा दिएको थियो । त्यो समयमा मैले एउटा समूह बनाएको थिए । त्यो समयमा उहाँ पनि (अर्थमन्त्री युवराज खतिवडा) हुनुहुन्थ्यो । उहाँ राम्रो काम गर्ने मेहनेती मान्छे हो । उहाँ अहिले मौका मिलेर अर्थमन्त्री पनि बन्नुभयो । मेरो सहयोगी अर्थमन्त्री हुँदा म निकै खुसी भए । मैले उहाँलाई फोन गरेर बधाई दिए । भेटन आउँछु भन्नु भएको थियो । आउनु पनि भएको छैन । बजेटका विषयमा कुनै राय लिनु भएको छैन । 
 
अहिलेको अवस्थामा पुँजी बजारलाई बजेटले कसरी सम्बोधन गर्नुपर्ला ?
 
यो अलि टेक्निकल विषय पनि हो । यसमा चर्चा गरिएजस्तो सहज हुँदैन । यसलाई मजबुत बनाएर लैजान सम्बन्धित निकायको राय लिनुपर्छ । अर्थतन्त्र मजबुत बनेपछि पुँजी बजारमा पनि सुधार आउँछ । तर यसका लागि दीर्घकालीन योजना बनाउनुपर्छ । पुँजी बजारको दीर्घकालीन विकास हुने हिसाबका नीति, कार्यक्रम र बजेट ल्याउनुपर्छ । 
 
हिजोआज पार्टीका गतिविधिमा देखिनुहुन्न, नेताहरुसँग समय समयमा कुनै बातचित हुने गरेको छ, कि छैन ?
 
म १६ वर्षको उमेरमा भारतबाट कम्युनिष्ट पार्टीमा आवद्ध भए । २०१९ देखि ०७१ सालसम्म सँगै रहँे । पार्टीको नवौं महाधिवेशनमा मैले लिखित वक्तव्य पढें । ६५ वर्षजति पार्टीमा रहँें । लामो समय नेतृत्व तहमा रहेर काम गरें । तर अहिले म कुनै नेतृत्वमा बसेको छैन, म पार्टीको साधारण कार्यकर्ता हुँ भनेर सार्वजनिक रुपमा घोषणा नै गरिसकेको छु । अहिले झण्डै साढे ३ वर्ष भयो । आजसम्म एक पटक पनि पार्टीबाट फोन आएको छैन । कहाँ छ के छ केही सोधपुछ भएको छैन । मदन स्मृतिमा आफै पत्ता लगाएर गएँ । मलाई बोलाएर गएको होइन । अहिले कतिपयलाई भरत मोहन एमाले (अहिले नेपाल कम्युनिष्ट पार्टी) थियो कि थिएन भन्ने नै थाहा नहुन सक्छ । 
 
लामो समय पार्टीमा योगदान गर्नुभयो, पुराना दिन सम्झदा कस्तो लाग्छ ?
 
जुन समयमा हामीले कम्युनिष्ट पार्टी निर्माण गर्यौ, त्यो समयमा सांसद बनौंला, मन्त्री बनौंला भनेर गठन गरेको होइन । हामी त केवल समाज बदल्न आएका थियौं । सुखी, सम्वृद्ध समाज निर्माणका लागि आएका थियौं । हामीले धेरै हण्डर खाएर आएका हौं । राजनीति पेशा हैन सेवा हो । सेवाको रुपमा काम गर्नुपर्छ । त्याग गर्नु पर्याे । अहिले यस्तो कुरा गर्दा बौलायो भन्लान तर वास्तविकता यही हो । अहिले देख्दा सहरमा धेरै परिवर्तन भएको छ । तर गाँउ घरमा परिवर्तत भएको छैन । गाँउमा मजदुर, सुकुम्बासी, हली वर्ग छन्, उनीहरुको जीवन सुधार्नुपर्छ । 
 

Post Your Comment