Market Closed

‘भुक्तानी आदेश दिन नमिल्ने अनलाइन प्रणाली सुरु हुनु र नहुनुमा फरक छैन’

06 Nov,2018
  • 2_11_6_2018_3_00_16.jpg
नेपाली पैसा
 
काठमाडौं : स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले सेयर किनबेचपछि अनलाइनबाटै बैंकमा पैसा भुक्तानी गर्ने व्यवस्था नहुँदासम्म अनलाइन प्रणालीको महत्व नहुने बताएका छन् ।

अध्यक्ष रानाभाटले यसअघि जस्तै पैसा लिन र दिन लगानीकर्ता ब्रोकरकैमा आउनुपर्ने बाध्यता अहिले पनि रहेमा अनलाइन कारोबार प्रणाली सुरु भएर खासै प्रभाव नपर्ने बताएका हुन् । उनले भुक्तानी गर्न मिल्ने सिस्टम चाँडो ल्याउन आग्रह पनि गरेका छन् ।
 
अनलाइन कारोबार प्रणालीको मंगलबार गरिएको उद्घाटन कार्यक्रममा रानाभाटले भने, ‘बैंक इन्टीग्रेसन बिनाको कारोबार प्रणाली सुरु हुनु र नहुनुमा कुनै फरक छैन, हामीले सोचे अनुसारको काम गर्न सक्दैन ।’ अहिले इन्भेष्टमेन्ट बैंकबाट सेयर किनबेचपछि भुक्तानी आदेश दिने मिल्ने भएको छ । अन्य ३ वटा क्लियरिङ बैंकबाट पनि विद्युतीय भुक्तानी दिन मिल्ने बनाउन नेप्से र वाइकोलाई उनले आग्रह गरे ।

‘यो भएको खण्डमा लगानीकर्ताले चाहेको जस्तो घरबाटै कारोबार गर्न सक्नेछन् । घरबाटै ब्रोकरको बैंक खातामा पैसा पठाउन सकिने व्यवस्था गर्नुपर्ने लगानीकर्ताहरुको पनि माग हो ।’
 
कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले पनि अनलाइनबाट नै बैंकमा भुक्तानी गर्न मिल्ने सिस्टम चाँडो भन्दा चाँडो ल्याउन आग्रह गरे । बैंकबाट नै पेमेन्ट गर्न मिल्ने भएको खण्डमा मात्रै अनलाइन प्रणाली प्रभावकारी हुने उनले बताए । नेप्सेले ल्याएको अनलाइन लगानीकर्ताहरुको लागि कोशेढुंगा सावित हुने चापागाईंको भनाई छ ।
 
कार्यक्रममा नेप्सेको प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेप्सेले अनलाइन प्रणाली ल्याएको बताए । अब नेपालको दोस्रो बजार पनि अन्तर्राष्ट्रिय स्तरको भएको साउदले बताए । यो प्रणाली सुरु भएसँगै अब लगानीकर्ताहरुले सेयर खरिदबिक्रीका लागि आदेश दिन ब्रोकर कम्पनीमा पुग्नु नपर्ने उनको तर्क छ ।
 
यता, अनलाइनबाटै भुक्तानीको आदेश दिने विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको साउदले बताए । यसको प्रयोगले लगानिकर्तालाई धेरै नै फाइदा मिल्ने उनको भनाई छ । उनले आगामी दिनमा धेरै कम्पनीलाई धितोपत्र बजारमा भित्र्याउन नेप्सेले पहल गर्ने बताए ।

Post Your Comment