Market Closed

ब्रोकरले किन पाएनन् राजधानी बाहिर शाखा खोल्न, के पर्यो समस्या ?

06 Jan,2019
  • broker_newssd_1_6_2019_8_51_09.jpg
सोभित थपलिया
 
काठमाडौं : विगत १ वर्ष भन्दा लामो समयदेखि उपत्यका बाहिर थप शाखा (रिमोट वर्क स्टेशन) खोल्न अनुमति मागेका १३ वटा ब्रोकर कम्पनीले धितोपत्र बोर्डबाट अहिलेसम्म अनुमति पाएका छैनन् । यी कम्पनीहरु मध्ये कतिपयको हाल उपत्यका बाहिर शाखा सञ्चालनमै रहे पनि थप ठाउँमा खोल्न अनुमति मागेका हुन् । तर हाल सञ्चालनमा रहेका शाखाले छुट्टै नयाँ कम्पनी जस्तो गरी काम गरिरहेको पाइएपछि अनुमति नदिएको धितोपत्र बोर्डका एक अधिकारीले बताए । 
 
ती अधिकारीका अनुसार बोर्डले अनुगमन गर्दा शाखा कार्यालयहरु नयाँ कार्यालय जसरी नै चलाइएको पाइएपछि थप ठाउँमा खोल्न आवेदन दिएकालाई समेत अनुमति दिन ढिलाई भएको हो । उनका अनुसार ब्रोकरको शाखाले प्रयोग गर्ने विन्डो समेत छुट्टै भएको तथा मुख्य कार्यालयसँग लिंक नभएकाले शाखा नै नयाँ मुख्य कार्यालय जस्तो देखिएको हो ।

ब्रोकरहरुले आफूले खोलेको शाखा अरुलाई ठेक्कामा दिने र सो वापत १५% भन्दा बढी रकम कमिसन लिने गरेको समेत तथ्य फेला परेको धितोपत्र बोर्डको भनाई छ । कतिपय शाखाहरु ब्रोकरको केन्द्रीय कार्यालयको माताहतमा नरहेको तथा कतिपय अवस्थामा केन्द्रीय कार्यालय र शाखाको बीचमा नै सेयर कारोबार समेत हुने गरेको समेत तथ्य फेला परेको ती अधिकारीको भनाई छ ।

शाखाले गरेको सेयर कारोबारको विवरण मुख्य कार्यालय मार्फत समाहित भएर जानुपर्नेमा कतिपयको त्यस्तो समेत नभएको पाइएको उनले बताए । केन्द्रीय कार्यालय र शाखाको डाटा अलग–अलग रुपमा नेप्सेमा आएको उनको भनाई छ । आगामी दिनमा बोर्डले शाखा खोल्न अनुमति दिँदा अहिले देखिएका सबै समस्या समाधान हुने गरी दिने तयारी भइरहेको ती अधिकारीले बताए ।
 
यता, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट कुनै पनि ब्रोकरले गल्ती गरे नियम अनुसार कारबाही गर्न धितोपत्र बोर्डलाई पूर्णअधिकार रहेको बताउँछन् । ‘कुनै पनि ब्रोकर कम्पनी नियम भन्दा बाहिर जान नहुने र गएको खण्डमा कारबाहीको भागीदार हुनुपर्छ । ब्रोकरहरुले मनलाग्दी गर्न पाउनुपर्छ भनेको छैन,’ उनी भन्छन् । 
 
‘नेप्सेले अनलाइन प्रणाली ल्याउनुपूर्व अर्थात पुरानो सिस्टममा मुख्य कार्यालय र शाखाको डाटा छुट्टाछुट्टै नेप्सेमा जाने गरेको थियो । बोर्डले मुख्य कार्यालय मार्फत जानुपर्छ पनि भनेको थियो, अनलाइन आएपछि सबै डाटा मुख्य कार्यालयबाट नै गएको छ, अहिले त्यस्तो कुनै समस्या छैन,’ अध्यक्ष रानाभाटले भने । 
 
शाखा विस्तारका लागि अध्ययन सुरु 
 
लामो समयदेखि शाखा कार्यालय खोल्न अनुमति नदिइ बसेको धितोपत्र बोर्डले मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको भन्दै राजधानी बाहिरका जिल्लामा ब्रोकरलाई लाइसेन्स दिने व्यवस्था अघि बढाउन नेप्सेलाई निर्देशन दिएको छ । बोर्डको निर्देशन अनुसार नेप्सेले आन्तरिक रुपमा अध्ययन टोली पनि बनाएको छ । 
 
केही समयअघि मात्र नयाँ ठाँउमा ब्रोकरलाई लाइसेन्स खुला गर्नका लागि अध्ययन गर्न टोली गठन गरिएको नेप्सेको भनाई छ । अध्ययन टोलीले कुन–कुन ठाँउमा ब्रोकर खोल्न दिने, कति वटालाई अनुमति दिने, ब्रोकरलाई शाखा खोल्नका लागि के–के आधार कायम राख्ने वा के आधारमा ब्रोकर खोल्न दिने भन्ने विषय प्रतिवेदनमा समावेश गर्नेछ ।

उक्त प्रतिवेदन केही दिनमा नै तयार पारी धितोपत्र बोर्डमा पेश गरिनेछ । नेप्सेले नयाँ ब्रोकरको परीक्षा लिएर छनोटमा परेका कम्पनीलाई अन्तिम स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाउनुपर्ने प्रावधान रहेको छ ।
 
१३ वटा ब्रोकरको २१ ठाँउमा शाखा खोल्न निवेदन 
 
शाखा कार्यालय (रिमोर्ट वर्क स्टेसन) खोल्न बोर्डमा अनुमति माग्न पुगेका ब्रोकर कम्पनीमा कालिका सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अक्सफोर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यातारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज, नासा सेक्युरिटिज, सनी सेक्युरिटिज, प्राइमो सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र अनलाइन सेक्युरिटिज रहेका छन् ।
 
यी ब्रोकरहरुले दाङको तुल्सीपुर, जनकपुर, दमक, सुर्खेतको वीरेन्द्रनगर, भक्तपुर, भैरहवा, पोखरा, टाँडी, कावासोती, भरतपुर, विराटनगर, वीरगञ्ज, बुटवल, धरान, बिर्तामोड, महेन्द्रनगर, हेटौंडा, चितवन, स्याङजा र दोलखा जिल्लाको चरिकोट लगायतमा शाखा खोल्न निवेदन दिएका हुन् । तर बोर्डले यी कम्पनीहरुलाई ती स्थानमा शाखा खोल्न अनुमित दिइएको छैन ।
 
 

Post Your Comment