Market Closed

बिमा कम्पनीले सेयरमा १०% सम्म लगानी गर्न पाउने, अरु के–के आयो नयाँ व्यवस्था ?

14 Mar,2019
  • 2_3_14_2019_1_17_05.jpg
नेपाली पैसा
 
काठमाडौं : बिमा कम्पनीहरूले पब्लिक कम्पनीको साधारण सेयरमा १०% सम्म लगानी गर्न पाउने भएका छन् । बिमा समितिले ‘लगानी निर्देशिका २०७५’ मार्फत उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
 
समितिले जारी गरेको निर्देशिका अनुसार सेयर लगानी गरिने प्रत्येक सूचीकृत कम्पनीको चुक्ता पुँजीको ५% भन्दा बढी हुने गरी लगानी गर्न भने पाइने छैन । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयरमा २०% सम्म लगानी गर्न सक्नेछन् । 
 
यस्तो लगानी कम्पनीको चुक्ता पुँजीको १०% भन्दा कम हुनुपर्नेछ । साथै, पब्लिक कम्पनीको डिबेन्चरमा भने २०% सम्म लगानी गर्न सकिनेछ । यस्तो लगानी आह्वान गरिएको कुल रकमको १०% भन्दा कम हुनुपर्ने व्यवस्था छ । 
 
रिजर्भको ४०% रकम मुद्दती निक्षेपमा जम्मा गर्नसक्ने
 
बिमा कम्पनीले वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकमा कुल टेक्निकल रिजर्भको ४०% सम्म रकम मुद्दति निक्षेपमा जम्मा गर्न सक्नेछन् । तर, लगानी गर्ने बैंक स्थापना भएको ५ बर्ष पूरा भएको हुनुपर्नेछ भने ३ बर्षसम्म नाफामा रहेको हुनुपर्नेछ । एउटा बैंकमा १५% सम्म लगानी गर्न सकिनेछ । 
 
विकास बैंकको मुद्दति निक्षेपमा २०% र वित्त कम्पनीको मुद्दति निक्षेपमा १०% सम्म लगानी गर्न पाइनेछ । यस अघिको निर्देशिका अनुसार ३५% रकम मुद्दति निक्षेपमा जम्मा गर्न पाउने व्यवस्था थियो । नयाँ निर्देशिकाले ऋणपत्र तथा बचतपत्रको सीमा घटाएको छ भने मुद्दति निक्षेपको सीमा बढाएको छ । 
 
बिमा कम्पनीहरुले अब घरजग्गामा ५% सम्म लगानी गर्न पाउने
 
नयाँ निर्देशिका अनुसार बिमा कम्पनीहरुले अब घरजग्गामा पनि ५% सम्म लगानी गर्न पाउने भएका छन् । यसअघिको निर्देशिकामा घरजग्गामा लगानी गर्न पाउने व्यवस्था थिएन । बिमा कम्पनीहरुले घर जग्गा व्यवसायमा रहेको लगानीलाई कम्तीमा प्रत्येक तीन वर्षमा एक पटक र घरजग्गा बाहेक अन्य क्षेत्रमा गरिएको लगानीलाई प्रत्येक दिन मूल्यांकन गर्नुपर्नेछ ।
 
बचतपत्रमा ५ प्रतिशत लगानी
 
बिमा कम्पनीहरुले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल सरकारबाट मान्यताप्राप्त बचतपत्र वा ऋणपत्रमा ५% सम्म लगानी गर्न पाउने भएका छन् । तर, बचतपत्र तथा ऋणपत्र जारी नभएको अवस्थामा बिमा समितिको स्वीकृतिमा वाणिज्य बैंक वा पूर्वाधार बैंकको मुद्दति निक्षेपमा लगानी गर्न सक्नेछन् ।
 
सीआइटी तथा म्युचुअल फन्डमा लगानी गर्न सक्ने

बिमा कम्पनीहरूले नागरिक लगानी कोष तथा म्युचुअल फन्डहरुका योजनामा समेत लगानी गर्न पाउने भएका छन् । समितिले नागरिक लगानी कोषका साथै म्युचुअल फन्डका योजनामा ५% लगानी गर्न पाउने व्यवस्था गरेको छ । यद्यपि कम्पनीहरुले एउटै योजनामा ५% भन्दा बढी लगानी गर्न पाउने छैनन् ।

 

Post Your Comment