Market Closed

ब्रोकरको हातमा पूर्णअनलाइन : लगानीकर्ताले पर्खिनुपर्ने, अरु यस्ता छन् विशेषता

05 Nov,2018
  • online_system_11_5_2018_8_40_31.jpg
सोभित थपलिया 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लमिटेड (नेप्से) ले मंगलबार (कात्तिक २० गते) बाट पूर्ण स्वचालित (फुल्ली अटोमेटेड) अनलाइन प्रणाली सेयर कारोबार लागू गर्दैछ । अनलाइन प्रणालीको अर्थमन्त्रीले एक कार्यक्रमबीच मंगलबार उद्घाटन गर्नेछन् । पूर्ण स्वचालित भनिए पनि तत्कालका लागि लगानीकर्ताले सेयर खरिदबिक्री आदेश मात्र दिन पाउनेछन् ।

लगानीकर्ता आफैंले खरिदबिक्री मिल्नेछैन । तर ब्रोकरहरुले भने मंगलबारबाटै पूर्णरुपमा नयाँ सिस्टमबाट काम गर्नुपर्नेछ । पुरानो सिस्टम मंगलबारदेखि नै बन्द हुने नेप्सेले जानकारी गराएको छ । ब्रोकर अभ्यस्त भएपछि मात्र अनलाइन प्रणाली पूर्णरुपमा लगानीकर्ताको हातमा छाडिनेछ । त्यसपछि भने लगानीकर्ता आफैंले खरिदबिक्री आदेश दिन सक्नेछन् । तर यसका लागि केही समय लाग्नेछ । 
 
भुक्तानी आदेश दिन अहिलेलाई नमिल्ने 
 
नेप्सेले निर्माण गरेको सर्भरमा भुक्तानी आदेश (सेयर किनबेचपछि बैंक खाताबाट रकम ट्रान्सफर) दिने सकिने व्यवस्था छ । तर विभिन्न बैंकको वित्तीय सुरक्षालाई ध्यान दिनुपर्ने भएकाले यो प्रणाली भने तत्कालै प्रयोगमा नआउने नेप्सेका  प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । 
उनी भन्छन्, ‘अहिले भुक्तानी आदेश दिन नेप्सेमा सर्भर भएर मात्रै हुँँदैन, बैंकहरु पनि तयार हुनुपर्छ, उनीहरु सुरक्षाको मामिलामा तयारी अवस्थामा रहनुपर्छ । अनिमात्र यो विषय अघि बढाउन सकिन्छ ।’
 
बैंक खाताबाट सीधै रकम ट्रान्सफर गर्ने व्यवस्था मिलाउन नेप्से छलफलमा 
 
नेप्सेले अहिले नेपाल क्लियरिङ हाउस तथा विभिन्न बैंकसँग कसरी अघि बढ्न सकिन्छ भनेर छलफल गरिरहेको साउदले जानकारी गराए । ‘पहिला अनलाइन प्रणालीको उद्घाटन गरौं अनि पछि विस्तारै त्यही अनलाइनबाटै भुक्तानी लिनेदिने व्यवस्था अघि बढाउने छौं’, साउदले भने ।
 
पैसा बैंक खाताबाटै ट्रान्सफर गर्न नमिल्ने भएकाले लगानीकर्ताले अझै पूर्णअनलाइन सुविधा भने पाउनेछैनन् । अहिलेसम्म लगानीकर्ताको बैंक खाताबाट सेयर ब्रोकरको बैंक खातामा रकम सीधै स्थानान्तरण गर्ने व्यवस्था मिलाइएको छैन । 
 
इन्भेष्टमेन्ट बैंकसँग भुक्तानी आदेशमा देखिएन समस्या 
 
नेप्सेका आइटी प्रमुख निरञ्जनसिंह नायकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गरिएको आन्तरिक कारोबार (भुक्तानी आदेश) मा कुनै समस्या नभएको बताए । इन्भेष्टमेन्ट बैंकको सर्भर नयाँ भर्जनको भएका कारण कारोबारमा कुनै समस्या नआएको उनको भनाई छ ।

तर नेप्सेले अन्य बैंकहरुसँग पनि कारोबार परीक्षण गर्न खोज्दा सर्भर पुरानो भर्जनको भएका कारण भुक्तानी आदेश सफल हुन नसकेको बताए । उनले भने ‘प्रभु बैंक, सिद्धार्थ बैंक, र ग्लोबल आईएमई बैंकसँग भएको सिस्टममा ट्याली गर्दा सर्भरमा मेल खाएन । अब यसका लागि छुट्टै अर्को सर्भर आवश्यक देखिएको छ ।’ 
 
एनसीएचएलबाट १२ वटा ब्रोकरको खातामा सीधै भुक्तानी गर्न मिल्ने 
 
नेप्सेले विकास गरेको प्रणलीबाट तत्कालका लागि भुक्तानी आदेश दिन नमिल्ने भएपनि नेपाल क्लियिरङ हाउसको ‘कनेक्ट आइपीएस इ–पेमेन्ट’ प्रणाली मार्फत भने सेयर खरिदपछि सीधै ब्रोकरको खातामा भुक्तानी गर्न मिल्ने भएको छ ।

नेपाल क्यिलरिङ हाउसका प्रमुख कार्यकारी अधिृकत (सीइओ) निलेशमान सिंह प्रधानका अनुसार अहिलेसम्म यो प्रणालीमा जोडिएका १२ वटा ब्रोकरको खातामा सीधै भुक्तानी गर्न सकिनेछ । मंगलबार पनि थप ५ वटा ब्रोकर यो प्रणालीमा जेडिने उनले जानकारी गराए । 
 
अहिलेसम्म प्रणालीमा जोडिने ब्रोकरहरुमा ब्रोकर नम्बर १०, ११, १३, १६, १७, २०, २१, २२, २५, ३८, ४९ र ५९ रहेका छन् । अब लगानीकर्ताहरुले सेयर खरिद गरे बापतको ब्रोकरलाई तिर्नुपर्ने भुक्तानी कनेक्ट आइपीएसको वेबसाइटबाट आफ्नो बैंक खाता मार्फत सम्बन्धित ब्रोकरको बैंक खातामा पैसा पठाउन सक्नेछन् ।

यो प्रणालीमा बैंकबाट १ पटकमा लाख र मोबाइलबाट ५ हजार रुपैयाँको भुक्तानी गर्न सकिन्छ । बैंक खाताबाट मासिक १० लाख सम्मको भुक्तानी गर्न सकिने छ ।
 
 

Post Your Comment