Market Closed

मार्जिन कारोबारमा के हुँदैछ प्रगति, अहिलेसम्म कति वटा ब्रोकर भए योग्य ?

12 Mar,2019
  • margin-trading_3_12_2019_6_40_03.jpg
इशारा कोइराला
 
काठमाडौं : मार्जिन कारोबारका लागि हालसम्म ७ ब्रोकर कम्पनीहरुले नेप्सेमा आवेदन दिएका छन् । आवेदन दिएका ७ कम्पनीहरु मध्ये २ वटा मात्रै कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ । ५ कम्पनी अयोग्य ठहरिएका छन् ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवेदन दिएका ७ मध्ये ५ ब्रोकर कम्पनीहरुले पूर्ण कागजपत्र नबुझाएकाले कारोबार अनुमतिका लागि अयोग्य भएका हुन् । उनीहरुसँग पूर्ण कागजपत्र माग गरिएको छ । त्यसपछि अध्ययन गरेर योग्य वा अयोग्य भन्ने टुंगोमा पुग्न सकिनेछ । 
 
अहिलेसम्म आवेदन दिएकामध्ये दक्षिणकाली इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज र क्रिष्टल कञ्चनजंगा सेक्युरिटिज मात्र मार्जिन कारोबारका लागि योग्य रहेको प्रवक्ता पराजुलीले बताए । साथै, नेपाल स्टक हाउस, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डाइनामिक मनि म्यानेजर्स र नासा सेक्युरिटिजसँग पूर्ण कागजपत्र मागिएको उनले जनकारी दिए । 
 
नेप्सेले मार्जिन कारोबार गर्न योग्य ब्रोकर कम्पनीहरुलाई केन्द्रीय बैंकको स्वीकृति लिएर आउन पत्रचार गरिने बताएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७६ को उपदफा १ अनुसार स्वीकृतिका लागि पत्रचार गर्न लागिएको नेप्सेको भनाई छ । 
 
किन पर्यो थोरै ब्रोकर कम्पनीको मात्रै आवेदन ?
 
मार्जिन कारोबारका लागि सबै ब्रोकर कम्पनीहरुले तत्परता देखाए पनि अहिलेसम्म सञ्चालनमा रहेका ५० ब्रोकर मध्ये ७ वटा कम्पनीहरुले मात्रै आवेदन दिएका छन् । यसको प्रमुख कारण भनेको निर्धारित समयको अन्तिम मितिमा मात्र काम गर्ने प्रवृत्ति रहेको नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । 
 
अध्यक्ष रानाभाटले नेपाली पैसालाई भने, ‘आन्तिम मितिमा मात्र काम गर्ने हाम्रो प्रवृत्तिका कारण अहिलेसम्म थोरै मात्रै ब्रोकर कम्पनीको आवेदन परेको हो । साथै, आवेदन दिएपछि कारोबारका लागि स्वीकृत पाइहाल्ने हो वा अझै विलम्ब हुने भन्ने अन्योलताले पनि आवेदन थोरै परेको हो ।’ आवेदन दिएका योग्य कम्पनीलाई कारोबारका लागि अनुमति दिइहाल्नुपर्ने उनले बताए । 
 
मार्जिन कारोबार सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीको नेटवर्थ कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । अहिले ५०% ब्रोकर कम्पनीको मात्र नेटवर्थ पुगेको र बाँकी ५०% कम्पनीहरु नेटवर्थ पुर्याउन लागिपरेको अध्यक्ष रानाभाटले जानकारी दिए । ब्रोकर कम्पनीहरुले आफ्नै फन्ड वा बैंकबाट ऋण लिएर यो सुविधा दिन सक्नेछन् । 
 
ब्रोकर कम्पनीहरुले बजारको अवस्था तथा जोखिम अध्ययन गरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत ‘मेन्टिनेन्स मार्जिन’ लिनुपर्ने व्यवस्था रहेको छ । ग्राहकले मार्जिन कारोबारमा खरिद गरेको सेयरमा आवश्यक पर्ने ‘मेन्टिनेन्स मार्जिन’ भुक्तान गर्न नसकेमा ब्रोकर व्यवसायीले त्यो सेयर बिक्री गर्न सक्नेछन् ।
 
मार्जिन कारोबार कार्यान्वयनमा आएपछि लगानीकर्ताले किन्ने सेयरमा ५०% भन्दा बढी रकम ब्रोकर कम्पनीहरुले सापटीका रुपमा प्रदान गर्नेछन् । जसले गर्दा मूल्यको आधा रकम भयो भने पनि लगानीकर्ताले सेयर खरिद गर्न पाउनेछन् । यद्यपि, सबै कम्पनीका सेयरमा भने यस्तो सुविधा लागू हुनेछैन । यसका पनि विभिन्न विधि र मोडालिटी तय गरिनेछ । 
 

Post Your Comment