Market Closed

पुँजी बजारमा आन्तरिक तथा विदेशी लगानी भित्र्याउन आयो नयाँ व्यवस्था

11 Mar,2019
  • sebon_img_3_11_2019_6_57_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : धितोपत्र बोर्डले विशिष्टिकृत लगानी कोष नियमावली २०७५ लागू गरेको छ । प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल, हेज फन्ड लगायतका वैकल्पिक कोषहरु प्रोत्साहन गर्न नयाँ व्यवस्था गरिएको हो । यी कोषहरु कार्यान्वयनमा ल्याउने बोर्डले यसअघि नै निर्णय गरिसकेको थियो । सोही अनुसार अहिले नियमावली बनाइएको हो ।

यसबाट स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित गर्न सहयोग पुग्ने बोर्डले विश्वास लिएको छ । स्वपुँजी वा यससँग सम्बन्धित अन्य लगानी उपकरण तथा लगानी गर्ने कम्पनीको साझेदारको इच्छा अनुसार प्राइभेट इक्विटी फन्ड, सूचीकरण नभएका वा सञ्चालन प्रक्रियामा अघि बढिसकेका कम्पनी एवं व्यवसाय अघि बढाउन भेन्चर क्यापिटल फन्ड सञ्चालन गर्न सकिनेछ ।

यसैगरी, उच्च जोखिम रहेका कुनै पनि क्षेत्रमा लगानी गर्न सक्ने गरी हेज फन्डका कोषहरु सञ्चालन हुनेछन् । चुक्ता पुँजी २ करोड रुपैयाँ भएका तथा आवश्यक योग्यता पुगेका कम्पनीले कोष व्यवस्थापकको काम गर्न सक्नेछन् ।

यसका लागि धितोपत्र बोर्डबाट अनुमति लिनुपर्नेछ । यसैगरी, प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल, हेज फन्ड सञ्चालन गर्न कोषको रकम कम्तिमा १५ करोड रुपैयाँ हुनुपर्नेछ । कोष व्यवस्थापकले न्यूनतम २ प्रतिशत हिस्सा लिएको हुनुपर्छ ।

स्वपुँजीमा लगानी गर्न सक्ने बैक तथा वित्तीय संस्था, बिमा कम्पनी, अवकाश कोष, कल्याणकारी कोष, सञ्चय कोष, नागरिक लगानी कोष, द्धिपक्षीय तथा बहुपक्षीय संस्थागत लगानीकर्ता, गैरआवासीय नेपालीले यसमा लगानी गर्न सक्नेछन् । 
 
कोषले अन्तर्राष्ट्रिय संघसंस्था, बहुपक्षीय संस्थागत लगानीकर्तालाई इकाई निष्कासन गर्दा ऋणको रुपमा समेत निष्कासन गर्न सक्नेछ । कोषको स्वामित्व रहेको धितोपत्रको लकइन अवधि सार्वजनिक निष्कासन गरी बाँडफाँट भएको मितिले १ वर्षको हुनेछ । 
 
यी वैकल्पिक लगानीका क्षेत्र खुला भएपछि पुँजी बजारमा नयाँ वित्तीय उपकरणको प्रयोगबाट नयाँ व्यवसाय सञ्चालन हुने तथा आन्तरिक तथा बाह्य लगानी भित्रिन सहज हुने धितोपत्र बोर्डले विश्वास लिएको छ । 
 
 

Post Your Comment