Market Closed

आइपीओमा धक्का, धितोपत्र बोर्डको पछिल्लो कदमले कुन–कुन कम्पनी परे मारमा ?

09 Jan,2019
  • rating_im_2_1_9_2019_8_31_58.jpg
समिर गौतम
 
काठमाडौ : धितोपत्र बोर्डको पछिल्लो कदमले आइपीओ जारी गर्ने तयारीमा रहेका  केही कम्पनीहरु प्रत्यक्ष प्रभावित हुने भएका छन् । अहिलेकै अवस्थमा रेटिङ सुधार नगरेसम्म ती कम्पनीहरुले आइपीओ जारी गर्न नपाउने भएका हुन् । आइपीओ पाइपलाइनमा रहेका ४ वटा कम्पनी तत्कालका लागि बञ्चित हुने देखिएको छ । 
 
आइपीओ निष्कासन प्रभावित हुने सबै कम्पनी जलविद्युत समूहका रहेका छन् । धितोपत्र बोर्डले बुधबार मुद्रा तथा पुँजी बजार सम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गरी खराब रेटिङ भएका कम्पनीहरुलाई आइपीओ निष्कासन गर्नबाट रोकेको हो ।
 
यस्ता छन् आइपीओ जारी गर्न नपाउने ४ जलविद्युत कम्पनी  
 
धितोपत्र बोर्डको निर्णयपछि युनिक हाइडेल कम्पनी, भैरवकुण्ड हाइड्रोपावर कम्पनी, इस्टर्न हाइड्रोपावर र सयपत्री हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्न पाउने छैनन् । यी सबै जलविद्युत कम्पनीहरुको आइपीओले ग्रेड ५ रेटिङ पाएका छन् । यी ४ वटै कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आइपीओ जारी गर्ने तयारी गरिरहेका थिए ।

इस्टर्न हाइड्रोपावर बाहेक अन्य सबैको आइपीओ अनुमोदनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । अब यी कम्पनीहरुको रेटिङ सुधार भएमा मात्र सेयर निष्कासन गर्न पाउनेछन् । यता, कमजोर रेटिङ भए पनि स्थानीयलाई सेयर खुला गरिसकेका कम्पनीहरुका लागि भने  यो नियम लागू हुनेछैनन् । उनीहरुले सर्वसाधारणमा पनि आइपीओ ल्याउन पाउनेछन् । 
 
रेटिङ कमजोर भए पनि यी २ कम्पनीले आइपीओ ल्याउन पाउने
 
कमजोर रेटिङ पाएका भए पनि शुभम् पावर र युनियन हाइड्रोपावरले भने आइपीओ जारी गर्न पाउनेछन् । धितोपत्र बोर्डले बुधबार जारी गरेको निर्देशन अनुसार यसअघि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री गर्ने अनुमति पाइसकेका कम्पनीहरुले साविककै व्यवस्था अनुसार सर्वसाधारणलाई सेयर जारी गर्न पाउनेछन ।

यस आधारमा, शुभम् र युनियनले स्थानीयलाई आइपीओ बिक्री गरिसकेकाले नयाँ नियमले रोक्ने छैन । शुभमले दोस्रो पटक रेटिङ गराउँदा पनि कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ नै पाएको छ । यस्तै, युनियनको हाइड्रोपावरले पनि ग्रेड ५ रेटिङ पाएको छ । 
 
रेटिङ नगराएका कम्पनीको आइपीओ बोर्डको पाइपलाइनमा 
 
यता, आइपीओ जारी गर्न अनुमति मागेका केही कम्पनीहरुले अहिलेसम्म पनि रेटिङ गराएका छैनन् । सीइडीबी हाइड्रो फन्ड, गर्जाङ उपत्यका हाइड्रोपावर, लाफिङ बुद्ध पावरलगायत कम्पनीको आइपीओ रेटिङ हुन बाँकी छ । कमजोर रेटिङ भएमा यी कम्पनीहरु पनि आइपीओ जारी गर्नबाट वञ्चित हुनेछन् । 
 
यस्तै, धितोपत्र बोर्डमा निवेदन दिएका केही माइक्रोफाइनान्स कम्पनीहरुको पनि रेटिङ गरिएको छैन । पाइपलाइनमा रहेका स्पर्श, गणपति, स्वभिमान र गुराँस माइक्रोफाइनान्सको आइपीओ रेटिङ हुन बाँकी रहेको देखिन्छ ।
 
 हेर्नुहोस् यस्तो छ धितोपत्र बोर्डको पछिल्लो निर्देशन 

 

Post Your Comment