Market Closed

आइपीओपछि अब हकप्रदमा चल्न थाल्यो बहस, कमजोर रेटिङ भएकालाई के गर्ने ?

12 Jan,2019
  • rating-1-1_1_12_2019_8_18_50.jpg
सोभित थपलिया
 
काठमाडौं : मुद्रा तथा पुँजी बजार सम्बन्धी सुझाव प्रतिवेदन कार्यान्वयनमा आएसँगै खराब रेटिङ भएका कम्पनले साधारण सेयर (आइपीओ) जारी गर्न नपाउने भएका छन् । सेयर लगानीकर्ताले विगत लामो समयदेखि कमजोर रेटिङ पाउने कम्पनीलाई आइपीओ जारी गर्न दिन नहुने माग धितोपत्र बोर्डले सम्बोधन गरेको हो ।
 
यता, आइपीओमा मात्रै हैन हकप्रदमा पनि रेटिङ गरिन्छ । कतिपय कम्पनीको हकप्रद सेयरले कमजोर आधार जनाउने रेटिङ पाइरहेका छन् । तर व्यवहारमा त्यस्ता कम्पनीहरुले पनि निर्वाध रुपमा हकप्रद सेयर जारी गरिरहेका छन् । 
 
आइपीओ जस्तै हकप्रद पनि सामान्यतयः फेस भ्यालु (आधार मूल्य) मै निष्कासन गरिन्छ । यसमा विद्यमान सेयरहोल्डरले आवेदन दिन पाउँछन् । सर्वसाधारण नयाँ लगानाीकर्ताले आवेदन दिन पाउँदैनन्, फरक यति मात्र हो । कमजोर रेटिङ भएका हकप्रदका कारण पनि सम्बन्धित कम्पनीका लगानीकर्ता मारमा पर्दै आएका छन् ।

पछिल्लो समय पुँजी वृद्धिका नाममा निकै कमजोर रेटिङ भएका कम्पनीहरुले समेत जबर्जस्ती ठूलो अनुपातमा हकप्रद सेयर जारी गरिरहेका छन् । त्यस्ता कम्पनीहरुले हकप्रद जारी गर्न अहिले पनि धितोपत्र बोर्डसँग अनुमति मागिरहेको अवस्था छ ।
 
घट्दो बजारमा हकप्रदबाट लगानीकर्ता झनै् मारमा पर्ने गरेका छन् । हकप्रदमा मूल्य समायोजन समायोजन गरिने अनि त्यसपछि लगातार जसो बजार भाउ ओरालो लाग्ने गरेको वियरिस बजारमा सजिलै देख्न सकिन्छ । यसबाट लगानीकर्ता थप मारमा परेको अवस्था छ । 
 
यसर्थ, आइपीओमा जस्तै कमजोर रेटिङ पाएका कम्पनीलाई हकप्रद जारी गर्न समेत रोक्नुपर्ने आवाज उठ्न थालेको छ । तर कतिपय लगानीकर्ता भने कमजोर रेटिङ भएपनि हकप्रद जारी गर्न रोक लगाउन नहुने पनि बताउँछन् ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार भन्छन ‘कम्पनी सञ्चालनमा आएपछि हकप्रद आउने हो, यसर्थ, सञ्चालनमा आइसकेको कम्पनीले पुँजी वृद्धिका लागि सेयर निष्कसनमै रोक नै लगाउनु भन्दा पनि लगानीकर्ता नै सचेत हुुनुपर्छ ।’
 
उपाध्यक्ष रौनियारले कमजोर रेटिङ पाएका कम्पनीको हकप्रदमा लगानी गर्दा उत्पन्न हुने जोखिमलाई कसरी न्यूनीकरण गर्ने भन्नेमा आफूहरुले नियामक निकाय धितोपत्र बोर्ड लगायतका संस्थासँग छलफल गर्ने नेपाली पैसालाई बताए । 
 
यता, सेयर बजारका जानकार अधिवक्ता ज्योति दाहालको भनाई भने केही फरक छ । उनी भन्छन्, ‘रेटिङ कमजोर भयो भन्दैमा सेयर जारी गर्न नै रोक्न मिल्दैन, लगानीकर्ता आफैंले अध्ययन गरेर निर्णय लिनुपर्छ ।’ कमजोर रेटिङ भएका कम्पनीलाई सेयर जारी गर्न रोक लगाउन माग गर्ने र सोही अनुसार निर्देशन जारी गरिनु दुवै काम गलत रहेको उनको भनाई छ ।
 
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल कमजोर रेटिङ भएका कम्पनीमा लगानीकर्ताले जोखिम लिन नहुने बताउँछिन् । खराब रेटिङ हुनेलाई रोक्नुपर्ने उनको भनाई छ । 
 

Post Your Comment