Market Closed

अनलाइन प्रणाली सुरु भएकै दिन लगानीकर्ताले किन हेर्न पाएनन् नेप्से कारोबार ?

06 Nov,2018
  • online_systme_11_6_2018_9_08_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : अनलाइन प्रणाली सुरुवात भएकै दिन नेप्सेको सिस्टममा समस्या देखिएको छ । नेप्सले मंगलबारदेखि नै पुरानो प्रणाली विस्थापित गरी नयाँ अनलाइन प्रणाली सुरुवात गरेको हो । नेप्सेले ब्रोकरहरुलाई नयाँ प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो । तर नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएकाले केही प्राविधिक समस्या आएको नेप्सेको भनाई छ । नयाँ सिस्टम लागू गर्दा सामान्य समस्याहरु आउनु स्वभाविक भएको पनि नेप्सेका अधिकारीको तर्क रहेको छ । 
 
ब्रोकरहरुका अनुसार नयाँ सिस्टम कार्यान्वयनमा ल्याइएकाले मंगलबार सेयर कारोबारमा निकै समस्या देखियो । कारोबार भएका कम्पनीहरुको सेयर भाउ, कम्पनीको पुँजीकरण लगायतका सूचना पनि गलत देखिएका थिए । कतिपय कम्पनीको भाउ घटेको हो वा बढेको हो भन्नेमा समेत दुविधा भयो । यसबाट ब्रोकरहरु समेत अलमलमा परेका थिए । 
 
त्यसो त नेप्सेको प्राविधिक टिमले उत्पन्न समस्याका बारेमा ब्रोकरहरुसँग जानकारी लिएर समस्या समाधान गर्ने पहल गरिरहेको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नयाँ प्रणाली कार्यान्वयनमा ल्याउँदा यस्ता केही समस्या देखिनुलाई अन्यथा लिनु नहुने बताए । ‘समस्या समाधान गर्न काम भइरहेको छ । धेरै ठूलो समस्या होइन, केही समयमै समाधान हुन्छ,’ उनले नेपाली पैसासँग भने । 
                                                    
त्यसो त नेप्सेको वेबसाइटमा सेयर कारोबारको विवरण हेर्ने लगानीकर्ताहरु पनि मंगलबार रनभुल्लमा परेका छन् । नेप्सेको आधिकारिक वेबसाइटमा मंगलबारको कारोबार विवरण देखिएको छैन । सोमबारकै कारोबार रकम तथा सूचक लगायतका विवरण छन् । तर नेप्सेले भने म्यानुअल रुपमा समस्या समाधान गर्ने काम भइरहेको बताएको छ । समस्या समाधान हुने बित्तिकै नेप्से साइटमा विवरणहरु अपडेट गरिने प्रवक्ता पराजुलीले जानकारी गराए । 
 
उता, लगानीकर्ताहरुले आक्रोश पाखेका छन् । नयाँ प्रणाली सुरुवात भएकै दिन कारोबार विवरण हेर्न नपाउँदा ‘पहिलो गाँसमै ढुंगा’ भने जस्तै भएको उनीहरुको भनाई छ । नयाँ प्रणाली पनि टेस्ट गर्दै जाने अनि पुरानो सिस्टमबाट केही समय काम गर्न सकेको भए राम्रो हुने थियो भन्ने एकाथरी लगानीकर्ताको भनाई रहेको छ ।

अर्काथरीले भने अब पुरानोतिर फर्किनु हुन्न, नयाँ नै राम्रोसँग सञ्चालन गर्नुपर्छ भन्ने प्रतिक्रिया दिइरहेका छन् । अनलाइन प्रणाली सञ्चालनमा आएका दिन केही समस्या देखिएको छ । यसको तत्काल समाधान गरिनुपर्छ । तर जे भए पनि नयाँ प्रणालीको सुरुवात भएको छ । समस्या पनि क्रमशः समाधान हुँदै जानेछन् । यसलाई पनि सकारत्मक रुपमा लिनु उपयुक्त हुनेछ । 
 

Post Your Comment