Market Closed

उपत्यका बाहिर तत्काल ४ नयाँ स्थानमा ब्रोकर कम्पनी खुल्दै, अरुमा यस्तो छ प्रगति

09 Apr,2019
  • stock-market3_4_9_2019_6_47_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : उपत्यका बाहिर ४ नयाँ स्थानमा धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरुका शाखा सञ्चालनमा आउने भएका छन् । नेपाल धितोपत्र बोर्डले उपत्यका बाहिर ब्रोकर कम्पनी सञ्चालनमा ल्याउन ८ ब्रोकर कम्पनीलाई प्रारम्भिक स्वीकृत दिएको थियो । ती मध्ये ४ वटा कम्पनीलाई बोर्डले कार्यालय सञ्चालनको अन्तिम अनुमति दिइएको हो ।
 
धितोपत्र बोर्डका सह–प्रवक्ता निरञ्जय घिमिरेका अनुसार इम्पेरियल सेक्युरिटिजले सुर्खेत, आर्यातारा सेक्युरिटिजले दाङ, भिजन सेक्युरिटिजले भैरहवा र अग्रवाल सेक्युरिटिजले जनकपुरमा शाखा विस्तारका लागि अनुमति पाएका हुन् । यी ब्रोकर कम्पनीहरुले बोर्डले निर्धारण गरेको आवश्यक मापदण्ड पूरा गरेकाले सञ्चालन अनुमति दिएको घिमिरेले बताए । 

 
बाँकी ४ ब्रोकर कम्पनीमध्ये एकले पनि पूर्वाधार विस्तार गरी सञ्चालनका लागि अन्तिम अनुमति मागेको उनले बताए । घिमिरेले भने, ‘उपत्यका बाहिर शाखा विस्तार गर्न बाँकी ४ ब्रोकर कम्पनीहरु मध्ये ३ वटा पूर्वाधार निर्माणको तयारीमा जुटेका छन् ।





१ कम्पनीले पूर्वाधार निर्माण सकिएकाले शाखा विस्तारका लागि अनुमति मागेको छ । उक्त कम्पनीले मपदण्ड पूरा गरे नगरेको हेरेर मात्रै सञ्चालन अनुमति दिन्छौं ।’ यद्यपि, शाखा विस्तार गर्न अनुमति पाएका चारै स्थानमा हालसम्म अन्य ब्रोकर कम्पनीको शाखा पुगेको छैन ।
धितोपत्र बोर्डको व्यवस्था अनुसार कुनै पनि ब्रोकर कम्पनीले शाखा विस्तार गर्न एक हजार स्क्वायर फिट क्षेत्रफल भएको कार्यालय र त्यहाँ तीन वटा कम्प्युटर, फ्याक्स र टेलिफोन चाहिने व्यवस्था छ । साथै, कम्तीमा पनि तीन जना कर्मचारी राख्नुपर्ने प्रावधान छ । 
 
धितोपत्र बोर्डले सञ्चालनमा रहेका ५० ब्रोकर कम्पनीलाई उपत्यका बाहिर शाखा विस्तार गर्न निर्देशन दिएको थियो । उक्त निर्देशन दिएको समयमै ४१ वटा ब्रोकर कम्पनीले उपत्यका बाहिर शाखा विस्तार गरिसकेका छन् ।
 

Post Your Comment