पुनर्निर्माणका काम प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण गरिंदै

06 Dec,2018
  • reconstruction_img_12_6_2018_1_05_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीय निकायहरुसँग समझदारी गरेर पुनर्निर्माण सम्बन्धी जिम्मेवारी हस्तान्तरण गर्ने भएको छ । बुधबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले पुनर्निर्माणको काम छिटो र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहसँग छुट्टाछुट्टै समझदारी गर्ने निर्णय गरेको हो । 
 
भूकम्प प्रभावित ३२ जिल्लाका २ सय ७२ स्थानीय तहमा पुनर्निर्माणका काम भइरहेको छ । यसअघि प्राधिकरणले काभ्रे जिल्लाका सबै स्थानीय तहसँग छुटाछुट्टै समझदारी गरेको थियो । 
स्थानीय तहहरुसँग समझदारी गर्नका लागि प्राधिकरणले मंसिर २१ गतेदेखि भूकम्प प्रभावित क्षेत्रहरुमा समीक्षा कार्यक्रम र पुनर्निर्माण जिल्ला समन्वय समितिको बैठक आयोजना गर्ने निर्णय पनि गरिएको छ । 
 
समझदारीका लागि तयार पारिएको पत्रमा नगरपालिका, गाउँपालिकामा इन्जिनियर, सब–इन्जिनियर, असिष्टेण्ट सब– इन्जिनियर र डकर्मी आवश्यकता अनुसार खटाउने, प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा परिचालन गर्ने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका र गाउँपालिकाको हुने उल्लेख छ । 
 
नगरपालिका र गाउँपालिकाले प्राधिकरणबाट खटिएका जनशक्तिहरुलाई पुनर्निर्माणको काममा मात्रै लगाउनुपर्ने, स्थानीय स्तरबाट कार्यान्वयन हुने आयोजनाहरु गुम्बा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिए बमोजिमको बजेट प्राधिकरणले शर्तसहित नगरपालिका र गाउँपालिकामा निकाशा उपलब्ध गराउने व्यवस्था मिलाउन सक्नेछन् । 
 
नगरपालिका र गाउँपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनर्निर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने  तथा यसमा प्राधिकरणले आवश्यक सहयोग गर्ने जनाइएको छ । 
 
समझदारीपत्रमा पुनर्निर्माणको कार्यान्वयनका सिलसिलामा केही जटिलता एवं समस्या आइपरेमा प्राधिकरण तथा नगरपालिका र गाउँपालिकाले आपसी समझदारी कायम गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने लगायतका ११ बुँदा समावेश छन् । 
 

Post Your Comment