नेप्सेको अनलाइन तालिममा आकर्षण : ‘म पनि आउँछु नाम टिपाइदिनुस् न’

05 Dec,2018
  • online_system_12_5_2018_8_16_15.jpg
सोभित थपलिया
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जब सेयर लगानीकर्तालाई अनलाइन कारोबारमा अभ्यस्त बनाउन मक टे«डिङमा सहभागी हुन भन्यो, तब लगानीकर्ताले मकमा खासै ध्यान दिएनन् । भण्डै १ महिना मक ट्रेडिङ खुला गर्दा सहभागी हुने लगानीकर्ताको संख्या अत्यन्तै न्यून थियो । तर अहिले नेप्सेले सञ्चालन गरिरहेको अनलाइन पूर्वअभ्यास तालिममा भने लगानीकर्ताको निकै चासो बढेको पाइएको छ ।
 
लगानीकर्ताले अहिले नै अनलाइनको युजर नेम र पासवर्ड चाहियो भन्दै धर्ना दिएपछि नेप्सेले आफ्नो वेबसाइटमा सूचना नै राखेर मंसिर १६ देखि २१ गतेसम्म दैनिक १ घण्टा तालिम सञ्चालन गर्ने घोषणा गर्यो । एक साताको तालिमका लागि ३०० जनाको नाम दर्ता गर्यो । अहिले दैनिक ५० जनालाई नेप्सेले कार्यलयमा नै बोलाएर अनलाइन कारोबार कसरी गर्ने भनेर तालिम दिइरहेको छ । सुरुमा एक साताका लागि मात्र तालिम सञ्चालन गरिएकाले नेप्सेले ३०० जनाको मात्र नाम दर्ता गरेको हो । 
 
यता, पहिलो चरणमा १ साताका लागि मात्र तालिम दिने घोषणा गरेको नेप्सेले आवश्यक परेको खण्डमा पुनः समय थप्न वा अर्कोपटक पनि दिन सकिने बताएको छ । लगानीकर्ताको माग आएमा पुनः समय थप्ने सकिने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेपाली पैसालाई बताए । अहिले दिनदिनै तालिम चाहियो भनेर लगानीकर्ताको फोन आउने क्रम निरन्तर बढिरहेको उनी बताउँछन् । पहिलो दिन तालिममा आएका ५० जनामध्ये जम्मा २ जना लगानीकर्ता मात्र मक ट्रेडिङमा सहभागी भएको पाइएको पराजुलीले बताए ।

मक ट्रेडिङमा जस्तो अहिले लगानीकर्ता निष्कृय देखिएका छैनन् । दिनदिनै नेप्सेमा फोन गरेर लगानीकर्ताहरु भन्छन्, ‘म पनि तालिममा आउँछु, नाम टिपाइदिनुहोस् न ।’ यसअघि नेप्सेमा झण्डै ४ घण्टा धर्ना दिँदा सेयर लगानीकर्ताका संघका पदाधिकारीहरु लगानीकर्ताहरु ढुक्कसँग अनलाइन प्रयोग गर्न आफै सक्षम रहेका छन् भनिरहेका थिए । केबल युजर नेम र पासवर्ड चाहिने उनीहरुले अडान कसेका थिए । तर अहिले तालिम लिने लगानीकर्ता हेर्दा त्यसबेला बढी भावनामा बगेको हुन सक्ने नेप्से अधिकारीहरुको ठम्याईं रहेको छ ।

तालिमका लागि माग बढ्दै जाँदा अनलाइन भने कमैले मात्र प्रयोग गर्न जानेको देखिन्छ । ब्यग्र प्रतीक्षापछि अनलाइन प्रणाली आएकाले पनि लगानीकर्ताहरु बढी हतारिएका हुन् । तर पर्याप्त तालिम र सीपबिना एकैपटक सबैको हातहातमा क्लिक गर्ने सुविधा पुर्याएर मात्र हुँदैन भन्ने पनि यसले देखाएको नेप्सेका अधिकारीहरु बताउँछन् । 
 
नेपाली लगानीकर्तासँग ‘डिजिटल साक्षरता’ कति छ भन्ने अनुमान लगाउन पनि आवश्यक देखिन्छ । अहिले नयाँ पुस्ताले सेयर बजारमा निकै चासो देखाइरहेका छन् । तर सेयर बजारमा सक्रिय हुनेमा बहुमत हिस्सा पुराना पुस्ताकै लगानीकर्ताको देखिन्छ । पुराना धेरै जसोले प्रविधि नबुझ्ने अनि नयाँलाई नियम र कानुनका बारेमा अलि कम ज्ञान हुने गरेको देखिन्छ । यसकारण पनि अनलाइन कारोबार थाल्नुअघि लगानीकर्तालाई साक्षर बनाउनुपर्ने आवश्यकता रहेको हो । 
 
दक्ष नभई अनलाइनबाट झट्ट कारोबार गरिहाल्दा गल्ती हुन सक्ने र कारवाहीमा परिने सम्भावना पनि उत्तिकै रहन्छ । किनबेच गर्ने अडर दिन क्लिक गरिसकेपछि पनि कारोबारका अन्य प्रक्रियाहरुमा ध्यान पुर्याउनुपर्ने हुन्छ ।
 
नेप्सेले अहिले दिइरहेको ४० वर्ष पार गरेका लगानीकर्ताको संख्या बढी रहेको प्रवक्ता पराजुली बताउँछन् । प्रत्येक दिन ५० जना तालिमममा सहभागी गराइन्छ । यसमध्ये महिलाको संख्या १० देखि १५ जनासम्म रहने गरेको छ ।
 
 नेप्सेका प्राविधिक कर्मचारी र वाइको कम्पनीका प्रतिनिधिले अनलाइन कसरी चलाउने, यो प्रयोग गर्दा आइपर्ने प्राविधिक समस्या समाधान कसरी गर्ने भनेर दैनिक १ घन्टा तालिम दिइरहेका छन् । एकपटक सहभागी भएकालाई अर्को दिन फेरि दोहोरिन नदिइएको नेप्सेले बताएको छ । नयाँलाई पनि पालो दिन पुरानालाई नदोहोर्याइएको हो । 
 
यस्तै, नेप्सेले अनलाइन प्रयोगका बारेमा तालिम दिने मात्र नभएर आफ्नो वेवसाइटमा पनि प्रयोग गर्ने विधिसहितको भिडियो समेत राखिदिएको छ । सिक्नका लागि लगानीकर्ताले त्यस्ता सामग्रीको पनि प्रयोग गर्न सक्नेछन् ।
 
 

Post Your Comment